आगरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परिवारसहि सोमवार साँझ अहमदाबाददेखि आगरा पुगेका छन्। त्यहाँ उनले ताजमहलको अवलोकन गरिरहेका छन्। ट्रम्पले पत्नी मेलानियासँग ताजमहल परिसरमा हिँडडुल गरे।
त्यसक्रममा उनीहरुले फोटो पनि खिचाए। टुरिस्ट गाइडले ट्रम्प र फर्स्ट लेडीलाई ताजमहलसँग जोडिएका कथाबारे जानकारी दिए। यसअघि आगरा पुग्दा ट्रम्पलाई विमानस्थलमा राज्यपाल आनन्दी बेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे। त्यहाँ कलाकारहरुले लोकनृत्य गरेर ट्रम्पको स्वागत गरे। यसक्रममा करिब ८ मिनेटसम्म ट्रम्प परिवारले कलाकारको नृत्य हेरे। ट्रम्पको यात्रालाई विशेष बनाउन एयरपोर्टदेखि ताजमहलको बाटोका २१ स्थानमा ३ हजार भारतीय कलाकार र संस्कृतिकर्मीले स्वागत गरे।
ट्रम्प आउने भएपछि ताजमहलमा अन्य पर्यटकलाई निषेध गरिएको छ। आगराका मेयर नवीन जैनले ट्रम्पलाई ६०० ग्राम र १२ इन्च लामो चाँदीको चाबी, संगमर्मरबाट बनेको ताजमहलको मोडल र अन्य उपहार प्रदान गरे। शहरका मेयरले पाहुनालाई आगराको मुखियाको हैसियतमा ताजमहलको प्रतीक स्वरूप चाबी दिने गर्छन्।