रासस ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्नु भएकाे छ । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।‘पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी स्थानमा बिजुली, बाटो र खानेपानी पुगेकामा खुशी लागेको छ । ’
प्रधानमन्त्रीले भन्नुभयो, ‘यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत् उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो ।’ उहाँले यो अवस्था आफ्ना लागि औधि खुशीको क्षण रहेको बताउनुभयो । यासोक बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक एक करोड २० लाख रुपैयाँ शुल्क उठ्ने र शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए । मागमा सकारात्मक प्रधानमन्त्रीले भन्नुभयो, ‘देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु ।’
खानेपानीको समस्या हल भएकामा प्रधानमन्त्री ओलीले कुम्मायकका महिलालाई बधाई दिनुभयो ।‘खासगरी दिदीबहिनीहरुलाई बधाई भन्न चाहन्छु । आवश्यक पर्ने जति पनि पानी खर्च गर्ने बेलामा ढाड भाँचिनेगरी पानी बोक्दाको दुःख सम्झनुपथ्र्यो । त्यो अब हटेको छ ।’ प्रधानमन्त्री ओलीले कुम्मायकको यासोकसहित पूर्वी पहाड अब पर्यटकीय क्षेत्र बन्ने बताउँदै पूर्वाधार तयार पार्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।राँके-रवि-भेँडेटार सडक र दमक–चिसापानी–रवि सडकले एक/दुई घण्टामै पूर्वी तराईबाट यहाँ आउन सम्भव भएको बताउँदै प्रधानमन्त्रीले पर्यटकलाई न्यायो आतिथ्यको व्यवस्था गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।