काठमाडौं । तामाङ समुदायको भाषा, संस्कार र संस्कृति झल्काउने चलचित्र ‘ए ङाला ह्राङबा माया’ को विशेष शो नेपाल चलचित्र विकास बोर्डको हलमा भव्य रूपमा सम्पन्न भएको छ ।
चलचित्रका नायक तथा निर्देशक हुत्त संजय लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता अना लामा प्रमुख अतिथि थिए भने तामाङ कलाकार संघका अध्यक्ष एवम् बरिष्ठ गायक तथा संगीतकार विशाल काल्तन, तामाङ चलचित्र संघका अध्यक्ष दीपक लामा, तामाङ चलचित्रका महानायक एवम् निर्देशक अमिर दोङ, संघको बागमती प्रदेश अध्यक्ष दावा फिन्जो तामाङ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अना लामाले तामाङ चलचित्रहरूलाई राज्यले हेर्ने दृष्टिकोण अझै पनि कमजोर रहेको भन्दै गुनासो गरे । “तामाङ चलचित्र केवल मनोरञ्जनको साधन होइन, यसले हाम्रो भाषा, संस्कृति र पहिचान जोगाउन ठूलो भूमिका खेलिरहेको छ,” उनले भने ।
चलचित्रका निर्देशक तथा नायक हुत्त संजय लामाले यो फिल्म निर्माणको यात्रा निकै संघर्षपूर्ण भएको अनुभव सुनाउँदै दर्शकले दिएको मायाप्रति आभार प्रकट गरे । “फिल्म बनाउन धेरै चुनौती थिए, तर दर्शकको माया पाउँदा सबै थकान हरायो,” उनको भनाइ थियो ।
त्यसैगरि तामाङ चलचित्र संघका अध्यक्ष दीपक लामाले तामाङ चलचित्रभित्र भूगोलको आधारमा मनमुटाव रहेको भन्दै नुवाकोट र काभ्रे क्षेत्रका कलाकारबीच आपसी सहयोगको कमी रहेको गुनासो गरे । उनले केही समयअघि एक कार्यक्रममा पत्रकारले सोधेको प्रश्नमा चलचित्र संघका उपाध्यक्ष तथा नायिका सुनिता लुङ्बाले अग्रजहरुको नाम नआएको विषयमा समेत कडा आलोचना गर्दै भने, “पत्रकारले प्रश्न गर्दा ‘थाहा छैन’ भन्नु हुँदैन, बोल्न चाहन्न भने हुन्छ, नत्र यो अग्रजहरूको अपमान हो ।”
उनको उक्त टिप्पणीमाथि कार्यक्रम सञ्चालिका समेत रहेकी नायिका सुनिता लुङ्बाले जवाफ दिँदै भनिन्, “उहाँको मन्तव्यमा “मनतव्य कम रिस र डाहा बढी झल्कियो”। यस्ता व्यक्तिगत मनोभावना सार्वजनिक कार्यक्रममा व्यक्त गर्नु कलाकारिता क्षेत्रको हितमा हुँदैन ।” उनले उक्त प्रतिक्रिया दिँदा हलमा केही समय मौनता छाएको थियो ।
कार्यक्रममा बागमती प्रदेश तामाङ चलचित्र संघका अध्यक्ष दावा फिन्जो तामाङले पनि तामाङ चलचित्र क्षेत्रमा एकताको खाँचो औंल्याउँदै कलाकारहरूबीचको द्वन्द्व अन्त्य गर्नुपर्नेमा जोड दिए । “पत्रकार र कलाकार एक सिक्काका दुई पाटा हुन्, दुवैले एकअर्कालाई स्वीकार गरेर अघि बढ्न सके तामाङ समुदाय हरेक क्षेत्रमा अगाडि बढ्छ,” उनले भने ।
विशाल काल्तनले तामाङ चलचित्रहरू च्यारिटी शोमा मात्रै सीमित नरही नेपाली चलचित्रसरह हलहरूमै व्यावसायिक प्रदर्शन गर्नुपर्ने सुझाव दिए । “हामी आफैँले हाम्रो चलचित्रको कदर नगर्दासम्म बाहिर कसैले पनि गम्भीरतापूर्वक लिँदैन,” उनले जोड दिए ।
‘ए ङाला ह्राङबा माया’ बहुविवाहजस्तो सामाजिक विषयमा आधारित चलचित्र हो, जसले समाजको यथार्थ चित्रण गर्दै सशक्त कथा, सशक्त अभिनय, सशक्त निर्देशन र सशक्त प्रविधि पस्किएको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । पहिलो र दोस्रो शोमा हल खचाखच दर्शकले भरिएको थियो भने चलचित्रको गीत-संगीत, सम्पादन र समग्र प्रस्तुति दर्शकले अत्यन्तै रुचाएको छ ।
कार्यक्रममा तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।






