काठमाडौं । संसदमा प्रधानमन्त्री केपी ओलीले मनाएको जन्मदिनको विरोध भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीले राजकीय शैलीको जन्मदिन मनाएको भन्दै आलोचना गरेका हुन् । उनले जन्मदिनमा प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएको बताए ।
उनले प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भन्ने प्रश्न गर्दै भने, ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्यो होला ।’ उनले प्रधानमन्त्रीलाई आफ्नै पुरानो घरले नचिनेको भन्दै टिप्पणी गरे ।
प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको प्रसंग सुनाउँदै भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’
उनले अगाडि प्रश्न गरे, ‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’
कांग्रेस सांसद रिजालले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको टिप्पणी गरे । उनले भने, ‘संसदमा विश्वासमा लिनुस्, भ्रष्टाचारका यस्ता घटना हुँदैन भनेर विश्वास दिलाउनुस् ।’
रिजालले देशमा भ्रष्टाचारको सीमा बढेको पनि बताए । ‘७० करोड घुस दिन्छु भन्नेले योभन्दा अझ बढी प्रतिस्पर्धा गरेर घुस दिन्छु भनेका छन्,’ उनले भने, ‘७० करोडभन्दा अझ अर्बाैँ खान दिनेलाई ठेक्का दिने अवस्था आएको छ। योभन्दा लाजमर्दाे अवस्था के हुन्छ?’
प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भन्नु पनि लाजमर्दाे भएको उनको भनाइ छ । ‘प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्नुहुन्थ्यो योभन्दा लाजमर्दाे के हुन्छ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘यतिले पुगेन? यती होल्डिङलाई नेपाल ट्रस्टको जमिन, बिल्डिङ दिइँदै छ । अनि विधानमा लेखिएको छ भनिन्छ । यति फेला पर्नेबित्तिकै सबै दिने ?’