खोटाङ, २७ पुस । प्रधानन्यायाधीश सुशीला कार्कीले कानुनी उपचारका लागि अदालत आउने सेवाग्राहीको काममा ढिलाइ नगर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छिन् ।
खोटाङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले अदालतबाट न्याय पाउन लामो समयसम्म पर्खनुपर्दा जनतामा वितृष्णा सिर्जना हुने भएकाले न्याय सम्पादनमा तदारुकता देखाउन मातहतका न्यायाधीशलाई निर्देशन दिएकी हुन् ।
“अदालतको फैसला लामो समयसम्म पर्खनुपर्दा खर्च समेत बढी हुन्छ” प्रधानन्यायाधीश कार्कीले भनिन्, “निमुखा, गरिब र पिछडिएका व्यक्तिले केही जाने सुनेका हुँदैनन्, त्यसैले उनीहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेर चित्तबुझ्दो काम गरिदिनुहोस्”
प्रधानन्यायाधीश कार्कीले न्यायपालिका भनेको सबैको आस्था र धरोहरको केन्द्र भएको उल्लेख गर्दै उनले भनिन्, “न्यायपालिकामा पक्षपात हुनु हुँदैन, समयमा फैसला कार्यान्वयन हुन्छ, त्यो नै उच्च इन्साफ हो”
रु तीन करोड ८९ लाख ५२ हजारको लागतमा सो भवन निर्माण भएको जनाएको छ ।