नेपालको राजनीतिक यथार्थ यतिबेला ‘डरलाग्दो सत्य’ बनेर आम नागरिक सामु प्रकट भएको छ, जसले देशको ‘समृद्धि’ को नारामाथि ‘ठूलो प्रश्नचिन्ह’ खडा गरेको छ! ‘चुनाव’ आउँदा नेताहरूको मुख देखिने, ‘भाषण’ सुनिने र ‘आश्वासनका भारी’ बाँडिने गरे पनि, यो देश ‘नेताले होइन’, ‘ब्यूरोक्रेसी’ (कर्मचारीतन्त्र) र ‘कर्पोरेट दलाल गठबन्धन’ ले चलाएको ‘कटु सत्य’ अब छताछुल्ल भएको छ। नेता त ती ‘शक्ति संरचना’ का ‘कठपुतली’ मात्रै बनेका छन्, जसले जनताको ‘आशा’ र ‘भविष्य’ माथि ‘खेलवाड’ गरिरहेका छन्!
आमतौरमा ‘भ्रष्टाचार’ को मुख्य कारक ‘नेता’ लाई भनिन्छ। तर, जब देशको शासन प्रणालीभित्र छिर्छौं, त्यहाँ ‘नेता’ भन्दा अगाडि बस्ने, निर्णयलाई मोड्ने, र फाइलहरूलाई ‘सेटिङ’ गर्ने ‘असली सत्तावान संरचना’ देखिन्छ – त्यो हो ‘स्थायी कर्मचारीतन्त्र’। उनीहरूकै हातमा ‘बजेटको साँचो’, ‘निर्णयको दिशा’, र ‘प्रशासनिक सत्ता’ केन्द्रित छ। लेखक डी.एस. ‘संघर्ष’ ले हालै देशको पूर्वी भू–भागका ७/८ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूमा गरेको भ्रमणले यो ‘भयानक तस्बिर’ लाई अझ स्पष्ट पारेको छ। उनले देखे, “जनप्रतिनिधिहरू आफ्नै पालिकामा पनि असहाय थिए। कर्मचारीहरूले लाज नमानिकन खुलेआम गर्वसाथ भन्दै थिए – ‘जनप्रतिनिधि त पाँच वर्षको पाहुना हो, फेरिन्छ। तर हामी त स्थायी छौं, काम हाम्रो तरिकाले हुन्छ।'” यसरी उनीहरूले ‘खुला घोषणामार्फत’ सत्ता आफैंले चलाइरहेको प्रमाणित गरिरहेका छन्!
हो, नेताहरू पनि कम छैनन्। चुनावको बेला गाउँ पस्छन्, झूटको भारी बोकेर जनतालाई समृद्धिका सपना’ देखाउँछन् । जनताको जीवन बदल्ने, गाउँमा विकास ल्याउने, सेवा सुविधा पुर्याउने ललिपप बाँड्छन्। तर चुनाव जितेपछि शहर छिर्छन् र गाउँको पीडा, वाचा, र सपना लेखिएको डायरी रद्दीको टोकरीमा मिल्काइन्छ।
त्यसपछि ती ‘प्रतिनिधिहरू’ जनप्रतिनिधि होइन, “सहमति प्रतिनिधि” बन्छन्। ब्यूरोक्रेसीसँग ‘सेटिङ’ कसरी गर्ने, बजेट कहाँ अल्झाउने र कहाँ खोलेर ‘कति कमिशन खाने’, कुन फाइलमा ‘कति घुस उठाउने’, र अझ ‘भयावह’ त, ‘सुन तस्करी’ र ‘मानव तस्करी’ को ‘भागबन्डा’ कसरी मिलाउने – यही प्राथमिकतामा लाग्छन्। गाउँमा जनताको आँसु सुक्छ, नेता भने ‘सिण्डिकेट’ को साथमा गाडी, बंगला, र ‘अकूत सम्पत्ति’ जोड्दै जान्छन्।अझ दुःखद त के छ भने — देशका नीति बनाउनेहरू आज पनि ‘पुरानै सोच’, ‘पुरानै शैली’ र ‘परम्परागत सिद्धान्त’ बोकेर बसेका छन्। तीमध्ये धेरैजसो ७० वर्ष नाघिसकेका छन्। “शरीर थाकिसकेको, आँखा धमिलो, कान गम्भीर, हिड्न सक्दैनन्, टॉयलेटसम्म एक्लै जान सक्दैनन्।” तर, उनैलाई ‘प्रधानमन्त्री’, ‘गृहमन्त्री’, ‘विदेशमन्त्री’ बनिनुपर्छ। जुन उमेरमा उनीहरू ‘सल्लाहकार’ भएर नयाँ पुस्तालाई स्थान दिनुपर्ने हो, उनै आफैं ‘सत्तामा झुण्डिएका’ छन्। हिजोका शासकहरूको पालादेखि ‘जुका’ झैं देशको छातिमा टाँसिएकाहरू नै आज पनि सिंहदरबारको सिंहासनमा बसिरहेका छन्।
यिनीहरूको सोच, दृष्टिकोण र भिजनले देश बन्ने कल्पना गर्नु, ‘बालुवामा पानी खन्याउनुजस्तै’ हो। जब देशको निर्णय शक्ति थाकिसकेको शरीर र बन्द सोच भएका पात्रहरूमा सीमित हुन्छ, तब देशको गति सुस्त, दिशाहीन र बेकामे हुन्छ।यसैबीच, दिनदिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौं युवाहरू ‘देश छोडिरहेका’ छन्। कोही कतार, कोही दुबई, कोही मलेसिया, कोही बहराइन — देश छोड्नु उनीहरूको ‘रहर’ होइन, ‘बाध्यता’ हो। बुबाआमाको पेट पाल्न, छोराछोरीको पढाइ धान्न, आफूलाई बचाउन विदेशको श्रम बजार रोज्नु परेको छ। यहाँ ‘रोजगारी’ छैन, सरकार आफैं ‘मानव तस्करी’ मा मुछिएको छ। ‘भ्रष्टाचार’ राज्यको ‘चरित्र’ बनेको छ।
देश ‘रोइरहेको’ छ। तलदेखि माथिसम्म बेथिति छ। जसले बोल्न खोज्छ, उसमाथि ‘मुद्दा हालिन्छ’, ‘जेल पठाइन्छ’। छोराछोरीलाई पढाएर देशमै केही गर्ने सोच्यो भने, ‘अवसर नै छैन’। जापान, अमेरिका, अस्ट्रेलिया पढ्न गएका युवाहरूको अन्तिम गन्तव्य पनि ‘प्रवास’ बन्न पुगेको छ।
जबसम्म यस्तो अवस्था रहन्छ, तबसम्म हामी केवल “समृद्ध नेपाल, सुखी नेपाली” को नारा लगाइरहनेछौं — तर त्यो नारा साँचो भएर जीवनमा उत्रनेछैन। किनभने देश चलाउनेहरू पुरानै सोच, गल्ती नदोहोर्याउने प्रतिबद्धता बिना, कुर्सीमै चिप्लिएका छन्।


