अप्प दीपो भव :
बुद्ध भन्नासाथ अधिकांश मानीसहरूले व्यक्तिविशेषको नामको रूपमा बुझ्ने गर्छन् । सामान्यतया बुद्ध भनेका इसापूर्व ५६३ मा मायादेवीको कोखबाट लुम्बिनीमा जन्मेका शाक्यमुनी गौतम बुद्ध मात्रै हुन् भन्ने गहिरो बुझाई छ तर,बुद्धको सम्बन्धमा यो निकै संकुचित र सन्त्रीप्त बुझाइ हो।
यथार्थमा बुद्ध भनेको कुनै एकजना ब्यक्तिबिशेषको नाम नभई ज्ञान र प्रज्ञाले प्रदीप्त ब्यक्तित्वको विशेषणात्मक ओहदा वा दर्जा मात्र हो। बौद्ध दर्शन भन्छ, सर्वोच्च तहको प्रज्ञावान् हरेक प्राणी (सत्व) स्वयं बुद्ध हो। यसरी हेर्दा, बुद्ध ग्रन्थहरूमा हालसम्म २८ बुद्धहरूको उल्लेख पाईन्छ। २८ बुद्धहरू मध्ये तण्हंकर बुद्धलाई प्रथम बुद्धको रूपमा तथा शाक्यमुनी गौतम बुद्ध चाहिं सबैभन्दा पछिल्ला बुद्धको रूपमा मानिन्छन् ।
गौतम बुद्धभन्दा अघि अनेकौं बुद्धहरू भएजस्तै,भविष्यमा पनि अन्य बुद्धहरू आउनेछन् । बुद्धको यो परम्परा चलि नै रहनेछ । गौतम बुद्धपछि निकट भविष्यमा आउने मैत्रेय बुद्ध हुन् भनेर अमिताभ शुत्र तथा सद्धर्म पुण्डरिक सुत्र जस्ता बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ,त्यसैले बौद्धहरू बुद्धको पूजा गर्दा अतीत,वर्तमान र भविष्य गरी समुच्च रूपमा सबैको स्मरण गर्छन् । आज बुद्ध पुर्णिमाको पावन अवसरमा शाक्यमुनी गौतम बुद्धद्वारा प्रदत्त कालजयी बिचारहरूको संक्षिप्त परिचर्चा गर्ने जमर्को गरेको छु ।
बुद्ध बाहेकका अन्य सरा आध्यात्मिक अगुवाहरू,धर्महरू तथा धर्मशास्त्रहरू ‘ईशभयबाद’ (Theophobia)मा आधारित छन् भने, बौद्ध दर्शन मात्र एकमात्र यस्तो दर्शन हो जो ईशभयबादलाई सम्पूर्ण रूपमा अस्विकार गर्दछ।
अन्य सबै धर्म सम्प्रदायमा भगवानको भय देखाईन्छ। ईश्वरीय दण्ड (divine punishment) को त्राश सृजना गरेर जनमानसमा आफ्नो कुरो लाद्ने र मानीसलाई भक्त बनाएर सम्पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्ने अभ्यास छ।ईसाई,ईस्लाम,हिन्दु,जैन,शिख,बहाई तथा यहुदी जस्ता सबै धर्म परम्पराहरू नीरपेक्ष रूपमा उपदेशात्मक छन् । यी धर्मका धर्मगुरूहरू र धर्मग्रन्थले दिने उपदेश उपर कसैले कुनैपनी प्रश्न उठाउनु र सन्देह गर्नु स्वयंशिद्ध रूपमै ईशनिन्दा (Blasphemy) मानिन्छ। पाप ठानिन्छ। तर यसको ठिक बिपरित,बुद्धको शिक्षा हरेक चिजमा प्रश्न गर्न,सन्देह गर्न र सत्यलाई आफ्नो चेतनाको आलोकमा ग्रहण गर्न प्रोत्साहित गर्दछ।
अन्य धर्मग्रन्थ र धर्मगुरूहरू मानीसमा आफ्नो बिचार जवरजस्त लाद्ने र आफ्नो धारणाहरूको बन्धक बनाउने प्रकारका छन् भने बुद्धको शिक्षा स्व-अनुभवद्वारा सत्यको आत्मबोध गर्न प्रोत्साहन गर्दछ। धारणाको बन्दी बनेर संक्षिप्त र सन्त्रीप्त जीवन बाँच्नबाट रोक्दछ। त्यसैले बौद्ध दर्शन परम्परालाई सर्वाधिक गतिशील र बैज्ञानिक दर्शन मानिन्छ।बुद्धको समग्र शिक्षा मूलतः हरेक मानीसको चेतनाको सर्वोच्च उन्नयन,मानव हृदयमा करूणाभाव र क्षमाशिलताको बिकास तथा मानव जातीको दुखको निवारणमा केन्द्रीत छ।दु:ख बुद्ध दर्शनले औंल्याएको मानव जीवनको एक आधारभूत क्रुर सत्य हो। जीवनमा मृत्युसत्यको गहन अनुभुती र आत्मवोध नगरी जीवनसत्यको पहिचान गर्न नसकिए जस्तै,दु:खसत्यको गहन वोध नगरी सुखसत्यको परमानुभुती पनि गर्न सकिंदैन ।
दुखको सार्वभौमिकतालाई बुझ्नु एउटा कुरा हो । यो अत्यावश्यक छ । दुखलाई बुझेपछी त्यसको कारण र निवारण तर्फ केन्द्रीत हुनु आवश्यक हुन्छ तर हामी हाम्रा जीवनमा दु:खको बारेमा मात्र सोच्न थाल्छौं,त्यहि बिन्दुबाट अतिरिक्त दुखहरू स्वत: पैदा हुन थाल्छन् । बुद्धको मतमा, यदि संसारमा दु:ख छ भने,दुखका कारणहरू छन् अनि त्यसका निवारणहरू पनि छन् तर हामी हाम्रा दुखको बारेमा मात्र सोचिरहने बानी निर्माण गर्दछौं जसले हाम्रो जीवनमा उपलब्ध हुनुपर्ने सुखको मार्ग नै अवरूद्ध गरिदिन्छ।
बुद्ध दर्शन आफैंमा एक बिराट,बिस्तृत र विहंगम दर्शन हो। बुद्ध दर्शनको सतत् अनुगामी हुनुको नाताले मेरो बुझाईमा बुद्धको सर्वाधिक प्रशिद्ध र प्रेरणादायी सूत्रवाक्य हो “अप्प दीपो भव:” ।
बुद्ध त्यसबेला आफ्ना अनुयायीहरूसंग कुशीनगरमा थिए,बुद्ध अचानक बिरामी परे । स्वास्थ्य निरन्तर कमजोर हुँदै गयो। बुद्धका अनुयायी भिक्षुहरूमा चिन्ता र निराशा बढ्न थाल्यो। बुद्धका सर्वाधिक निकट रहेर कर्म गर्ने भिक्षु आनन्दले भने, ‘हे प्रभु ! मेरो मनमा अपार भय उत्पन्न भइरहेको छ। भयको कारण हो तपाईंको अनुपस्थितीको कल्पना। अहिले तपाई हामीहरूको बीचमा हुनुहुन्छ तर एकदिन जब तपाईंले हामीहरूलाई सदाको लागि छोडेर जानुहुनेछ,त्यसपछि हामीलाई कसले मार्ग देखाउला?हामीलाई तपाईंले अन्तिम ज्ञान दिन बाँकी छ। हामीले अझै धेरै सुन्न बाँकी छ । हामीले अझै धेरै सिक्न बाँकी छ। जब तपाईं हामीमाझ रहनुहुने छैन, हाम्रो मार्गदर्शन कसले गर्ला ?
आफ्नो प्यारो भिक्षु आनन्दको यस्तो रोदन सुनेर बुद्ध अवाक् भए। एक क्षण त बुद्धलाई यस्तो लाग्यो कि यतिका बर्षसम्म आनन्द मसंगै रहेर पनि जीवन-सत्व बुझ्न किन असमर्थ भए ! तर तत्काल बुद्धको विशाल हृदयमा करूणाभावको बाढी बहन थाल्यो।बुद्धले बुझे। आनन्द आशक्तिमा फँस्न पुगे भन्ने कुरा बुद्धले तत्कालै बुझिहाले। आनन्दलाई करूणापूर्वक सम्बोधन गर्दै भने ‘हे आनन्द ! मैले अब भन्नुपर्ने केही बाँकी छ जस्तो लाग्दैन। मेरो अन्तिम समय आएपछि भनौंला भनेर बाँकी राखेको पनि केही छैन ।
तर मैले आज तिमीहरूलाई भन्नैपर्छ कोहि कसैको गुरु हुन सक्दैन,कोहि कसैको शरणदाता पनि हुन सक्दैन। सारा चिज तिमीभित्रै छ तर आफू अडम्बर र अहंकारमुक्त हुनसक्यौ भने मात्र आफू भित्रको त्यो सारा खजाना प्राप्त गर्न सक्छौ।म जान्ने हुँ,म ज्ञानी हुँ,म बिशिस्ट हुँ,म सर्वोकृष्ट हुँ भन्ने आत्ममुग्धतामा फसेनौ भने तिमी साच्चै बुद्ध बन्न सक्छौ। त्यसैले म मेरा सबै अनुयायीहरूलाई ‘अप्प दीपो भव:” भन्न चाहन्छु।
अप्प दीपो भव: अर्थात आफ्नो प्रकाश तिमी स्वयं आफैं बन। कतिदिन अरूले तिमीलाई मार्ग देखाई रहन सक्छ? कतिदिन सम्म कसैले तिमीलाई बोकेर हिंडिरहन सक्छ? कति दिनसम्म कसैले तिमीलाई समश्याको समाधान दिईरहन सक्छ?बुद्धले उपस्थीत भिक्षुहरूप्रती परिलक्षित हुँदै भन्नुभयो -“तिमी आफैं भित्र बुद्धको निवास छ। तिमी आफैंभित्र धर्मको वास छ । तिमी आफैंभित्र संघको बास छ । प्रत्येक मनुष्य स्वयं बुद्ध,धर्म र संघको संगम स्वरूप हो । तिमीभित्रको बुद्धलाई तिमी स्वयंले चिन्न सक्नु पर्दछ।
अप्प दीपो भव: अर्थात तिमी स्वयं एक दीपक हौ,तिमी स्वयं एक ज्योतिर्पूञ्ज हौ। तिमीलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्याउन बलिरहेको दियो तिमीभित्रै छ । तिमीले कसैको वैशाखीको सहारा लिनु जरूरी छैन । आफूभित्र नियालेर हेर त ! आफूभित्रको दीपकको ज्योतिलाई अवलोकन गरेर हेर त ! तिमी आफैं पूर्ण छौ,तिमी आफैंमा सम्पूर्ण छौ। तर यस्तो सम्पूर्णताको अहंकार चाहिँ लेश मात्र पनि तिमीमा उत्पन्न हुनुहुँदैन।
अप्प दीपो भव : अर्थात यस जगतमा, कोही कसैको अटल र स्थायी मार्गदर्शक हुन सक्दैन । आफ्नो प्रयत्नबाट आफैंलाई पूर्ण बनाउनुपर्छ। आनन्द ! अप्प दीपो भव: ।सर्वसम्मत नभएपनी कतिपयको मतमा अप्प दीपो भव (Be A Light Unto Yourself) नै शिद्धार्थ गौतम बुद्धको अन्तिम वाक्य र अन्तिम उपदेश हो।
मदनकुमार अधिकारी
धनुषाधाम-४,धनुषा (हाल काठमाडौ )


