गणेश कुमार ठाकुर,सिरहा ।सिरहामा जिल्ला प्रहरी, जिल्ला प्रशासन लगायत सम्पुर्ण कार्यालयहरुमा भइरहेको विकृति, विसँगति, भ्रष्टाचार अन्त्य गर्न लगायतका ११ बुदे मागसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटि सिरहाले आज (बुधबार) प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रदायक निकायहरु, अन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत, शिक्षा, स्वास्थ्य, भन्सार, कर, न्यायालय, नापी कार्यालय, गाउँपालिका, नगरपालिका लगायतका कार्यालयहरु भित्रका कर्मचारीहरुको रवैया र काम गर्ने शैली एकदमै हस्यास्पद र लाजमर्दो रुपमा खुल्लेआम घुस माग्ने देखि लिएर सेवाग्राहीलाई हप्काउने, गाली गर्ने विषयहरु एकदमै चिन्ताजनक तथा निन्दनिय रहेकोले यस्ता गतिविधिहरु अभिलम्ब बन्द गरी जनतालाई सरल, सुलभ तरिकाले सेवा प्रदान गर्ने सम्मान गर्ने गराउने, विकृति र विसँगतिहरुलाई यथाशिघ्र अन्त्य गर्न ११ बुदें मागसहित नेकपा नगर कमिटि सिरहाले पठाएको ज्ञापनपत्रमा उल्लेख गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रधामन्त्रीलाई पठाएको ज्ञापनपत्रमा जिल्लास्थित कार्यालयहरुमा हेल्पडेक्स स्थापना गर्नुपर्ने, जनतालाई सहज, सुलभ सेवाको व्यवस्था मिलाउनुपर्ने, जनताको सार्वजनिक सम्पतिलाई सुरक्षित गर्नुपर्ने, जिल्ला अदालत र भन्सार कार्यालयका लागि जग्गाको व्यवस्था मिलाउनुपर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्ब बंशजको नागरिकता उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
यस्तै सिरहा अस्पतालमा दरबन्दी अनुसारको डाक्टर÷कर्मचारी र निःशुल्क औषधीको आपुर्ति गर्नुपर्ने, पुर्वपश्चिम राजमार्ग र हुलाकी मार्गको नक्सा मापदण्ड सार्वजनिक गर्नुपर्ने, सिरहा सदरमुकाममा आन्तरिक राजस्व तथा यातायात कार्यालयको उपशाखा स्थापना गर्नुपर्ने मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पठाएको नेकपा सिरहा नगरकमिटीका कुशेश्वर यादव यादवले बताएकाछन् ।
जिल्लास्थित सरकारी कार्यालयहरुमा सेवा प्रदान गर्ने तरिका उपयुक्त नभएको र कर्मचारीतन्त्रमा मौलाउँदै गएको ढिलासुस्तीका कारण जनताले सेवा उपभोगमा सास्ती खेप्दै आएकाले ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको नेकपाका जिल्ला सचिव तथा प्रदेशसभा सदस्य प्रमोद यादवले बताएकाछन् ।