काठमाडाैँ, २८ माघ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ ।
आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो ।
सो एकाइका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार ४०२ वटा नमुना परीक्षण गरिएकोमा १२ वटा नमुनामा खानै नहुने विषादीको मात्रा भेटियो भने तीनवटा आठ/दस दिन पर्खेर खान मिल्ने पाइयो । सो एकाइका अनुसार आव २०७५/०७६ मा तीन हजार १२४ वटा नमुना परीक्षण गरेकोमा दुईवटा खाना नहुने र दुईवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए भने आव २०७४/०७५ मा एक हजार ८५० वटा नमुना परीक्षण गरेकोमा तीनवटामा खान नहुने र एउटा केही दिन पर्खेर खानुपर्ने भेटिएको थियो ।
यस्तै आव २०७३/७४ मा एक हजार ९३० वटा नमुना परीक्षण गर्दा २२ वटा खान नहुने र पाँचवटा केही दिन पर्खेर खानुपर्ने पाइएका थिए भने आव २०७२/०७३ एक हजार ९३६ वटा नमुनामा १० वटा खाना नहुने र आठवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए । त्यसैगरी, आव २०७१/०७२ मा एक हजार ५७० वटा नमुनामा चारवटा खान नहुने र १५ वटा केही दिन पर्खेर खानपर्ने भेटिएका थिए । यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।