सवैको स्वभाव एवं प्रवृत्ति एकनास हुँदैन । श्रीमान र श्रीमतीको पनि हरेक कुरा आपसमा मिल्दैन । हुन त व्यवहारिक जीवन चलाउन उनीहरुले धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । एकअर्काको आनीबानी, प्रवृत्ति स्विकार्नुपर्ने हुन्छ । तर, कतिपय स्वभाव वा प्रवृत्तिलाई उनीहरुले सहजै पचाउन सक्दैनन् ।
श्रीमान र श्रीमतीबीच कलह पैदा गर्नका लागि उनीहरुका त्यस्तै आनीबानी पनि निहुँ बन्छ ।
खुलेर कुरा नगर्ने
श्रीमान र श्रीमतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ । यदि कसैले आफ्नो कुरा लुकाउँछ वा गोपनियता अपनाउने चेष्टा गर्छ भने त्यसले दम्पतीबीचको सम्बन्धमा चिसोपन ल्याउँछ । विश्वासको कमी ल्याउँछ । त्यसैले दम्पतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ ।
अरुसँग तुलना गर्नु
मानिसको आ-आफ्नै जन्मजात स्वभाव हुन्छ । त्यसैले संसारका कोहि मान्छे, कसैसँग तुलना हुनै सक्दैन । तर, दम्पतीले एकअर्कासँग तुलना गरेर उनीहरुलाई कमजोर तुल्याइरहेका हुन्छन् । यसले उनीहरुको आत्मासम्मानमा ठेस पुग्छ । पार्टनरको यस्तो व्यवहारले उनीहरुलाई दुखी बनाउँछ ।
आफ्नै मर्जी अनुसार सबै काम गर्ने
पारिवारिक जीवनमा कुनैपनि काम आपसी सल्लाह, सुझावको आधारमा तय गरिनुपर्छ । तर, कतिपयको बानी के हुन्छ भने, जुनसुकै काम आफ्नो निर्णयमा गर्ने । अरुको सल्लाह उचित ठान्दैनन् । यस्तो व्यवहारले पनि पार्टनरको मनमा बिचलन ल्याउँछ । सानोतिनो कुरामा पनि यसको प्रत्यक्ष असर देखिन्छ ।
आदेश दिने
पार्टनरमाथि आदेश लाद्ने वा कुनैपनि अह्राइ-खटाइ गर्ने प्रवृत्ति राम्रो होइन । किनभने पार्टनरको मुड सधै एकनास हुँदैन । कहिले काहीँ दिक्क लागिरहेको हुनसक्छ । झर्को लागिरहेको हुनसक्छ । कुनै शारीरिक वा मानसिक समस्या पनि हुनसक्छ । यस्तो अवस्थामा पार्टनरले आदेश लाद्नु उपयुक्त हुँदैन ।