प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस

९ मंसिर २०७६, सोमबार ०३:५६ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको आइतबार तेस्रोपटक डायलाइसिस गरिएको छ । उनी दिउँसो करिब ४ बजे धापासीस्थित ग्रान्डी अस्पताल पुगेका थिए । अस्पतालका अनुसार उनको शरीरमा क्रिटिनिनको लेभल अघिल्लोपटक भन्दा थोरै घटेको छ ।

आइतबार गरिएको स्वास्थ्य परीक्षणमा ओलीको रगतमा क्रिटिनिनको लेभल ६ मिलिग्राम प्रतिशत पुगेको छ । यसअघि ६.३ मिलिग्राम प्रतिशत थियो । ओलीलाई नियमित डायलाइसिसको आवश्यकता भने परेको छैन ।

यसअघि १३ कात्तिकमा आकस्मिक रूपमा प्रधानमन्त्री ओलीको अल्ट्रा–फिल्ट्रेसन गरेयता तीनपटक डायलाइसिस गरिएको छ । ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

पछिल्लो समय मिर्गौलाले काम गर्न छाडेसँगै डायलाइसिस गर्न थालिएको हो । चिकित्सकहरूले उनलाई डायलाइसिस उत्तम विकल्प नभएको भन्दै प्रत्यारोपणमा जान सुझाब दिएका छन् ।

प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार गराएका थिए । प्लाज्मा फेरेसिसले काम नगरेपछि ओलीको मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगेको हो । नयाँ पत्रिकामा खबर छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार