गैँडाकोट । क्षयरोग नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यले पूर्वी नवलपरासीको गैँडाकोटमा आयोजित निःशुल्क एक्सरे शिविरमा ४०३ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्। गण्डकी प्रदेश सरकार र गैँडाकोट नगरपालिकाको सहकार्यमा सम्पन्न यस शिविरमा ३ जना क्षयरोग संक्रमितको पहिचान भएको छ।
डाकोट नगरपालिका वडा नं. २ नारायणी नदी किनारमा सञ्चालन गरिएको शिविरमा २१६ जना महिला र १८८ जना पुरुषको छातीको एक्सरे गरिएको थियो। परीक्षणका क्रममा ९ जना शंकास्पद बिरामी पहिचान गरिएका छन्, जसको थप परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल नवलपुर पठाइएको छ।
शिविरको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक र गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाठकले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको भन्दै प्रदेश सरकार यस क्षेत्रमा गम्भीर रूपमा लागिपरेको बताउनुभयो।”नेपाल क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्यतर्फ अघि बढिरहेको छ। यो रोग पूर्ण रूपमा उपचार योग्य भए पनि समयमै पहिचान नभए ठूलो संकट निम्तिन सक्छ। स्वास्थ्य परीक्षणमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ। हामी आगामी दिनमा यस्ता शिविरहरूको संख्या बढाउनेछौं, ताकि कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्,” मन्त्री पाठकले भन्नुभयो।
गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिइएको बताउँदै यस्ता शिविरहरू नगरपालिकाले निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो। “स्वस्थ नागरिक नै समृद्ध नगरको आधार हुन्। गैँडाकोट नगरपालिकाले नागरिकको स्वास्थ्य प्रवर्धनका लागि विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ। क्षयरोग नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउन यस्ता निःशुल्क शिविरलाई निरन्तरता दिनेछौं।”
उहाँले गैँडाकोटवासीलाई समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै भन्नुभयो, “हामी सबै मिलेर काम गर्यौं भने नगरपालिकालाई क्षयरोगमुक्त क्षेत्र बनाउन सक्छौं। यदि तपाईं वा तपाईंको परिवारका सदस्यलाई लगातार दुई हप्ताभन्दा बढी खोकी लागेको छ भने तुरुन्तै परीक्षण गराउनुहोस्। समयमै उपचार गरेमा क्षयरोग पूर्ण रूपमा निको पार्न सकिन्छ।”