लकडाउनमा विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना लिए कडा कार्वाही गरिने

१४ चैत्र २०७६, शुक्रबार ०४:१९ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिनेभएको छ ।

विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्नासमेत खारेज गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्माले कुनै पनि विद्यालयले यस अवधिमा नयाँ भर्ना लिन तथा प्रवेश परीक्षा लिन नपाउने स्पष्ट गर्नुभयो । भर्ना लिइएमा कानुनअनुसार कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले नै नयाँ भर्ना नलिने भनेको र बढ्दो सङ्क्रमणका कारण मानिसको आवागमन समेत रोकिएको बेला भर्ना लिइए कडा कारबाही गरिने उहाँको भनाइ छ । कुनै विद्यालयले अनलाइनबाट विद्यार्थी भर्ना लिएको हुन सक्ने तर त्यो सम्भावना निकै न्यून रहेको उहाँले बताउनुभयो ।

राजधानीका सेन्ट जेभियर्स स्कुल र जेभियर्स इन्टरनेसनल स्कुलले विद्यार्थीको भर्नाका लागि प्रवेश परीक्षा लिएको भए पनि त्यसको नतिजा प्रकाशन गर्न रोक लगाइएको उहाँको भनाइ छ । जेभियर्स इन्टरनेसनल स्कुलका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीले कोरोना भाइरस सङ्क्रमणका कारण संसारभरकै मानिसको जीवन जोखिममा परेका बेला आफूहरूले भर्ना कार्यक्रम सबै स्थगित गरेको जनाउनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार