जनकपुर । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताएका छन् । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा सहभागी हुन आएका अध्यक्ष थापाले दुई तिहाईको सरकारले जनताको कुनैपनि अपेक्षालाई पुरा नगरेकाले जनता निराश भएको उनले बताए ।
उनले मुलुकमा भ्रष्टचार,महँगी जस्ता क्रियाकिलापहरु बढेको अरोप लगाए । उनले जनताका अपेक्षाहरु पूरा नगर्दा वर्तमान सरकारप्रति मोह भंग भएको समेत बताए । अध्यक्ष थापाले नेकपा पार्टी भित्रको अन्तरद्वन्द्वको कारणले सरकार अस्थिरताको अवस्थामा पुगेको बताउँदै उनले जनताले शान्ति र समृद्धि चाहेको बताउँदै सरकार त्यो बाटोबाट पछाडि हटेर भ्रष्टचारमा लिप्त भएको आरोप लगाए ।
अध्यक्ष थापाले कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनको लागि गर्न लागिएको संविधान संशोधन कुनैपनि पार्टीलाई मान्य नरहेको बताउँदै सरकारले जनताको भावनाविपरित राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउन खोजिएको आरोप लगाए । उनले संविधानमा देखिएको त्रुटिहरुलाई सुधार गरेर संविधानलाई सर्वस्वीकार बनाउनुपर्ने समयमा सरकारले बाटो बिराएर गलत मनसायमा संविधान संसोधन गर्न लागेको बताए ।