काठमाडौँ। महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन्।
महिला अधिकारका लागि दबाब अभियानले आज यहाँ माइतीघर मण्डलामा दबाबका लागि र्यालीसहित अधिकारको माग गरेको हो। त्यस क्रममा माइतीघर मण्डलाबाट सुरु भएको र्याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था धनी र सम्पन्नशाली व्यक्तिका लागि नभई सीमान्तकृत, महिला, दलित, जनजाति र पछाडि पारिएका समुदायको अधिकारका लागि रहेको भन्दै विरोध जनाइएको थियो।
सहभागी महिलाहरूले संविधानप्रदत्त समानुपातिक समावेशी अधिकारको पालना, दण्डहीनताको अन्त्य, नेतृत्वमा महिला सहभागितालगायत विषयमा लेखिएका ‘प्ले कार्ड’ सहित प्रदर्शन गरेका थिए।
कोणसभामा गैरसरकारी संस्था महासङ्घका वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले विगतमा पनि राजनीतिक पार्टीले समानुपातिक उम्मेदवारमा धनाड्य, आफन्त र पहुँचवालालाई स्थान दिने गरेको भन्दै यसपटक नयाँ पार्टीहरूले पनि चर्चित र सम्पन्न व्यक्तिलाई नै समानुपातिकमा नाम राखेकामा विरोध जनाइन्।
उनले जनताले सडकबाट सङ्घर्ष गरेर संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न बाध्य पारेको सन्दर्भ उल्लेख गर्दै यसको दुरुपयोग नगर्न चेतावनी दिइन्। “समानुपातिक कोटामा हुनेखाने र आफ्ना मान्छे राख्न पाइँदैन”, थापाले भनिन्, “त्यस्ता सूचीमा राखिएका व्यक्तिको नाम तुरुन्तै हटाउन हाम्रो आग्रह छ।”
कोणसभामा जेनजी पुस्ताका अगुवा नेता मोनिका निरौलाले संविधानप्रदत्त अधिकारको सही प्रयोग गर्न राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिइन्। उनले समानुपातिक अधिकार सीमान्तकृत समुदायकै हुने भएकाले यसमा नेताहरूले आँखा नलाउन खबरदारी गरिन्।
सभामा दबाब र खबरदारी अभियान निरन्तर जारी राख्ने जनाइएको थियो।






