काठमाडाैँ । एलिस वोलोविच नाम गरेकी नर्सिङकी एक विद्यार्थी फिलाडेल्फियाको एक अस्पतालमा बिहानको सिफ्टमा काम गर्न थाल्छिन्। उनी एकैछिनमा स्पेनिस फ्लुले थला पर्छिन् र त्यहीं मृत्यु हुन्छ। यो सन् १९१८ को कुरा हो जतिबेला स्पेनिस फ्लुको प्रकोपले धमाधम थला पर्दै मानिसको मृत्यु भइरहेको थियो। फिलाडेल्फियाका ३१ वटा अस्पताल बिरामीले भरिएका थिए। कतिपय बिरामीलाई भर्ना गर्न नसकेर घर फर्काइएको थियो। कतिपय बिरामी त घुस दिएर अस्पताल भर्ना भएका थिए। स्पेनिस फ्लुले मृत्यु भएकालाई उठाउन मास्क लगाएर प्रहरीलाई घरघर पठाइएको थियो। यस्तो काममा खटिएको एक सातामा ३३ प्रहरीको पनि मृत्यु भएको थियो।
अमेरिकाको क्यान्सस राज्यको क्याम्प फुन्स्टोनमा स्पेनिस फ्लु नियन्त्रणका लागि बनाइएको आकस्मिक अस्पताल। फोटो: एपी
‘हरेक घरमा एकजना बिमारी थिए,’ जोन एम बेरीले आफ्नो चर्चित किताब ‘दी ग्रेट इन्फ्लुएन्जा’ मा लेखेका छन्। ‘मानिस सकेसम्म अरुलाई बेवास्ता गर्न थालेका थिए, बोल्न परे पनि अर्काेतिर मुख फर्काएर बोल्थे। सार्वजनिक टेलिफोन कम्पनीका अपरेटरले पनि काम बन्द गरिसकेका थिए। आकस्मिक कलका लागि मात्र यो सेवा उपलब्ध थियो,’ किताबमा लेखिएको छ।
खेलकुदका कार्यक्रम धमाधम रद्द गरिएका थिए। नाट्यशाला बन्द भएका थिए। अरिजोना, फिलाडेल्फिया र प्रेस्कोटमा मानिस भेट हँुदा हात मिलाउन गैरकानुनी घोषणा गरिएको थियो। यी स्थानमा शव राख्न ६वटा चिहानघर निर्माण गरिएको थियो। मानिसले घरभित्र कसैको मृत्यु भएको सन्देश दिन बाहिर रंगीन कागज झुण्ड्याउँथे र त्यस्ता संकेत जताततै देखिएका थिए।
सन् १९१८ मा विश्वमा फैलिएको स्पेनिस फ्लुले ५ करोड मानिसले ज्यान गुमाउनुपरेको थियो। सरुवा रोग ठूलो जोखिमको सबैभन्दा ठूलो उदाहरण त्यतिबेलादेखिको हो। त्यसपछि जनस्वास्वास्थका विज्ञले यसप्रकारको अर्काे ठूलो महामारीका लागि तयार रहन चेतावनी दिँदै आए तर आवश्यक तयारी कहिल्यै गरिएन।
हाल फैलिएको कोरोना भाइरस पनि त्यहीस्तरको महामारी होला नहोला अहिल्यै भन्न सकिने स्थिति छैन। यो बिस्तारै कमजोर भएर पनि जान सक्छ। अहिलेसम्म अमेरिकामा एकजनाले मात्र ज्यान गुमाएका छन्। चाखलाग्दो कुरा के पनि छ भने अमेरिकामा मौसमी फ्लुका कारणले वर्षेनी हजारौंको मृत्यु हुन्छ। तर केही भइहाल्यो भने हामी तयार हुनुपर्छ भन्ने विज्ञहरुको भनाइ अहिले चर्काे छ। यो खबर आजको नागरिक दैनिकमा छ ।