एजेन्सी, २७ माघ । अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ । वर्षाले करिब पाँच महिनाअघिदेखि न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलो नियन्त्रणमा आएकाे छ ।
डढेलोले करिब ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरिदिएको थियो । दुई दशककै सबैभन्दा भयानक र खतरनाक डढेलोका कारण ३३ जनाको मृत्यु र करिब ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भएकाे बताइएकाे छ ।
गत सेप्टेम्बरदेखि फैलिएको डढेलो राजधानी सहर क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि ‘आपतकाल’ घोषणा समेत गरिएकाे थियाे । बस्तीहरु, बासिन्दा, घरपालुवा पशुपन्छी , सार्बजनिक तथा निजी सम्पत्तिहरु डढेलोबाट बचाउन त्यहाँका सबै सरकारी तथा गैरसरकारी निकायहरु चुस्त स्वयमसेवाका साथ लागिपरेका थिए ।
२२ जनवारीमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका तीन जना अमेरिकीको ज्यान समेत गएकाे थियाे ।
बाढीले ज्यान जोखिममा पार्न सक्ने चेतावनी
वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन् । बीबीकाे अनुसार झन्डै एक लाख घरमा बिजुली गएको छ ।
सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी पनि मैसमविद्हरूले दिएका छन् ।
डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउन सक्ने मैसमविद्हरूकाे अनुमान छ । अस्ट्रेलियाको सबभन्दा धेरै जनसङ्ख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा सबै भन्दा खतरा रहेकाे बताइएकाे छ ।
सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन् । त्यहाँको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ । सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्। दर्जनौँ स्कूल बन्द रहेका छन्।
सहरका तल्ला भूभागका बासिन्दाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति आग्रह गरिएकाे छ । सिड्नीमा सोमवार पानी रोकिएको छ तर यो साताभरि थप वर्षाको पूर्वानुमान गरिएको छ ।