थाइल्यान्ड–कम्बोडियालाई अमेरिकाको सहयोग घोषणा

उज्यालो प्रतिनिधि २५ पुष २०८२, शुक्रबार विश्व

संयुक्त राज्य अमेरिकाले थाइल्यान्ड र कम्बोडियाबीच हालै कायम भएको नाजुक युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यसहित करिब चार करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार यो जानकारी दिएको हो ।

पूर्वी एसियाका लागि विदेश मन्त्रालयका शीर्ष अधिकारी माइकल डिसोम्ब्रे युद्धविराम कार्यान्वयन र त्यसलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्न थाइल्यान्ड र कम्बोडियाको भ्रमणमा रहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस युद्धविरामलाई आफ्नो कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

डिसोम्ब्रेले कम्बोडियामा गम्भीर समस्या बनेको लागुऔषध तस्करी र साइबर घोटालासँग जुध्न दुवै देशलाई दुई करोड अमेरिकी डलर सहयोग प्रस्ताव गरिने बताए । साथै हालैको लडाइँका कारण विस्थापित भएका नागरिकहरूको सहयोगका लागि एक करोड ५० लाख डलर र बारुदी सुरुङ हटाउने डिमाइनिङ कार्यका लागि एक करोड डलर उपलब्ध गराइने जानकारी दिए ।

उनले एक विज्ञप्तिमा भने, “संयुक्त राज्य अमेरिकाले क्वालालम्पुर शान्ति सम्झौता कार्यान्वयनका क्रममा कम्बोडिया र थाइल्यान्ड सरकारलाई निरन्तर समर्थन गर्नेछ र उनीहरूका जनता तथा समग्र क्षेत्रका लागि शान्ति, स्थायित्व र समृद्धिको मार्ग प्रशस्त गर्न सहयोग पुर्‍याउनेछ ।”

उक्त सम्झौता गत अक्टोबरमा आसियान क्षेत्रीय समूहको अध्यक्षता गरिरहेको मलेसियाको भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पको उपस्थितिमा दुवै देशबीच हस्ताक्षर भएको थियो । यद्यपि, गत महिना पुनः ठूलो झडप सुरु भई तीन सातासम्म चलेको लडाइँपछि डिसेम्बर २७ मा दुवै पक्ष युद्धविराममा सहमत भएका थिए । त्यसपछि पनि थाइल्यान्डले कम्बोडियाले युद्धविराम उल्लङ्घन गर्दै आकस्मिक गोलीबारी गरेको आरोप लगाएको छ ।

कम्बोडियाले भने नोम पेन्हले आफ्नो दाबी गर्ने सीमावर्ती क्षेत्रहरूबाट थाइल्यान्डका सेना फिर्ता गर्न आग्रह गर्दै आएको छ । दुवै देशबीचको यो विवाद करिब ८०० किलोमिटर लामो सिमानामा औपनिवेशिक कालमा गरिएको सीमाङ्कनसँग जोडिएको छ, जहाँ दुवै पक्षले भूभाग र ऐतिहासिक मन्दिरका भग्नावशेषमाथि दाबी गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले यस द्वन्द्व समाधानलाई आफ्नो कूटनीतिक सफलताका रूपमा उल्लेख गर्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार भएको दाबी पनि गर्दै आएका छन् । तर पदभार ग्रहण गरेपछि उहाँको प्रशासनले विदेशी सहायतामा व्यापक कटौती गरेको थियो, जसअन्तर्गत कम्बोडियामा डिमाइनिङका लागि लामो समयदेखि चल्दै आएको अमेरिकी सहायता पनि स्थगित गरिएको थियो । प्रशासनले अमेरिकी हितसँग प्रत्यक्ष सम्बन्ध नदेखिने कार्यक्रमहरूमा खर्च सीमित गर्ने नीति अपनाएको बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार