विद्यार्थीले स्मार्ट सिटी बनाएपछी सबै जना दङग !

३ माघ २०७६, शुक्रबार ०६:३२ मा प्रकाशित
उज्यालो संवाददाता

पाेखरा, ३ माघ । नेपालमा ‘स्मार्ट सिटी’ बनाउने चर्चा बढी नै हुने गर्दछ । अधिकांश सर्वसाधारणलाई स्मार्ट सिटी कस्तो हुने हो थाहा छैन । यही वास्तविकतामा यहाँको एक विद्यालयका विद्यार्थीले स्मार्ट सिटीको नमूना तयार गरी अभिभावकलाई दङ्गै पारेका छन् ।

शान्तिउदय माध्यमिक विद्यालयमा अध्ययनत बालबालिकाले विद्यालयको ६० औँ वार्षिकोत्सव एवं ६१ औँ अभिभावक दिवसमा बिहीबार प्रदर्शनमा राखेका स्मार्ट सिटीको नमूनाले अभिभावकको ध्यानाकर्षण गराएको थियो । पोखरा महानगरपालिका–३३ स्थित यस क्षेत्रकै सबैभन्दा पुरानो विद्यालय मानिन्छ । स्मार्ट सिटीमा सुविधा सम्पन्न अपार्टमेन्टदेखि हस्पिटल, पार्क, डिपार्टमेन्टल स्टारे, विद्यालय, यातायातको व्यवस्था, भ्युटावरलगायतका विषलाई समेटिएको थियो ।

अभिभावक आफ्ना बालबालिकाका सिर्जना देखेर मख्ख देखिन्थे । वार्षिकोत्सवस्थल प्रवेश गर्ना साथ मेहनत गरेर राखिएका प्रदर्शनीका सामग्रीबारे जानकारी गराउन विद्यार्थीलाई भ्याइनभ्याइ थियो । शैक्षिक प्रदर्शनीमा गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन विषयका शैक्षिक सामग्री राखिएका थिए । आफूहरूले वार्षिकोत्सवलाई लक्षित गरी झण्डै एक सातादेखि यी सामग्री तयार गरेको कक्षा १० की छात्रा जमुना नेपालीले जानकारी दिनुभयो । “हामीले कक्षा कोठामा पढेका विषयलाई व्यवहारमा उतारेका हौँ”, उहाँले भन्नुभयो, “यसमा सबै साथीभाइको सहयोग त छ नै विद्यालयका शिक्षक शिक्षिकाले पनि उत्तिकै उत्प्रेरणा प्रदान एवं सहयोग गर्नुभएको छ ।”

प्रदर्शनीमा रहेका हाइड्रोलिक ब्रीज त कतै हाइड्रोलिक लिफ्टले अभिभावकलाई आकर्षित गरेको थियो । विद्यार्थीले विभिन्न अन्नको प्रयोग गरी सातवटै प्रदेश छुट्याएर बनाएको नेपालको नक्सा पनि प्रदर्शनीको आकर्षण बनेको थियो । शैक्षिक प्रदर्शनी अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य विद्या भट्टराई(अधिकारी)ले विद्यार्थीको मौलिक सिर्जनालाई महत्व दिन यस किसिमका प्रदर्शनीको अवसर उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद आचार्यले प्रदर्शनीमा विद्यार्थीका अन्तरनिहित क्षमता प्रष्फुटित भएको बताउनुभयो । उहाँले पछिल्ला समयमा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको वास्तविकतामा सङ्ख्याभन्दा पनि कसरी शैक्षिक गुणस्तर बढाउने हो त्यसतर्फ चिन्ता गर्नुपर्ने बेला आएको बताउनुभयो । – रासस

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार