अस्ट्रेलिया — अस्ट्रेलियाका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको यसै साताभित्रमा जनावरमा परिक्षण गरिने भएको छ । युनिभर्सिटी अफ क्विन्सल्याण्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिनको निर्माण गरेका हुन् ।
विश्वमा महामारीका रुपमा फैलिरहेको भाइरसको अहिलेसम्म उपचार फेला परिनसकेको अवस्थामा अस्ट्रेलियाका वैज्ञानिकले विकास गरेको यो भ्याक्सिन परिक्षण सफल भए ठुलो उपलब्धी हुने युनिभर्सिटी अफ क्विन्सल्याण्डले जनाएको छ ।
मुख्य अनुसन्धानकर्ता तथा विश्वविद्यालयको रसायनशास्त्र तथा मोलेक्युलर बायोसाइन्सका प्रमुख पउल योङ्गले २० जना वैज्ञानिकको टोलीले यस काममा अहोरात्र खटेपछि सफलता हात लागेको बताएका छन् । ‘मुख्य काम नै जनावरमा परिक्षण गर्नुभन्दा पहिले भ्याक्सिनको निर्माण गर्नु थियो र यसै साता यस भ्याक्सिनको परिक्षण जनावरमा गरिनेछ,’ योङ्गले भने ।
उनले आफूहरुले निर्माण गरेको भ्याक्सिन यस रोग विरुद्ध विश्वकै पहिलो भएको दाबी गर्न नसकिने पनि यो अभुतपूर्व सफलता भएको सञ्चारमाध्यमलाई बताएका छन् ।
अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरस संक्रमित व्यक्तिबाट नमुना संकलन गरेर करिब एक महिना अघि कृत्रिम भाइरसको सृजना गरेका थिए । अनुसन्धानकर्ताहरुले पहिलो चरणको ‘प्रि क्लिनिकल ट्रायल’ जनावरमा परिक्षण सम्पन्न गरेपछि यसवर्षको मध्यसम्ममा मानिसहरुमा परिक्षण गर्ने लक्ष्य राखेका छन् । यद्यपी भ्याक्सिनको पूर्णरुपमा विकास गर्न १२ देखि १८ महिनासम्म लाग्नसक्ने उनीहरुले बताएका छन् ।
जनावरमा सफल रुपमा भ्याक्सिनको परिक्षण सम्पन्न भएपछि उनीहरुले यसको विस्तृत परिक्षणका लागि अस्ट्रेलियाली बैज्ञानिक निकाय सिएसआइआरओमा पठाउनेछन् । यहाँ विकास गरिएको यो भ्याक्सिनको कार्यक्रमलाई विश्वमा महामारीका रुपमा फैलिन सक्ने सरुवा रोगको रोकथाममा काम गरिरहेको विश्वव्यापी संस्था कोअलिसन फर इपिडेमिक प्रिपियडनेस इन्नोभेसन (सिइपिआई) ले सहयोग पुर्याएको जनाइएको छ ।
स्थानीय समाचारसंस्था सिड्नी मर्निङ्ग हेराल्डले मेलबर्नमा रहेको ल्याबमा परिक्षणका लागि आवश्यक पर्ने मात्राहरुको उत्पादन सुरु गरिसकिएको जनाएको छ । भ्याक्सिन पहिला कति सुरक्षित छ भनेर जनावरमा जाँच गरिनेछ भने त्यसपछि यसको प्रभावकारिताका बारेमा अर्को परिक्षण हुनेछ । यदी यो नयाँ विकसित भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको खण्डमा मानिसहरुमा परिक्षण सुरु हुनेछ ।
चीनबाट सुरु भएको यो भाइरसका कारण अहिलेसम्म संसारभरका करिब ७८ हजार संक्रमित भएका छन भने करिब २ हजार ४ सयले ज्यान गुमाइसकेका छन् । अस्ट्रेलियामा मात्र यस भाइरसबाट २१ जना संक्रमित भएको पाइएको छ ।