धादिङ । संगीतको नशालाई छिचोलेर यसबाट छुटकारा पाउन महाकठिन हुन्छ । यही नशाले कोरिएका भाग्यका रेखाहरुले कसैलाई बिचैमा पछारिएको छ भने कसैको भविष्यलाई झनै कसिलो गाँठो बनाउँदै लगिरहेको छ । यस्तै संगीतको नशाबाट उन्मुक्ति पाउन नसकिएका एक सर्जक हुन् संगीतकार एवम् गायक तथा गीतकार सन्दीप स्याम्चेन तामाङ । सन्दीपले न संगीतलाई बिर्सन सक्छ न त संगीतले उहाँलाई छुटाउन मान्छ,कदापि कहिल्यै दूर जाने छैन । लत लागेपछि जति पियो उत्ति नै स्वादिष्ट बन्छ,हो संगीत पनि त्यही,जति गर्यो उत्ति गर्न मन लाग्छ । अहिले सन्दीपको लत यसैमा छ । संगीतले उहाँलाई सर्वश्रेष्ठ बनाएको छ,सर्वशक्तिमान पनि ।त्यसैले त यो संगीतको शक्तीले अरु पेशा व्यवसाय र कार्यमाथी विजयी हासिल गरेको छ ।
उत्तरी धादिङको खनियाबास गाउँपालिका-१ को सुन्दर सानो बस्ती झार्लाङ लक्चोमा आफ्नो न्यानो परिचय बनाउनुभएका सन्दीप स्याम्चेन तामाङले सांगीतिक क्षेत्रमा पनि फराकिलो परिचय बनाउँदा बाबू तरजम तामाङको आँखामा गर्विलो आँसु पोखिरहेका थिए । उसैत छोरालाई गायक बनाउँन चाहन्थे । रेडियोमा गीत बज्दा मेरो छोरा पनि यस्तै गीत गाउन सकियोस् भन्ने लाग्थ्यो तरजम तामाङलाई । आखिरमा छोराले गायकको मात्र होइन एउटा सफल संगीतकार,गीतकार र सञ्चारकर्मीको जिम्मेवारी लिएको छ । झर्लाङको मिठो चिसो पानीसँग उहाँको म्हेन्दोमाया संगीतले साइनो गाँसेको थियो । सानैमा मेलापात,गाउँघरको शुभकार्यक्रमहरुमा आफ्नो गीत गाउँदै हिँड्ने गर्थे ।झार्लाङको पाखा पखेरा,वनजंगल,खोलानाला,पशुपंक्षीसँग मितेरी गाँस्दै विभिन्न कार्यक्रमहरुमा सहभागी भएर थुप्रै पुरस्कार जितेर प्रेरणा पाएका सन्दीप झनै सांगीतिक क्षेत्रमा अब्बल सावित हुँदै गए । झार्लाङमा उहाँको बुबाले पहिलोपटक क्यासेट बजाएर रेकर्ड राखिएकाले अरुको गीत गाउँदै हिड्ने गर्थे ।२०४९ साल असार ४ गतेका दिन झार्लाङको सानो बस्ती लक्चोमा आमा ठूलीमायाको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका सन्दीप स्याम्चेन तामाङ सानैदेखी गीतसंगीत भनेसी हुरुक्कै हुन्थे । साथीभाईले उनलाई नै विद्यालय वा अन्य कार्यक्रमहरुमा गीत गाउन लगाउँथे,र गाउँथे पनि ।
औपचारिक रुपमा संगीत सिक्न नपाएका सन्दीपले स्व.संगीतकार एवम् गायक बिक्रम जि लामाबाट संगीतबारे थोरै भएनी बुझ्ने मौका पाएका थिए ।विं.सं.२०६५ सालमा पहिलो एल्बम तामाङ म्हेन्दोमाया गीत “गणेश हिमाल स्योङ” निकालेका थिए,जसमा तीन वटा गीत रहेका छन् । उक्त एल्बममा सन्दिप स्याम्चेन,रमला पाख्रीन र संघम स्याम्चेनले स्वर भरेका थिए भने तीनैवटा गीतको शब्द उहाँ सन्दीप स्याम्चेनले सिर्जना गर्नुभएका हुन् ।उहाँले उक्त गीत एस.एल.सी. दिए पश्चात् काठमाडौको स्टुडियोमा गएर रेकर्ड गर्नुभएको थियो । हालसम्म उहाँले २२ वटाभन्दा बढी गीतमा आफ्नो आवाज भरिसकेका छन् ।त्यस्तै लोकदोहोरी र म्हेन्दोमाया गीत गरि करिब ५० वटा गीतमा संगीत भरिकेको छ भने आफ्नो शब्द सिर्जनामा ७० भन्दा गीतहरु रेकर्ड गरिसकेका छन् भने अन्य थुप्रै गीतहरूमा संगीत गरिसक्नुभएको छ।र नेपाली लोकदोहोरी,पप गीत,आधुनिक गीत र म्हेन्दोमाया गीत गरी पुगनपुग २०० वटाभन्दा गीतहरु बजारमा आईसकेका छन् । यस्तै उहाँले ऎतिहासिक म्हेन्दोमाया म्युजिक अवार्डमा उत्कृष्ट संगीतकारको अवार्ड पनि हात पारिसक्नुभएको छ ।
जुनसुकै बाबुआमाले आफ्नो सन्तानलाई डाक्टर,पाइलट,शिक्षक यावत् कुराहरुमा बढी जोड गर्छन् । छोराले राम्रोसँग पढेर जागिर खाउन,बुढेसकालमा बाबुआमालाई पालनपोषण गरुन् भन्ने सपना मनभरी थुपारेको हुन्छ । तर यो भन्दा फरक सपना थिए सन्दीपका बाबुआमाको ।गायनमा औधी रुचि राख्ने सन्दीप स्याम्चेनलाई गायक बनाउने बाबुआमाको सपना हो । त्यही बुबाआमाको सपना रा आफ्नो सपना एउटै भएको हुनाले सांगीतिक क्षेत्र सोचेको जस्तो भईरहेको उहाँ बताउनुहुन्छ ।”बुबाको सपना पनि गायक बनाउने थियो,त्यसैले होला पूरा भएकोमा बाबा आमाले पनि हौसला प्रदान गर्नुभएको छ,र सँगै भगवान् स्वरुप दर्शकहरुले थप पाइला चाल्न धेरैभन्दा धेरै माया दिनुभएको छ ।” उहाँले थप्नुभयो ।४ बर्षसम्म शिक्षण पेशालाई छोडेर गीत संगीतलाई नै प्राथमिकतामा राखी नेपाली संगीतका साथै तामाङ म्हेन्दोमाया गीतलाई थप उर्जा दिई उचाईमा पुर्याउने हेतुले पछिल्लो समय उहाँ गीतसंगीतमै व्यस्त हुनुहुन्छ। यस्तै उहाँ एक कुशल रेडियो कार्यक्रम प्रस्तोता पनि हुनुहुन्छ । हाल रेडियो धादिङ १०६.०० मेगाहर्जमा तामाङ न्हेन कार्यक्रम चलाउनुहुन्छ । उहाँ म्हेन्दोमाया कलाकार संघ धादिङ जिल्ला को अध्यक्ष समेत हुनुहुन्छ भने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल धादिङको जिल्ला कार्यसमितिको सदस्य पद ग्रहण गर्नुभएको छ । यस्तै प्रथम ऎतिहासिक म्हेन्दोमाया म्युजिक अवार्डमा उत्कृष्ट संगीतकारको रुपमा अवार्ड उहाँले प्राप्त गरिसक्नुभएको छ ।
आफ्नो सांगीतिक फाँटमा त यसै सन्तुष्ट हुनुहुन्छ ।उहाँ गायक पनि हुन् संगीतकार पनि हुन् ।यत्ती मात्र होइन शब्द सिर्जनामा झनै अब्बल देखिन्छ ।उहाँको परिचयलाई यहाँसम्म मात्र होइन सञ्चारकर्मी हुन् र सामाजिक सहयोग अभियान्त पनि हुन् । सांगितिक धरातलमा एउटा नाम त कोरिसक्नुभएको छ,सन्दीप स्याम्चेन तामाङ । उहाँका आवाज,संगीत र शब्द सदैव अमर रहिरहनेछ । यत्तिले मात्र होइन समाजप्रतिको माया,सहयोगले इतिहासमा अर्को नाम थपिनेछ ।आफूले विभिन्न कार्यक्रमहरुमा गीत गाएर कमाएका पैसा उहाँले दुखी,असहाय,टुहुरालाई दान गर्दै आइरहनुभएको छ । सामाजिक कार्यमा आफूले नै नेतृत्व लिई मृगौला पीडितहरुलाई सहयोग गर्दै आइरहनुभएको छ । मृगौला पिडित आसामाया तामाङ बचाउ अभियान,राम्री माया तामाङ बचाउ अभियान,सन्जीव तामाङ बचाउ अभियान र तारा थापा तामाङ बचाउ अभियान कार्यक्रमको स्वयंम आफैले नेतृत्व गरि सहयोग गर्दै आउनुभएको छ ।