विवेक लोप्चन/काठमाडौं ।
पर्यटन, सँस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भाषालाई जीवन्त राख्नका लागि हरेक पुस्ताले केही न केही प्रयास गर्न आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भाषा आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाषालाई जीवन्त राख्नका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्न आवश्यक रहेको बताएका हुन् ।
हरेक व्यक्तिले प्राप्त गर्ने शिक्षा उसको मातृभाषामा पाउनुपर्ने व्यवस्था संविधानमै भएको बताउँदै उनले सरकारले त्यसको कार्यान्वयन थालेको समेत बताए । ‘संविधानले व्यवस्था गरे बमोजिम मातृभाषामा शिक्षा पाउनुपर्ने हरेक नागरिकको अधिकार कार्यान्वयनमा सरकार गम्भिर छ, कतिपय ठाउँहरुमा कार्यान्वयन भइरहेको पनि छ’ उनले भने, ‘मातृभाषामा अध्यापान भइरहेको विद्यालयको शैक्षिक गुणस्तर कस्तो छ भन्नेबारे मैले धेरै भनिरहनु पर्दैन ।’
मन्त्री भट्टराईले पुरानो सभ्यता, सँस्कृति र भाषालाई विकसित गर्दै त्यसलाई पर्यटन र अध्ययनको क्षेत्रको रुपमा विकास गर्ने गरी सरकारले काम अगाडि बढाएको समेत बताए ।
हरेक नागरिकलाई आफ्नो जन्मभूमि जतिकै भाषा प्यारो रहेको औल्याउँदै उनले भाषा आयोगले सरकार समक्ष गरेको विभिन्न सिफारिसहरु कार्यान्वयन हुँदै जाने विश्वास समेत दिलाए ।
कार्यक्रममा भाषासँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित् थिए ।