काभ्रे । जिल्लाको बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित योजना तथा कार्यक्रमहरुको समिक्षा एंव प्रगतिको विवरण अर्ध बार्षिक समिक्षा कार्यक्रम गरेको छ ।
सभाहलमा नगर प्रमुख शान्तिरत्न शााक्यको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछानेले गोष्ठीको बारेमा जानकारी गराएका थिए । उनले गत असोज १०–१२ मा गएको बाढी पहिरोका कारणले योजनाहरु अगाडी बढ्न नसकेको र लक्ष्य अनुसारको राजश्व संकलन समेत नभएको जानकारी दिए।
राष्ट्रिय वित्त आयोगले गरेको सम्पादन मुल्याङ्कनमा ७८ अकं प्राप्त गरेको, स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा ९२.५ अंक ल्याएको जानकारी सभामा उपस्थितलाई जनार्ईएको थियो ।
नगरपालिकाले हासिल गरेका उपलब्धिको बारेमा सोही अवसरमा जानकारी गराईएको थियो ।
अन्तर्राष्ट्रिय नगरपालिकाहरूसँग विकास मोडेल तथा सिकाई अनुभव आदानप्रदान गरी मैत्रीपूर्ण सम्बन्ध विस्तार, पूण्यमाता नदि करिडोर निर्माणका लागि सरोकारवाला पक्षहरूसँग छलफल, खानेपानीको दीगो समाधान र प्रभावकारी वितरणको लागि सरोकारवालासँगको छलफल गरी प्रक्रिया अगाडी बढाइएको सोही अवसरमा जानकारी दिईयो । वडा कार्यालय, विद्यालय र आधारभुत स्वास्थ्य संस्थाहरुमा विधुतीय हाजिरी ब्यबस्थापन भएको उपलब्धी सोही अवसरमा सुनाईएको थियो ।
बनेपा नगरपालिकाले यो बर्षको विपद्का कारण क्षति व्यहोरेका ६ परिवारलाई जनही रू. १० हजारका दरले वितरण गरिएको, बाढी पहिरोमा परेका मृतक परिवारलाई ३० हजारका दरले, पूर्ण रूपमा क्षति भएका २१ घरधुरीलाई जनही रु. १० हजार, आंशिक रूपमा क्षति भएका ६ घरधुरीलाई जनही रू. ५ हजारका दरले उपलब्ध गराएको जनाएको छ ।
आ.व.को प्रथम र दोस्रो त्रैमासिकमा ५ हजार ९६ जना लाभग्राहीहरूलाई सामाजिक सुरक्षा स्वरूप जम्मा रू. १० करोड २७ लाख १५ हजार २ सय ३५ प्रदान गरिएको बताएको छ । त्यसै गरी जन्मदर्ता ३ सय ३४, विवाहदर्ता १ सय ८६, बसाइसराई आउने ४० परिवार जाने २८, सम्बन्ध बिच्छेद (पारपाचुके) १७, मृत्यु १६८ र घटनादर्ता ७ सय ७३ रहेको जनाएको छ । कार्यक्रममा विषयगत शाखाहरुको प्रगती शाखा प्रमुखहरुले प्रस्तुत गरेका थिए ।