काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–५ मा अवस्थित जनविकास माध्यमिक विद्यालयले आफ्नो हीरकीय ६७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । डाँडापारि क्षेत्रमा स्थापना भएर शिक्षा क्षेत्रमा निरन्तर योगदान दिंदै आएको यस विद्यालयले वार्षिकोत्सवको अवसरमा भविष्यमा क्याम्पसको रूपमा विस्तार गर्ने दीर्घकालीन योजना सार्वजनिक गरेको छ ।
वि.स. २०१६ सालमा स्थापना भएको जनविकास माध्यमिक विद्यालय डाँडापारि क्षेत्रकै प्रतिष्ठित शिक्षालयका रूपमा परिचित छ । शैक्षिक स्तरोन्नति, भौतिक संरचनाको विस्तार, प्राविधिक शिक्षा, तथा स्थानीयको शैक्षिक आवश्यकतालाई समेट्दै अघि बढिरहेको विद्यालयको यो वार्षिकोत्सव स्थानीय समुदाय, अभिभावक, पूर्वविद्यार्थी र जनप्रतिनिधिको व्यापक सहभागितासहित सम्पन्न भएको हो ।
नीति निर्मातादेखि राष्ट्र सेवकसम्म जन्माएको विद्यालय
विद्यालयले पछिल्लो ६७ वर्षको यात्रामा नीति–निर्मातादेखि राष्ट्र–सेवकसम्म जन्माउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यहाँबाट अध्ययन गरेर देशका विभिन्न तह–तहमा पुगेका व्यक्तिहरूले विद्यालयलाई ‘सामुदायिक गौरव’का रूपमा पहिचान दिलाएका छन् ।
जनविकास माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी अक्कल बहादुर थिङ संविधानसभाको सदस्य बने । त्यसैगरी विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी इन्द्रबहादुर थिङ खानीखोला गाउँपालिकाको अध्यक्ष, सर्केश घलान बागमती गाउँपालिका मकवानपुरको अध्यक्ष, बज्रध्वज वाईबा हरिहरपुरगढी गाउँपालिका सिन्धुलीको अध्यक्ष, कान्छालाल जिम्बा महाभारत गाउँपालिकाको अध्यक्ष छन् । विद्यालयमै अध्ययन गरेका पूर्वविद्यार्थी कृष्ण बहादुर खुलाल खानीखोला गाउँपालिकाकै पूर्वअध्यक्ष हुन् ।
त्यसैगरी विद्यालयका पूर्व विद्यार्थी डा. लोकबहादुर लोप्चन अहिले भाषा आयोगका का.मुु. सचिव छन् । विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी अहिले सरकारी सेवाका विभिन्न स्तर, सुरक्षा निकायदेखि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
उत्कृष्ट कार्यक्रम, विशिष्ट अतिथिहरूको उपस्थिति
हीरकीय वर्षको अवसरमा आयोजित समारोहका प्रमुख अतिथि पूर्वराज्यमन्त्री सूर्यमान दोङ रहेका थिए । कार्यक्रामलाई सम्बोधन गर्दै पूर्वमन्त्री दोङले जनविकासलाई क्याम्पसको रुपमा स्तरोन्नती गर्नका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने वचनबद्धता व्यक्त गरे । कार्यक्रममा संविधानसभा सदस्य अक्कलबहादुर थिङ, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, भाषा आयोगका का.मुु. सचिव डा. लोकबहादुर लोप्चन लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।
अतिथिहरूले विद्यालयले कठिन भौगोलिक अवस्थासँग जुझ्दै पनि दीर्घ समयदेखि उत्कृष्ट शैक्षिक सेवा पु¥याउँदै आएको उल्लेख गर्दै यसको निरन्तर विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे।
बहुुमुखी क्याम्पस स्थापनाको लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने अतिथिहरुको जोड थियो ।


बहुुमुुखी क्याम्पस स्थापना गर्न तदर्थ समिति गठन
यसैबीच बहुुमुखी क्याम्पस स्थापना गर्नका लागि तदर्थ समिति गठन भएको छ । वडाध्यक्ष बुद्धिबहादुर स्याङतान संयोजक रहने गरी ७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिको उपसंयोजकमा विव्यस अधयक्ष प्रेम प्रकाश लामा, सदस्यहरुमा राजन अधिकारी, दैवलाल घिसिङ, अविरल जिम्बा, निर्मल लामा छन् । समितिको सदस्य सचिवमा प्रधानाध्यापक देश बहादुर वाईबा छन् ।
यसैबीच बहुुमुुखी क्याम्पस स्थापनार्थ सल्लाहकार समिति तथा संरक्षक समेत गठन भएको छ । जसको सरंक्षकमा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा छन् । त्यस्तै सल्लाहकार सदस्यमा डा. लोक बहादुर लोप्चन, ओम प्रकाश वाईबा, बल बहादुर नेपाली, उमेश हुँमागाई, भवनाथ आचार्य, कृष्ण बहादुर खुलाल, बुद्ध लोप्चन, अक्कल बहादुर थिङ र सागर लामा छन् ।
२०८२ माघसम्म अक्षयकोष खडा गर्ने, २०८३ वैशाखमा दर्ता र सम्बन्धन लिने
यसैबीच विद्यालय व्यवस्थापन समितिले वार्षिकोत्सवकै अवसरमा जनविकास माध्यमिक विद्यालयलाई निकट भविष्यमै क्याम्पसको रूपमा विस्तार गर्ने महत्वाकांक्षी योजनालाई अन्तिम रुप दिने तयारी गरेको छ ।
यस क्रममा अक्षयकोष खडा गर्नका लागि विद्यालयले २०८२ साल माघ मसान्तसम्म आर्थिक संकलन गर्ने भएको छ । बहुुमुखी क्याम्पस स्थापनाका लागि सबैलाई सहयोगका लागि प्रअ देशबहादुर वाईबाले अपिल गरेका छन् ।
त्यस्तै २०८३ साल वैशाख महिनाभित्र बहुुमुखी क्याम्पस स्थापनाका लागि दर्ता तथा सम्बन्धन प्राप्त गर्ने योजना समेत सार्वजनिक गरेको छ ।
सांस्कृतिक कार्यक्रम र सम्मान ग्रहण
वार्षिकोत्सव कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय पहिचान झल्काउने नृत्य–गीत, विद्यार्थी प्रतिभा प्रदर्शन तथा विद्यालयप्रति योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान वितरणसहित सम्पन्न भएको थियो ।
पूर्वविद्यार्थीहरूले विद्यालयसँगको स्मरणीय अनुभव बाँड्दै यसले आफूहरूको जीवन र करियर निर्माणमा ठूलो भूमिका खेलेको बताए । अभिभावकहरूले विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तर वृद्धि, सूचना–प्रविधिको प्रयोग तथा प्राविधिक शिक्षामा दिएको जोडको प्रशंसा गरे ।








