आइजीपी थापाले दिनैपर्ने अनिवार्य विषय ‘परीक्षाका प्रश्नपत्र’

अनिस तामाङ १९ बैशाख २०८२, शुक्रबार

कर्मबाट नै आफूलाई काबिल पुष्टि गरिसकेका दिपक थापा यतिबेला नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) छन् । कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेर अब्बलता सावित गर्दै आएका आइजीपी थापाले नेपाल प्रहरीलाई कसरी परिचलान गर्लान् ? सिंगो संगठनको कमाण्ड कसरी गर्लान् ? सबैको चासो र चिन्ताको प्रश्न छ ।

फिल्डका कुनै पनि जिम्मेवारीमा नचुकेका आइजीपी थापा कमाण्डमा चुक्लान् भन्ने डर मान्नुपर्ने त्यति धेरै कारण र अवस्था छैन । तर, केही गैरजिम्मेवार प्रहरी अफिसरहरुको गैरजिम्मेवारीपनले निरन्तरता पाउँछ कि यसमा पूर्णविराम लाग्छ ? स्वार्थका लागि जे पनि गर्न पछि नहट्ने केही स्वार्थी प्रहरी अफिसरहरुको कारण खस्किँदो साख जोगाउन आइजीपी थापा सफल होलान् या नहोलान् ? वास्तवमा उनको परीक्षाको प्रश्नपत्र यही हो ।

‘सत्य सेवा सुरक्षणम्’ अर्थात् सत्य सेवा सुरक्षा नै प्रहरीको मूल मन्त्र । यही मान्यताको जगमा जन्मिएको नेपाल प्रहरीको मनोबल दिनप्रतिदिन घट्दै जाँदा भोलीको दिन प्रहरी संगठन यो भन्दा पनि बढी बदनाम हुने हो कि भन्ने चिन्ता सबैलाई छ । देश भित्रको शान्ति सुरक्षालाई व्यवस्थित गर्ने उद्धेश्यले सन् १९१४ देखि प्रहरी परिचालन गर्न सुरु गरिएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्र शमसेरले विरगन्जको शान्ति सुरक्षाको जिम्मा प्रहरीलाई सुम्पेसँगै सुरु भएको प्रहरीको भूमिका समयसँगै अझै बढी अपरिहार्य र महत्वपूर्ण बन्दै जानुपर्नेमा किन बदनामको दिशामा गइरहेको छ, त्यो खोजको विषय हो ।

चन्द्र शमसेरकै पालामा पुलिस गौश्वारा र चौकीहरु स्थापना गर्ने नीति अघि सारेका थिए । सन् १९१९ मा काठमाण्डौ उपत्यकाको शान्ति सुरक्षाको जिम्मा पनि प्रहरीलाई दिइएको थियो । शान्ति सुरक्षाको जिम्मा सँगै प्रहरी संगठनलाई समाजका विभिन्न घटनाहरुको अनुसन्धान गर्ने, अपराध न्यूनिकरण गर्ने र नागरिकको मौलिक हक अधिकार सुरक्षित गर्ने जिम्मेवारीहरु थपिँदै गए । तर आज प्रहरी र नागरिकको सम्बन्ध ‘जोगी देखेर भैंसी तर्सिने, भैंसी देखेर जोगी तर्सिने स्थिति’मा कसरी पुग्यो, समीक्षाको लागि योभन्दा उपयुक्त समयको प्रतिक्षा गर्नु अब मुर्खता हुन सक्छ ।

भारतको स्कुल पढ्ने केटाकेटीलाई तिम्रो दुश्मन को हो भन्यो भने पाकिस्तान भन्छन् भने पाकिस्तानको केटाकेटीले भारत भन्छन् । कारण त्यहाँ त्यही किसिमको वातावरण छ, अभिभावकले त्यही कुरा ग्रुमिङ गरेको छ तर नेपालमा स्कुल पढ्ने केटाकेटीलाई तिम्रो दुश्मन को हो भनेर सोध्यो भने प्रहरी भन्ने स्थिति छ कारण ‘केही सनकी प्रहरी अफिसरहरु’को कारण नै हो ।

एकजना सामान्य नागरिकले प्रहरीमा कुनै उजुरी वा जाहेरी दर्ता गर्न कुनै पनि दलका नेतृत्वको ‘पावर’ खोज्नुपर्ने बिडम्बना छ । पढ्दा नमीठो लाग्ला, जघन्य अपराधमा संलग्न व्यक्तिको नाममा जाहेरी लिन लिन समेत नेताको दबाब कुर्नुपर्ने अवस्था छ । प्रहरीले विवेक होइन, नेतृत्वको आदेश कुरेको हो कि भन्ने आशंकाले प्रशस्त ठाउँ जमाइरहेको आजको स्थितिमा छ । राष्ट्रका सच्चा सिपाही प्रहरीका पनि आफ्नै दुख छ । इमानदार प्रहरी अफिसर कारबाही वा सरुवाको भागीदार हुनुपर्ने विगतको तीतो यथार्थता हामीसँग छ । जसले इमानदार तरिकाले सत्यको पक्षमा काम गरेको छ त्यस्ता अफिसरहरुको कार्यमुल्याङकन गर्ने निकाय छैन । उनिहरु सधैं काम गरेर जिउँदो सहिद बनेको निकट नजिर छ ।

चैत्र १५ गतेको तिनकुने घट्ना
चैत १५ मा काठमाडौंमा राजावादीले ‘निर्णायक’ प्रदर्शनको घोषणा गरेका थिए  । प्रदर्शनलाई नियन्त्रणमा राख्न बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा प्रहरीको तैनाथी बढाइएको थियो । राजावादीहरू संसद् भवनसम्म आइपुग्ने आकलनका आधारमा सुरक्षा संयन्त्र त्यतातिर बलियो बनाइएको थियो । तर अघि बढ्न नसकेका राजावादीहरूले तीनकुनेमै उत्पात मचाए ।

राजावादीको उन्माद र सुरक्षा संयन्त्रको अलमल र बल प्रयोगले २० जनालाई गोली लाग्यो, २ जनाको ज्यान गयो, १९ जना घाइते भए, ५ जना अझै अस्पतालमा छन् । ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट भयो, ६९ गाडीमा क्षति पुग्यो । यो क्षतिका भुक्तभोगी विभिन्न पक्षका आ–आफ्नै मूल्यांकन छन् ।

राजावादी र उनका कमान्डरको स्वभावको आकलन गरी पूर्वतयारी गरेको भए यो क्षति न्यूनीकरण गर्न सकिन्थ्यो भन्ने सुरक्षा विज्ञहरूको टिप्पणी छ । राजावादीलाई तीनकुनेमा प्रदर्शन गर्न दिइएको थियो । त्यहाँ आउन सक्ने प्रदर्शनकारीको संख्या कति हो, उनीहरूको तयारी के–कस्ता छन् भन्ने कुरा प्रहरीले गम्भीरतापुर्वक नलिदा ठुलो घट्ना हुन पुग्यो । यसको जिम्मेवारी जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारी लिनै पर्छ ।

सडकमा जम्मा भएको भीड तित्तरबित्तर पार्नेदेखि भड्किएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले म्याद गुज्रेका अश्रुग्यास, एसएलआर र इन्सास राइफलमार्फत ८१ जंगी राउन्ड र १ सय ६५ ब्ल्याङ्क राउण्ड फायर गरेको थियो । एसएलआर भनेको अर्धस्वचालित बन्दुक हो। जसमा एकसाथ १८ वटासम्म गोली लोड गरेर ३०० मिटर टाढासम्म प्रहार गर्न सकिन्छ। इन्सास भने एसएलआरभन्दा सानो आकारको आधुनिक अर्धस्वचालित राइफल हो। यी दुवै हतियार युद्धमा प्रयोग हुने हतियार हुन् । यसरी बिना तयारी हचुवाको भरमा भिडलाई तितरबितर गर्ने नाम गैरजिम्मेवारी ढंगले अर्धस्वचालित हतियारको प्रयोगले संगठनको थप बदनाम बनाएका छन् ।

रेशम चौधरी पक्राउ प्रकरण
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी बुधबार पक्राउ परेको घटनाले सर्वोच्चदेखि प्रहरीको इज्जत उदांगो भएको छ । सर्वोच्च अदालतका एकजना सन्कि शाखा अधिकृत महिमानसिंह विष्टले सिंगो प्रहरी संगठनको इज्जत एकै झट्कामा माटोमा मिलाए ।

प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पु¥याइसक्दा पनि सर्वोच्च अदालत प्रशासन उनको पक्राउको कारणबारे अलमलमै थियो । काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले चौधरी पक्राउ गरेर काम देखाउने हतारोमा पुनः एक पटक गम्भीर त्रुटी गरेका छन् । उनको असक्षमताले पटक पटक प्रहरी संगठन बदनाम भएको छ । यसको समिक्षा पक्कै पनि सम्बन्धित निकायले गरेका होलान् ।

अदालतका एक कर्मचारीको सनकलाई प्रहरीले साथ दिदा रेशम चौधरी पक्राउ प्रकरणमा अदालतदेखि प्रहरीसम्मको कार्यशैलीमाथि प्रश्न उठेको छ। सर्वाेच्च अदालतका अधिकृत महिमानसिंह बिष्टले लेखेको फर्जी पत्र आधारमा बुधबार प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर जेल चलान गरेपछि प्रहरी प्रशासन आलोचित बनेको छ।

अधिकृत बिष्ट आफैं सो पत्र लिएर बुधबार बिहान जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका थिए। प्रथम दृष्टिमा शंकास्पद देखिने सो पत्रलाई कार्यान्वायनमा प्रहरी हतारिएको थियो । पत्रमा सर्वाेच्च अदालतले सिधैं डिल्लीबजार कारागारलाई सम्बोधन गरिएको छ । जबकी यस्ता फैसलाको कार्यान्वायनका लागि सर्वाेच्चकै फैसला कार्यान्वायन निर्देशनालयले सामान्यतया जिल्ला अदालतलाई लेख्ने गर्दछ । त्यस्तो पत्रको सामान्य जाँच पनि नगरी काठमाडौं प्रहरीले चौधरीलाई पक्राउ गर्न हतारिएको थियो । त्यो पनि पार्टी एकताको कार्यक्रमबाट चौधरीलाई पक्राउ गरेर सिधैं कारागार पठाइएको थियो । जबकी अदालतको फैसला कार्यान्वायन जिल्ला अदालतबाट हुने गर्दछ । त्यती सामान्य प्रक्रिया समेत प्रहरीले पालना गरेको थिएन । जसकारण काठमाडौं प्रहरीको नेतृत्व समेत विवादमा तानिएको छ ।

अर्काेतर्फ राजनीतिक व्यक्तिको फैसला कार्यान्वायनका लागि प्रहरीले सामान्यतया गृह प्रशासन तथा अदालतसँग समेत समन्वय गर्ने गर्दछ । तर,अदालतमा मुद्दा विचाराधीन भएको अवस्थामा प्रहरीले हतारिएर पक्राउ गरेपछि प्रहरीको कार्यशैलीको सर्वत्र आलोचना भएको छ । सामान्यतया यस्ता घटनामा प्रहरीले गृह मन्त्रालयकै आदेश लिएर मात्र पक्राउ गर्ने गर्दछ ।

प्रहरीले कच्चा कामले चौधरीले गैरकानुनी रुपमा करिब पाँच घन्टा थुनामा बस्नुपर्यो । पछि सर्वाेच्चले नै अर्काे पत्र पठाएपछि उनी डिल्लीबजार कारागारबाट छुटेका थिए। पत्र लेख्ने महिमानसिंहलाई प्रहरीले थुनामा राखेर कारबाही अघि बढाएको छ । उनले टिकापुर घटना पीडितलाई न्याय होस् भनेर आफुले त्यसरी पत्र लेखेको प्रहरीसँग बताएका छन्। उनी यसअघि पनि यस्तै कार्यशैलीका कारण नुवाकोट तथा कञ्चनपुरबाट हटाइएका थिए।

ट्राफिक प्रहरीको दादागिरी
एकसाता अगाडि चार जना ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरी कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियो शेयर गर्दै धेरैले प्रहरीलाई कारबाहीको माग गरेका थिए ।सुन्धारास्थित आकाशे पुलमुनि चार जना ट्राफिक प्रहरी मिलेर एक जना सर्वसाधारण मोटरसाईकल चालकलाई कुटपिट गरेको थियो ।

उक्त प्रकरण सेनालाउन नपाउँदै सर्वसाधारण कुट्ने अर्का ट्राफिक प्रहरीको भीडीओ भाईरल भएको थियो । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटपिट गरेको भीडीओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए थिए । उनका अनुसार भीडीओ कहाँको हो भन्ने खुलिसकेको छैन। यसरी बर्दिको आँडमा ट्राफिक प्रहरीले देखाएको दादागिरीले पक्कै पनि प्रहरी मेरो साथी भन्ने नारा नारामै सिमित भएको छ ।

नयाँ आईजीपी थापालाई चुनौती
प्रतिबद्धता, उत्तरदायित्व, जवाफदेहिता र पारदर्शिता महत्वपूर्ण विषय वस्तु हुन् । सक्षम नेतृत्व सहितको कार्य कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन, परिचालन पनि संगठन प्रमुखको महत्वपूर्ण पक्षभित्र पर्ने कुरा हो । यी सबै कुरामा काबिल व्यक्ति दिपक थापा अहिले नेपाल पहरीको आइजीपीको जिम्मेवारीमा छन् । सामान्य नागरिकदेखि प्रहरी संगठनभित्र रुचाइएका पात्र पनि हुन्, आइजीपी थापा । तर केही खराब आचारण भएका प्रहरी अफिसरहरुको कारण आइजीपी थापा पनि असफल हुने त होइन ? उनका शुभचिन्तकको डर भनेको यही नै हो ।

धेरैलाई दिपक थापा भनेपछि एक सकारात्मक सोच भएको आफ्नो भनाई प्रष्ट राख्ने अर्काका बारेमा धेरै नकारात्मक टिप्पणी नगर्ने प्रखर, स्पष्टवादी, नेतृत्वदायी क्षमता भएका कुशलकर्ताको रुपमा लिइन्छ । कार्यक्षमतामा उत्कृष्टता, अब्बल, राज्य सत्ताका व्यक्ति बिशेषलाई समेत ऐन मौकामा कुत्सित भावना नराखी मुलुक र जनताका पक्षमा सल्लाह सुझाव दिन सक्ने आईजी दिपक थापा सबैतिर लोकप्रिय मात्र छैनन् हाईहाई पनि छन् । तर पछिल्लो समय केही महिना यता लगातार काठमाडौंमा भएको तीन घट्नाले कतै प्रहरी संगठनको खस्किदै गएको साख जोगाउन नसक्ने हो कि भन्ने चर्चा चल्न सुरु भएको छ ।

खासगरी प्रहरीको सरुवा÷बढुवामा अत्याधिक राजनीति हुन्छ । संगठनको साख बढाउन आवश्यक छ । ‘चेन अफ कमाण्ड’मा चल्नुपर्ने प्रहरी संगठन राजनीतिक शक्तिको आडमा चल्न खोज्दा प्रहरीको मानमर्दन हुने गरेको छ । त्यसमा सर्तक रहनु छ । छोटो अवधि भए पनि थापासँग धेरै अपेक्षा गरिएको छ । जो सरकारमा आएपनि अनुचित हिमचिम बढाई फाइदा लिनेहरु बिच होड चल्ने क्रमलाई उनले ब्रेक गर्न सक्लान् ? त्यो भने पर्खनै पर्ने हुन्छ । ढुलमुले तथा अवसरवादी प्रवृत्तिका व्यक्तिलाई निरुत्साहित गरी व्यवसायिक र निष्ठावान प्रहरी अधिकृतहरुलाई छनौट गरी उनीहरुलाई आगामी नेतृत्वमा अगाडि बढाउनु थापालाई उत्तिकै चुनौती छ ।

पछिल्लो समयमा नेपाल प्रहरीमा चुनौतिपूर्ण अवस्थामा फिल्डमा खटिई योगदान गर्ने, उत्कृष्ठ कार्यसम्पादन गर्ने, भौगोलिक तथा सामाजिक क्षेत्रको राम्रो अनुभव प्राप्त निष्ठावान ब्यक्ति बढुवामा पछि परिरहेको तर फिल्ड कमाण्ड तथा जोखिमयुक्त जिम्मेवारीमा जान नरुचाउने र हेडक्वाटरमा बसी टेबल वर्क गर्ने, अध्यायन मननमा बढी समय ब्यतित गर्ने अनि बिभिन्न शक्तिकेन्द्रको आडमा सरुवा बढुवामा लाभ लिने प्रवृति बढ्दै गएको कारण प्रहरी कर्मचारीको मनोबल कमजोर भई फिल्डमा कार्य सम्पादन स्तर खस्कदै गएको महशुस भएको छ ।

यसअघि नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को बडुवामा चर्को राजनीतिक दबाद रहे पनि विवाद रहित बडुवाले आइजिपी थापाको प्रसंसा भइरहेको बेला अब हुने बढुवामा पनि कुनै राजनीतिक दलको झोला बोक्ने र कार्यसम्पादन कमजोर भएका अफिसरहरुको बडुवा नहुने कुरामा आसा गर्न सकिन्छ । संगठनमा गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने परिपाटी विकास गर्न सकेमा छोटो समयका लागि आइजिपी भएका थापाले नेपाल प्रहरीको सांगठनिक इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेख्न कसैले रोक्न सक्नेछैन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *