पोखरा । नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई भव्य स्वागत गरेका छन् ।
सोमबार विहानै दोविल्लाबाट घरदैलो अभियान सुरु गरेकी विद्यालाई स्वागत गरेका हुन् । घरदैलो सुरु हुनुअघि दोविल्लामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की अध्यक्ष एवं वडा नं १७ का चुनावी कमाण्डर कृष्ण थापाले संसारको कुनैपनि तागतले कास्की २ को निर्वाचनमा नेकपालाई हराउन नसक्ने विश्वास व्यक्त गरे । आफ्नो ठाउँमा पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोल्नु लाजमर्दो विषय भएको भन्दै अध्यक्ष थापाले अत्यधिक बहुमत सहित विद्याको जीत सुुनिश्चित भएकोे बताए ।
सो अवसरमा बोल्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा १७ पर्यटकीय र धार्मिक हिसावले उत्कृष्ठ रहेको भन्दै उक्त वडा सहित समग्र पोखरामा आवस्यक विकासको जिम्मा आँफूले लिने उद्घोष गरिन् । “यहाँ थुप्रै पर्यटकीय स्थलहरु छन् त्यसको विकासका लागि म जिम्मेवार भएर अघि बढ्छु ” उनले भनिन् ।