काठमाडौं । चीनबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकहरुमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चीनको हुबेई प्रान्तबाट उद्धार गरी ल्याइएका एक सय ७५ जनामै कोरोना भाइरसको संक्रमण भेटिएको छैन । उनीहरुको पटक – पटकको परीक्षणबाट कोरोना भाइरस नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका उनीहरु चीनबाट ल्याएको १४ औँ दिनमा नमुनाको पुनः परीक्षणपछि क्वारेन्टाइनबाट बाहिर आउन पाइने बताइएको छ ।
चीनको हुबेई प्रान्तमा रहेका १७५ नेपालीलाई नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले फागुन ४ गते काठमाडौंमा ल्याइएको थियो।