भोजपुर। आधुनिक बाजाको प्रयोग बढेसँगै नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेको परम्परागत पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ। पुस्तान्तरणको कमी, बजाउने सीप भएका व्यक्तिको अभाव र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा मौलिक परम्परा सङ्कटमा परेको स्थानीयको भनाइ छ।
स्थानीय नीरबहादुर परियारका अनुसार बजारमा आधुनिक बाजाको सहज पहुँच भएपछि विवाह, व्रतबन्ध तथा विभिन्न सांस्कृतिक समारोहमा पञ्चेबाजाको प्रयोग घट्दै गएको छ। पञ्चेबाजामा नरसिंहा, दमाहा, सनाई, टेम्पुलो र झ्याम्टा गरी पाँच वाद्ययन्त्र प्रयोग गरिन्छ। हाल गाउँघरमा यस्ता बाजा र बजाउने सीप भएका व्यक्ति भेट्नै गाह्रो भएको उनले बताए।
“पहिले हरेक कार्यक्रममा पञ्चेबाजाको धुन सुनिन्थ्यो, तर अहिले डिजे बाजाले ठाउँ लिँदा परम्परागत बाजा ओझेलमा परेका छन्,” परियारले भने।
नेपालकै मौलिक संस्कृति झल्काउने पञ्चेबाजा सीमित जाति समुदायमा मात्र केन्द्रित हुँदा संरक्षणमा थप चुनौती आएको स्थानीय बद्रीप्रसाद अधिकारीले बताए। उनका अनुसार पञ्चेबाजाको संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक छ।
“पहिले विशेष जातिमा मात्र बाजा बजाउने सीप सीमित गरियो। यो सीप अन्य समुदायमा पनि हस्तान्तरण गर्न सकिएको भए बाजाको प्रयोग बढ्ने र लोप हुने अवस्था हट्ने थियो,” अधिकारीले भने, “अब यसको संरक्षणमा प्रदेश र स्थानीय सरकार दुवैले गम्भीर ध्यान दिनुपर्छ।”






