बडा दशैंको प्रारम्भसँगै मिथिलामा “मिथिलाको सान, मैथिलीको पहिचान” झिझियाँ लोकनृत्य सुरु भएको छ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका–५, गुदरी बजारस्थित दुर्गा मन्दिर प्राङ्गणमा श्रीश्री १०८ श्री नवरात्री महोत्सव मेला समिति द्वारा आयोजना गरिएको झिझियाँ नृत्य प्रतियोगिता नवरात्री अर्थात् घटस्थापनादेखि सुरु भएको हो।
परम्परागत संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न समुदायका युवतीहरूको उत्साहजनक सहभागिता देखिएको छ। सहभागी समूहहरूले देवी दुर्गाप्रतिको भक्ति र मैथिली सांस्कृतिक परम्परालाई उजागर गरेका थिए। उत्कृष्ट प्रस्तुति दिने समूहलाई समितिले पुरस्कार तथा सम्मान प्रदान गर्ने बताइएको छ।
झिझियाँ फेस्टिभलको इतिहास
सिरहा सदरमुकाममा झिझियाँ फेस्टिभलको पहिलो शृङ्खला सन् २०१३ मा आयोजना भएको थियो। सन् २०१६ सम्म हरेक वर्ष नवरात्रको अवसरमा प्रतियोगितामूलक रूपमा यसको निरन्तरता दिइयो। अहिले सिरहाका गाउँपालिका तथा नगरपालिका मात्र नभई मिथिला क्षेत्रका विभिन्न जिल्लामा पनि झिझियाँ प्रतियोगिता फेस्टिभलका रूपमा आयोजना हुँदै आएको छ।


झिझियाँको धार्मिक र सांस्कृतिक महत्त्व
कलश यात्रा अर्थात घटस्थापनाको राति ९ बजेबाट झिझियाँ प्रतियोगिता सुरु हुने परम्परा छ। सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लामा झिझियाँ नृत्य प्रचलित छ।
यो कुनै जाति विशेषसँग मात्र सम्बन्धित नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य मानिन्छ। बोक्सीको आँखा नलागोस् भन्ने विश्वासमा धामीद्वारा मन्त्रसहित “छेकबार” गरी नृत्य सुरु गरिन्छ। मन्त्रिएपछि महिलाहरू टाउकामा आगो बलिरहेको घैँटो राखेर बिना हातको सहारामा नाच्दै ब्रह्मस्थानमा पुग्छन्। त्यहाँ डीहिवारको पूजा गरेर झिझियाँको औपचारिक सुरुवात हुन्छ।
मिथिला संस्कृतिका जानकारका अनुसार यो नृत्य सातौँ शताब्दीदेखि प्रचलनमा आएको हो। तर पछिल्लो समय यसको मौलिकता हराउँदै गएको भन्ने चिन्ता पनि स्थानीयले व्यक्त गरेका छन्।
नवरात्री मेलामा रौनक
मिर्चैयामा घटस्थापनादेखि नै मेला सुरु भई सप्तमीदेखि एकादशीसम्म लाग्ने गर्दछ। अष्टमीको दिन बोकाबली प्रदान गर्ने परम्परा रहेको छ। स्थानीय विश्वासअनुसार नवदुर्गाको पूजापाठ र भाकलले मनोकामना पूरा हुने बताइन्छ।
युवानेता तथा समाजसेवी दिनेश साहका अनुसार, “झिझियाँ प्रतियोगिता मात्र होइन, मैथिली सांस्कृतिक झल्काउने विविध कार्यक्रमहरूले पनि मेलाको आकर्षण बढाएको छ।”
आयोजक समितिका अनुसार मेलामा झिझियाँ प्रतियोगिता, मैथिली सांस्कृतिक प्रस्तुति तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू रहनेछन्








