एजेन्सी । महिनौंदेखिको बहस र तयारीपछि आजदेखि लक्जेम्बर्गमा निःशुल्क सार्वजनिक यातायातको व्यवस्था लागू गरिएको छ ।
कुल जनसंख्या ६ लाख १४ मात्रै रहेको लक्जेम्बर्गमा फेब्रुअरी २९ अर्थात् आजदेखि निःशुल्क सार्वजनिक यातायातको व्यवस्था लागू गरिएको हो । नयाँ व्यवस्था लागू भएपछि बस, ट्र्याम र ट्रेनमा यात्रा गर्दा टिकेट लिनु पर्दैन ।
आज शनिबारबाट उक्त व्यवस्था लागू हुने छ । ४ वटा ट्रेन स्टेशनमा सांगीतिक कार्यक्रमसहित विभिन्न क्रियाकलाप गर्दै नयाँ व्यवस्थाको उद्घाटन गर्ने तयारी भइरहेको छ ।
नयाँ व्यवस्था अनुसार विदेशी पर्यटक तथा स्वदेशी नागरिक सबैका लागि सार्वजनिक यातायात निःशुल्क गरिने छ । तर ट्रेनमा फस्ट क्लासको यात्रा गर्दा भने टिकेट लिनुपर्ने हुन्छ ।
सार्वजनिक यातायात निःशुल्क बनाउने लक्जेम्बर्गको निर्णयले सबैको ध्यान समेत तानेको छ । सरकारले ट्राफिक जाम घटाउन भन्दै निःशुल्क यातायातको व्यवस्था गरेको हो । त्यस्तै गरिब र धनीबीचको खाडल कम गर्न पनि नयाँ व्यवस्था लागू गरिएको सरकारको भनाइ छ ।
लक्जेम्बर्गको सरकारले विशेषगरी निन्न उद्देश्यले निःशुल्क सार्वजनिक यातायातको व्यवस्था गरेको बिबिसीले जनाएको छः
१. नयाँ व्यवस्थाका कारण ठूला करदाताबाट थप कर असुल्न सहज हुने ।
२. सडकमा कारको संख्या घटाउन वा सडकलाई कारमुक्त बनाउन (किनभने लक्जेम्बर्गमा २० प्रतिशतले मात्रै सार्वजनिक यातायात प्रयोग गर्छन्) ।
३. पाँच वर्षको अवधिमा सार्वजनिक यातायात प्रयोग गर्ने मानिसको संख्या २० प्रतिशतले बढाउन ।
४. लक्जेम्बर्गबासीलाई वातावरणीय समस्याप्रति सचेत बनाउन ।
५. यात्रुको संख्या बढिरहेको अवस्थामा यातायात सञ्जालमा थप लगानी गर्न ।
राम्रो तलब र सुविधा उपलब्ध भएकाले बेल्जियम, फ्रान्स र जर्मनी जस्ता मुलुकबाट लक्जेम्बर्गमा काम गर्न दैनिक २ लाख मानिस आवतजावत गर्छन् । उक्त संख्या लक्जेम्बर्गको कुल श्रम शक्तिको झण्डै ५० प्रतिशत हो ।
नयाँ व्यवस्थाका लागि ५०० मिलियन युरोभन्दा बढी रकम खर्च हुनेछ । उक्त रकम करदाताबाट पूर्ति गरिने छ । सार्वजनिक यातायातमा काम गर्ने मानिसको जागिर पनि कायम हुनेछ ।