एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको वासिङ्टनमा सोमवार थप ४ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोभिड १९ अर्थात कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने संक्रमितको संख्या ९९ पुगेको छ ।
कोभिड १९को इपीसेन्टर मानिएको चीनमा पछिल्लो हप्ता संक्रमितहरुको संख्या घटेको समाचार बाहिरिइरहँदा दक्षिण कोरिया, इरान, इटाली अमेरिकामा भने द्रुत गतीमा यसको संक्रमण फैलिँदो छ । अमेरिकाको सियाटल र किङ काउन्टी जनस्वास्थ्य विभागले सोमबार पत्रकार सम्मेलन गरेर कोरोना संक्रमणबारे पछिल्लो जानकारी दिँदै सावधानी अपनाउन आग्रह गरेको छ।
वासिङ्टन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायत अमेरिकाका १० राज्यमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ।