काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई सम्झँदै अकबर बीरबलको कथा सुनाएका छन् ।
बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्नै भट्टराईले प्रिन्टिङ प्रेस प्रकरणसँग जोडेर उक्त कथा सुनाएका हुन् । अकबर राजाले आफ्नो जुँगा तान्नेलाई के सजायँ दिने भनेर सोध्दा अरु गम्भीर सजायहरु सिफारिस गरिरहँदा बीरबलले मुसुमुसु हाँस्दै मिठाई खुवाउने पर्ने सुझाएको प्रसंग उनले सुनाए । ‘बीरबलको जवाफ थियो तपाईंको जुंगा तान्न तपाईंकै काखमा बसेको नातिले बाहेक कसले सक्छ ? उसलाई त मिठाई नै खुवाउनुपर्छ नि !’ बीरबलको जवाफ सम्झाउँदै उनले भने ।
उनले सरकारको दुईवर्षे कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भएको टिप्पणी गरे । ‘सरकारको दुई वर्षको कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भन्ने टिप्पणी भुइँ तहका जनताबाट मैले सुनिरहेको छु,’ उनले भने, ‘कतिपय मानिसहरूले यो दुई वर्ष खेर गएका वर्ष भनेर भनेका छन् । विषयमा छुट्टै छलफल होस् ।’
उनले मातातीर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी गरे । उनले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए ।
उनले सबै शीर्ष तहका नेताहरुको सम्पत्ति छानविनको माग समेत गरे । डा. भट्टराईले प्रधानमन्त्री ओलीको जिल्लामा रहेको बुकुरो घरबाट काठमाडौंमा महल बनाइएको विषयमा प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको तेह्रथुमको बुकुरो घरबाट काठमाडौंमा महल कसरी भयो ? छानविन गरौं ।’
उनले थपे, ‘अर्काले दिएको चप्पल लगाउने हामी नेताहरु कसरी चिल्लो कारमा हिँडेका छौं ? हामी सबैको सम्पति छानविन हुनुपर्छ ।’ भट्टराईले जनलोकपाल बनाएर भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न माग पनि गरे ।
संविधान संशोधनको चर्चा गर्दै भट्टराईले भने, ‘कार्यकारी निर्वाचित राष्ट्रपति, समानुपातिक संसद र जनलोकपाल विलका विषयमा संविधान संशोधन होस्। जस्केलाबाट कसैलाई प्रधानमन्त्री बनाउन होइन ।’