कोरोनाभाइरस फैलिने त्रासबीच इटालियन लिग अन्तरगत इन्टर मिलान र साम्पडोरियाबीचको खेलसहित अन्य दुई खेल स्थगित गरिएको छ । इटालीका प्रधानमन्त्री जिउसेप्पे कोन्टेले शनिबार पत्रकार सम्मेलन गर्दै खेलहरु स्थगित गरिएको जानकारी दिएका हुन् ।
‘खेलकुद मन्त्री स्पाडाफोराले आइतबार भेनेटो र लोम्बार्डी क्षेमा खेलाइने सबै खेल स्थगित गर्न सुझाव दिएका छन्,’ कोन्टेले भनेका थिए । योसँगै भेरोना र काग्लियारी तथा एटलान्टा र सासुलोबीचको खेल पनि रद्द भएको छ । इन्टर मिलानले आफ्नो ट्वीटरबाट सान सिरोमा खेलिने खेल स्थगित भएको जानकारी दिएको थियो ।
लोम्बार्डीमा कोरोना भाइरसबाट संक्रमित महिलाको मृत्यु भएपछि खेलहरु स्थगित गर्ने निर्णय लिएको हो । २४ घण्टाको अन्तरमा इटालीमा कोरोनाभाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ ।
कोभीड–१९ नाम दिइएको यस रोगबाट हालसम्म चीनमा ७५ हजार ५६७ जना संक्रमित भएका छन् भने २ हजार २३९ जनाको मृत्यु भइसकेको छ ।
चीनभन्दा बाहिर २६ देशमा १२ सय जनामा यो रोगको संक्रमण देखिएको छ ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।