मकवानपुर । हेटौँडा उपमहानगरपालिका- ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि ८ वर्ष कैद सजायको फैसला भएको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको इजलासले भारतीय नागरिक ४० वर्षीय दीलिपराज केशरीलाई ज्यान मार्ने उद्योगअन्तरगत ८ वर्ष कैद र १ करोड १४ लाख रुपैंया जरिवानाको फैसला गरेको हो।
अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैंया क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका तहसिलदार तुल्सी लामिछानेले बताए। त्यस्तै, एसिड आक्रमणको मतियारको रुपमा आरोपी सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैंया जरिवानाको फैसला गरेको छ।
घटना भएको साढे छ वर्षपछि कात्तिक १४ गते केशरीलाई प्रहरीले पक्राउ गरेको थियो भने त्यसको १० दिनपछि अर्का अभियुक्त मण्डल पनि पक्राउ परेका थिए।
भारतको उत्तर प्रदेश, महाराजगंज जिल्ला, अमरपुर्वन वडा नम्बर ६ का केशरीले हेटौंडा उपमहानगरपालिका ३, मेनरोडकी विन्दवासिनी कंसाकारलाई २०७० बैशाख ९ गते पसलमा एसिड प्रहार गरी फरार भएका थिए। एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पनि पक्राउ गरिएको थियो। यो खबर आजको नागरिक दैनिकमा छ ।