कैलाली । कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई आज मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ ।
लक्षित समुदायलाई सम्मान कार्यक्रमअन्तर्गत कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो । कार्यालयले वडाका सबै एकल महिला र अपाङ्ता भएका व्यक्तिलाई पनि मोबाइल दिएको छ ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र नेपाल टेलिकम धनगढीका प्रमुख सुरत मल्लले लक्षित समुदायका व्यक्तिलाई उक्त सामग्री प्रदान गर्नुभयो । वडा कार्यालयले चालू आर्थिक वर्षमा सो कार्यक्रमलाई रु चार लाख ८५ हजार बजेट विनियोजन गरेको थियो । सोही बजेटले मोबाइल खरिद गरेर ३७६ जनालाई वितरण गरिएको हो भने २९ जनालाई अझै अपुग रहेको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष चौधरीले चालू आवको नीतिगत निर्णयानुसार वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताउनुभयो । उहाँले लक्षित वर्गको सामाजिक सुरक्षाभत्ता उहाँहरुको बैंक खातामा जम्मा भइसकेको खबर अब मोबाइलमै आउने जानकारी दिनुभयो ।
प्रविधिको जमानामा वडा कार्यालयले एउटा उदाहरणीय कार्य गरेको नेपाल टेलिकम धनगढीका प्रमुख मल्लले बताउनुभयो । वडा नं ७ का अध्यक्ष कमलप्रसाद चौधरीले ज्येष्ठ नागरिकलाई आफ्नो समस्या, गुनासो स्थानीय सरकारसमक्ष राख्न सहज होस् भनेर मोबाइल र सीमकार्ड वितरण गरिएको बताउनुभयो ।रासस