भक्तपुर । कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् ।
स्थानीय रामलाल महर्जन भन्नुहुन्छ, “बिरामी त होइन रहेछन्, किन यहाँ ल्याएको होला ? घरै लगे पनि हुने थियो । रोग सर्छ भन्ने कुरा हल्ला मात्रै जस्तो लाग्यो ।” उहाँले त्यति रमाइलो गरेर बसिरहेकाहरूलाई रोगी भन्न नसक्ने बताउनुभयो ।
हुन पनि चीनबाट आएका नेपालीको दैनिकी मस्तीले बितेको छ । उनीहरूलाई सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरूको व्यवस्थासमेत गरिदिएको छ । क्वारेन्टाइनमा बस्ने नेपालीले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसासमेत गरिरहेका छन् ।
सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृश्य देखिन्थ्यो । क्वारेन्टाइनमा बसेकाहरूको तीन टोली क्वारेन्टाइनको छतमाथि बसेर क्यारामबोर्ड खेलिरहेका देखिन्थे । केही लुडो, केही ब्याडमिन्टनसमेत खेलिरहेका थिए । सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेन्टाइन व्यवस्थापनमा खटाएको छ ।
स्वास्थ्य क्षेत्रमा नेपाली सेनाका चिकित्सक डा. नवीन फुयालको नेतृत्वमा टोली खटाइरहेको छ । डा. फुयालले गोरखापत्रसँंग कुरा गर्दै स्वास्थ्य क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा बस्ने १७५ जना स्वस्थ रहेको जानकारी दिँदै सुरक्षाको दृष्टिकोणबाट मात्र राखिएको बताउनुभयो । डा. फुयालले खाना, बस्न, खेलकुद, मनोरञ्जन, इन्टरनेटको समेत व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले त्यहाँ रहेका सम्पूर्ण नेपाली स्वस्थ रहेको र वरपर रोग सर्ने कुनै सम्भावना नरहेको बताउनुभयो । खकार परीक्षणका लागि टेकु पठाइएको जानकारी दिँदै उहाँले बुधबार रिपोर्ट आइसक्ने जानकारी दिनुभयो । अहिलेसम्म कुनै पनि नेपालीलाई रुघाखोकी, ज्वरोजस्ता समस्या नदेखिएकाले आइसोलेसनमा समेत जानु नपरेको बताउनुभयो । सोमबार दिउँसो नै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाल प्रहरीका भक्तपुर प्रमुख (एसपी) सविन प्रधानलगायत क्वारेन्टाइन स्थल खरिपाटी पुग्नु भई त्यहाँ राखिएका नेपालीबारे जानकारी लिनुभएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।