राजतन्त्र र गणतन्त्र : एक ऐतिहासिक समीक्षा

उज्यालो प्रतिनिधि २५ फाल्गुन २०८१, आईतवार

नेपालको इतिहासमा राजतन्त्रको महत्वपूर्ण स्थान रहेको छ। करिब २४० वर्षसम्म नेपाल शाह वंशीय राजाहरूको हातमा थियो। पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेपछि मुलुकमा निरन्तर राजतन्त्रात्मक शासन चल्यो। तर, यो शासन प्रणाली नेपाली जनताको आकांक्षा अनुरूप थिएन। जनताको सक्रिय सहभागिता विना चलिरहेको यो प्रणालीलाई धेरैले सामन्ती शासनका रूपमा व्याख्या गरे।

राजतन्त्रको समयमा शासन सत्तामा राजा नै सर्वोच्च थिए। मुलुकको निर्णय लिने प्रमुख व्यक्ति राजा मात्र हुन्थे, जसले आफ्नै इच्छाअनुसार नीति निर्माण गर्थे। देशमा केही पूर्वाधार विकास भए पनि ती जनता लक्षित नभई शासक वर्ग केन्द्रित थिए। जनताले समान अवसर पाउने स्थिति थिएन। समाजमा जातीय विभेद, महिला दमन, गरिबी र अशिक्षा कायम रह्यो। जनताको स्वतन्त्रता सीमित थियो।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनले नेपालमा परिवर्तन ल्याउने कोसिस गर्‍यो, तर २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई विस्थापित गर्दै पुनः निरंकुश राजतन्त्र लागू गरे। ३० वर्षसम्म चलेको पञ्चायती व्यवस्थामा जनताको आवाज दबाइयो। अन्ततः जनताको संघर्षकै कारण २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापित भयो।

तर, बहुदलीय प्रजातन्त्र आएपछि पनि नेपाली जनताले समानता, समावेशिता र विकासको महसुस गर्न पाएनन्। यही असन्तुष्टिको बीच २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु भयो, जसले नेपाललाई ठुलो परिवर्तनको मोडमा ल्याइदियो। दशक लामो संघर्षपछि २०६२/६३ को जनआन्दोलन सफल भयो र देशले गणतन्त्रलाई अँगाल्यो। २०६५ सालमा राजतन्त्रको औपचारिक अन्त्य हुँदै नेपाल लोकतान्त्रिक संघीय गणतन्त्रमा प्रवेश गर्‍यो।

गणतन्त्रले देशलाई नयाँ संरचनामा ढालेको छ। समानता, समावेशिता, महिला, दलित, आदिवासी जनजाति तथा अन्य वञ्चित समुदायहरूलाई स्वतन्त्रता प्रदान गरेको छ। अब देशको नेतृत्व नेपाली जनताले चुनेका प्रतिनिधिहरूले गर्छन्। हिजो एकजनाको हातमा सिमित शक्ति थियो भने आज राज्य प्रणाली जनताबाट निर्वाचित प्रतिनिधिहरूले चलाउने अवसर प्राप्त भएको छ।

तर, गणतन्त्र आएपछि पनि विभिन्न समस्याहरू देखिएका छन्। भ्रस्टाचार, कुशासन, बेरोजगारी, गरिबी र विकासको सुस्त गतिले आम नागरिकलाई निराश बनाएको छ। यस अवस्थालाई सुधार्नु भनेको फेरि राजतन्त्र फर्काउनु होइन, बरु गणतन्त्रलाई अझ प्रभावकारी बनाउनु हो। अहिलेको मुख्य चुनौती भनेकै कमजोर नेतृत्व र अस्थिर शासन प्रणाली हो।

केही समूहहरू राजतन्त्र फर्काउनु पर्छ भन्ने तर्क राख्छन्। उनीहरूको भनाइ अनुसार गणतन्त्रले अपेक्षाअनुसार देशको विकास गर्न सकेन। तर, के राजा फर्किएर नेपालका सबै समस्या हल हुन्छन् त? इतिहासले देखाएको छ कि राजाले देशलाई जनमुखी शासन दिन सकेनन्। त्यसैले, समस्या समाधानको उपाय विगतमा फर्किनु होइन, भविष्यतर्फ अगाडि बढ्नु हो।

नेपालका जनताले अब सिंगो मुलुकको विकास र स्थिरताका लागि जिम्मेवार नागरिकका रूपमा सोच्न आवश्यक छ। कुशासन, भ्रस्टाचार र कमजोर नीतिहरूको विकल्प खोज्दै अगाडि बढ्नुपर्ने बेला आएको छ। अहिले पनि सोच्नुपर्ने कुरा के हो भने, समस्या व्यवस्थामा छ, पात्रहरूमा मात्र होइन। त्यसैले, राजा फर्काउने बहस भन्दा पनि कसरी प्रभावकारी लोकतान्त्रिक प्रणाली बनाउने भन्ने विषयमा गम्भीर छलफल हुनु आवश्यक छ।

नेपाललाई समृद्ध बनाउने बाटो लोकतन्त्रभित्रै खोज्नुपर्छ, न कि इतिहासको खरानीबाट पुरानो शासन प्रणालीलाई फेरि जीवित पार्न। अब समय देश बनाउने र समृद्ध नेपाल निर्माण गर्ने दिशामा अघि बढ्ने हो, न कि विगतका असफल संरचनालाई पुनर्जीवित गर्ने।

डि बि संघर्ष ( रोल्पा )

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *