काभ्रे । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–४ खत्रीडाँडास्थित घर पोप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाईते भएका दिदीबहिनीलाई उपचार गर्न एक लाख बीस हजार आर्थिक सहयोग मिलेको छ । खुशी समाज यूवा क्लवको पदाधिकारी तथा विदेश विभागका सदस्यहरुले घाईतेहरुलाई उक्त रकम सहयोग गरेको हो । माटो खन्न गएका चार दिदीबाहिनी मध्ये २४ वर्षीय अरिना गोलेको उपचारका लागि सदरमुकाम धुलिखेल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो ।
सहयोग रकम विभिन्न देशमा रहेका क्लवका विदेश विभागका सदस्यहरुले अस्पतालमा उपचाररत घाईते दिदीबाहिनीको लागि उपचार सहयोगार्थ संकलन गरि नेपाल पठाएको सहयोग रकम क्लवको अध्यक्ष इकमान लामा र सल्लाहकार राम बहादुर गोले अस्पतालमा नै पुगेर घाईतेका बुबा धन बहादुर गोलेलाई हस्तान्तरण गरेका हुन् । उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना भएका उनीहरुको आर्थिक अवस्था निकै कमजोर भएकोले उपचार गर्न उक्त रकम सहयोग गरिएको क्लवको अध्यक्ष लामाले जानकारी दिए ।
घाईते भएका २० वर्षीय एरिना गोले, १२ वर्षीय सनिसा गोले र ९ वर्षीय एलिसा गोलेको उपचारको लागि कोरियाबाट निर्दोष मोक्तान, पञ्चलाल घलान, राम बहादुर बज्यु, देव वाईबा र सिर्जना मोक्तानले प्रतिव्यक्ति १५ हजार ७ सय ८५ रुपैयाँ आर्थिक सहयोग गरेको थियो । त्यस्तै कोरियाबाट नै सुरेन्द्र माझीले १४ हजार ८ सय ३ रुपैयाँ, फ्रान्सबाट ढक बहादुर वाईबाले १५ हजार ७ सय ८५ रुपैँया, चीनबाट भुवन लामाले ५ हजार १ सय ४६ रुपैयाँ र जापानबाट श्याम बज्युले ५ हजार ३ सय ४१ रुपैयाँ गरी १ लाख २० हजार रुपैयाँ सहयोग गरेका थिए । घाईते एरिनालाई भने स्पाईनल इन्जुरी रोग लागेको छ ।
त्यसैगरी घरपरिवारको आर्थिक स्थिति निकै कमजोर रहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएको खबर क्लवका अध्यक्ष लामामार्फत जानकारी प्राप्त भएपछि घाईते गोले दिदीवाहिनीको जीवन रक्षाका लागि सहयोग रकम संकलन गरेर नेपाल पठाइएको क्लवका विदेश विभागका सदस्यहरुले बताए ।
माटोको ढिस्कोले पुरिएर घाईते भएका एरिना र सनिसाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छन् भने एलिसा गोले उपचारपछि घर फर्किएको छ । सहयोग रकम हस्तान्तरणमा क्लवको सचिव चन्द्र गोले, घाईतेका आफन्त सुक बहादुर गोले लगायतको उपस्थिति रहेका थिए ।