‘अध्यादेश फिर्ता भयो ठीक छ, अब सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे गम्भिर समीक्षा हुन्छ’

१३ बैशाख २०७७, शनिबार ०६:५१ मा प्रकाशित

प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएर तपाइहरुको माग पूरा गरिदिनुभयो होइन ?
संविधानको मर्म र भावना विपरीत आएको अध्यादेश फिर्ता लिएको कुराले सम्पूर्ण देशबासी, नेकपा र म आफैँ पनि खुसी छु ।

यो विषय यतिकै सकियो कि अझै केही बाँकी छ ?
विषय सकिएको छैन, खाली अध्यादेश फिर्ता गर्ने काम मात्रै भएको छ । यसको समीक्षा, मूल्यांकन गर्ने काम बाँकी छ । यस्तोखालको मनस्थितिमा प्रधानमन्त्री किन पुग्नुभयो ? जुन काम संविधान, ऐन, लोकतन्त्र र हाम्रो पार्टीको समेत मान्यता विपरीत छ । अरु पार्टीलाई फुटाउने आवश्यक के कारणले पर्यो ? हाम्रो पार्टी आफैँमा बहुमत छ । यी सबै कुरामा समीक्षा आवश्यक छ । यसको लागि हाम्रो पार्टीको स्थायी कमिटि बैठक बस्छ ।

कहिले बैठक बस्छ ?
पार्टीका नेताहरुले हस्ताक्षर गरेर बैठक माग गर्नुभएको छ, अब चाँडै बस्छ ।

अध्यादेश ल्याउने विषयमा तपाईहरुसँग कुनै छलफल नभएको हो ?
हामीसँग कुनै छलफल भएन । मैले अरु सचिवालयका सदस्यहरुसँग पनि सोधे, उहाँहरुसँग पनि भएको छैन । कमरेड प्रचण्ड, कमरेड माधव नेपालसँग सोधे, अरु कमरेडहरुसँग पनि सोधे, त्यसरी छलफल भएको छैन । मसँग त झन हुँदै भएन । कोही व्यक्ति विशेषसँग भएको रहेछ भने पनि त्यसको कुनै मतलब हुँदैन पार्टी कमिटिमा छलफल गर्नुपर्छ, निर्णय गरेपछि मात्रै यस्तो कामहरुमा हात हाल्नुपर्छ ।

फिर्ता गर्नेबेला छलफल भयो त ?
सचिवालयको बैठक आकस्मिक रुपमा बोलाउन लगाएका थियौँ । त्यो बैठकमा सबैभन्दा कडाईका साथ कुरा उठाउने म आफैँ थिए । यो विधेयक संविधानको भावना र मर्म विपरीत छ । असंवैधानिक छ । यो कुनै हालतमा फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग थियो ।

फिर्ता लिने बेला छलफल भयो कि भए न ?
फिर्ता लिने कुरामा छलफल होइन कार्यान्वयन गर्ने हो, कार्यान्वयन भएको छ । यो कुरा सकारात्मक छ ।

प्रधानमन्त्री वा अध्यक्षको हिसाबले ओलीजीले गरेको कामहरुमा तपाईले विरोध मात्रै गर्नुहुन्छ त ?
साना मसिना कयौँ कुराहरुमा मन्त्रिपरिषद आफैँले निर्णय गर्न सक्छ । तर राष्ट्रिय महत्वका कुरामा पार्टीमा छलफल नगर्दा यस्ता समस्या आउँछ । पार्टीमा छलफल गरेर मात्रै निर्णयमा पुग्नुपर्छ । पार्टीमा एउटा प्रणाली हुन्छ, त्यो प्रणाली स्थापना गर्ने काममा प्रधानमनत्रीले जुन कदमहरु चाल्नुभयो त्यो कदमविरुद्ध सिंगो पार्टी एकताबद्ध भएर उभियो, यसले एउटा प्रणाली स्थापना गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको छ ।

बारम्बार यो पार्टीमा यस्तो विवाद चाहिँ किन भइरहन्छ ?
पार्टीका मान्यता र नीति अनि पद्धतिलाई नमान्ने र पालना नगरेर यस्तो भएको हो । मै सर्वैथा हो भन्ने घमण्डले यस्तो समस्या पैदा गराउँछ । त्यसकारण चाहे प्रधानमन्त्री होस्, चाहे मन्त्री जति सुकै ठुलो पदमा किन नहोस्, उसले मैँ हु भन्नु हुँदैन । पार्टीभन्दा माथि कोही हुँदैन ।

प्रधानमन्त्रीको अहम्ताले समस्या आयो भन्न खोज्नुभएको हो ?
पार्टीको नीति र विधि नमान्ने कुराले समस्या पैदा भएको हो । जे भए पनि अध्यादेश फिर्ता भयो । अब हामी समीक्षा गर्छौ ।

यसमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ ?
यसको बारेमा हाम्रो पार्टीको बैठक बस्छ र छलफल गर्छ ।

५० दशकमा जस्तै गरी जे घट्नाहरु भइरहेको छ, यो सुन्दा देख्दा तपाईलाई अप्ठ्यारो लागेन ?
पहिला गिरिजाप्रसाद कोइरालाको हालत जे भयो, त्यो घटनालाई मैले सम्झेको छु यो बीचमा । त्यो घटनाबाट कांग्रेसले पाठ सिकेन, हामी सिक्छौँ, नेकपाले पाठ सिक्छ ।

यस्तो सोच चाहिँ प्रधानमन्त्रीमा के कारणले आएको होला ?
यसबारे हाम्रो स्थायी समिति बैठकमा छलफल गर्छौ । समीक्षा र अध्ययन गर्छ ।

गुटबन्दी गरेर, भेला गरेर तपाईहरुले काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीको आशंका छ नि ?
यो तपाईले बुझेको कुरा होला, हामीसँग प्रधानमन्त्रीले यस्तो भन्ने हिम्मत गर्नुभएको छैन । अब स्थायी समितिमा भन्नुपर्छ, के कारणले काम गर्न सक्नुभएन, के कारणले यस्ता विधेयकहरु ल्याउनुपर्ने अवस्था आयो, के कारणले सरकार असफल भयो ?

भैंसेपाटीमा गुटबन्दी गर्ने तपाईहरु नै होइन र ?
पार्टीका नेताहरुले बोलाएपछि हामी जान्छौँ, चिया खान्छौँ, त्यसलाई गुटबन्दी भन्नुहुन्छ । म प्रधानमन्त्रीको मुखबाट सुन्न चाहन्छु, र हामी बैठकमा सुन्न चाहन्छौँ, बाहिर फुत्तेफात्ते के बोल्छ, ती कुराहरुको बारेमा टिकाटिप्पणी गर्न जरुरी छैन ।

सरकार फेर्ने कि भन्ने गाईगुई पनि छ नि ?
हामी अहिलेको सेरोफेरोमा छलफल गर्छौ । त्यसक्रममा अरु विषयहरु पनि आउँछ, हामी छलफल गर्छौ

सरकार परिवर्तनको कुरा के हुन्छ ?
स्थायी समितिको बैठकपछि नै थाहा हुन्छ ।

हिमालय टिभीमा नेता खनालले दिएको अन्तर्वार्ताको सम्पादित अंश हामीले प्रस्तुत गरेका हौँ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार