काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्न शीर्ष तीन प्रमुख राजनीतिक दलका नेताहरूबीच सहमति भएको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको संविधान र गणतन्त्र बचाउन एकताबद्ध भएर अघि बढ्ने सहमति भएको हो।
बैठकपछि प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिएअनुसार, ‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गर्ने तत्वहरूविरुद्ध सचेत रहँदै गणतन्त्र पक्षधर शक्ति एकतावद्ध हुन आवश्यक छ भन्ने समान धारणा बैठकमा बनेको हो।’बालुवाटारमा करिब डेढ घण्टा चलेको बैठकमा गृहमन्त्री रमेश लेखक र संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि सहभागी थिए। बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे गहिरो छलफल भएको थियो। संविधानको कार्यान्वयन, संघीयताको सुदृढीकरण, शान्ति प्रक्रियाको पूर्णता र गणतन्त्रको रक्षा प्राथमिकताका विषय बने।खरेलका अनुसार, ‘संविधान र समावेशीताको रक्षाका लागि उपयुक्त वातावरण बनाउन दलहरूबीच सहकार्य आवश्यक भएको धारणा नेताहरूले राखेका छन्। मुलुकमा स्थायित्व र शान्ति कायम राख्न तीन दलले साझा कार्यदिशामा अघि बढ्ने तयारी गरेका छन्।’
यसअघि विभिन्न विवादित विषयहरूमा राजनीतिक दलहरूबीच मतभेद रहँदै आएको भए पनि संविधानको मर्म र जनआन्दोलनका उपलब्धि जोगाउन सहमति भएको यो छलफललाई विश्लेषकहरूले सकारात्मक संकेतको रूपमा लिएका छन्।