काठमाडौँ, नेपाली कांग्रेसले पार्टीका नेता एवम् राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी गत पुस ३० गते काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय बोहराको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
कञ्चनपुरको वेदकोट नगरपालिकाका बासिन्दा बोहराले विद्यार्थी जीवनदेखि नै आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेको कांग्रेसले जनाएको छ । उनि दोस्रो संविधानसभा निर्वाचनमा संविधान सभा सदस्य बन्नुभएको थियो भने २०८० सालमा सम्पन्न निर्वाचनमार्फत राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा बोहराले पाँच वर्ष जेल जीवन बिताएका थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कञ्चनपुर जिल्लाको जिल्ला विकास समितिको सभापतिका रूपमा बोहरा निर्वाचित भएका थिए । समाजसेवामा पनि निरन्तर समर्पित रहँदै आएका बोहराको निधनसँगै कांग्रेस र सुदूरपश्चिमले एक निष्ठावान र अनुभवी नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ ।
बोहराको निधनप्रति कांग्रेसका कावा सभापति खड्काले आफूलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको बताए । बोहोराले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उनले बताए ।
कावा सभापति खड्काले स्व बोहराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट गहिरो समवेदना व्यक्त गरेका थिए ।






