काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक युवा संगठन वाइसिएल नेपालले ‘श्रम तथा उत्पादनमा वाइसिएल’ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने भएको छ। संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भर्चुअल माध्यमबाट निर्णय लिँदै असार १७ र १८ गते भौतिकरूपमा बसेको पदाधिकारी बैठकका निर्णयहरू अनुमोदन गर्दै आगामी कार्यदिशा तय गरेको हो।
साउन १ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा अभियानको औपचारिक उद्घाटन हुने वाइसिएलले जनाएको छ। बैठकमा पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले सम्बोधन गर्दै संगठनमा एकता र निर्णयको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याए। वाइसिएल अध्यक्ष पुष्प ओलीले विपद् व्यवस्थापनलाई संगठनको प्रमुख कार्यसूची बनाइएको जानकारी दिँदै ‘विपद् व्यवस्थापन एसटीएफ’ गठन गरिएको बताए।
वाइसिएलले कृषि, उद्योग र डिजिटल व्यापारका क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादनसँग जोडिएको कार्यक्रम अघि बढाउने तयारी गरेको छ। साथै, वैदेशिक रोजगारीमा हुने ठगी, सरकारी कार्यालयमा देखिने ढिलासुस्ती, निर्माणाधीन सरकारी योजनामा देखिएको भ्रष्टाचारजस्ता विषयहरूमा प्रतिरोध अभियान सञ्चालन गरिनेछ। यस्तै, भाद्रपछि १६–२५ वर्ष उमेर समूह लक्षित गरी ‘पोलिटिकल युथ कन्सर्ट’ आयोजना गर्ने र कात्तिक १७ मा हुने उपनिर्वाचनको तयारीमा जुट्ने योजना पनि अघि सारिएको छ।
वाइसिएलले सबै तहका कार्यकर्ताको मूल्यांकन चार्ट तयार पार्ने र संगठनभित्रका विभागलाई थप चुस्त, छरितो र कामकाजी बनाउँदै केन्द्रको अनुमोदनमा कार्यक्रम लागू गर्ने निर्णय गरेको छ।
वाइसिएलको इतिहासलाई नियाल्दा, जनयुद्धपछिको संक्रमणकालमा युवा संगठनको रूपमा संगठनले उल्लेखनीय भूमिका खेलेको थियो। त्यही समयको अनुभव बोकेर अब वाइसिएल नयाँ युगको उत्पादनशील, उत्तरदायी र परिवर्तनशील अभियानमा उत्रिन लागेको देखिन्छ। ‘श्रम, उत्पादन र प्रतिरोध’ लाई मूल मार्गदिशा बनाउँदै वाइसिएलले युवालाई राष्ट्रनिर्माणतर्फ डोर्याउने अपेक्षा गरिएको छ।




