‘शङ्खरापुरको जडीबुटी प्रशोधन केन्द्र पुनःस्थापनाका लागि बजेट गरिन्छ’

उज्यालो प्रतिनिधि २८ माघ २०८१, सोमबार समाचार

काठमाडौँ, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शङ्खरापुर नगरपालिकामा पहिले स्थापना भएर बन्द रहेको जडीबुटी प्रशोधन केन्द्र पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिनुहुँदै उनले केन्द्रको पुनःस्थापनापछि खेर गइरहेको जडीबुटीको पनि उपयोग हुने बताए । राष्ट्रिय अनुकूलन योजनाको तयारी भइरहेको जानकारी मन्त्री शाहीले गराए । जलवायु वित्त स्थानीय तहसम्म लगिने कार्यक्रम मन्त्रालयले बनाएको छ ।

वनसँग सम्बन्धित क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउन सरोकार भएका निकायसँग छलफल गरिने पनि उनको भनाइ छ । दिगो वन व्यवस्थापन गरी आगलागी नियन्त्रणका काम गर्न लागिएको मन्त्री शाहीले बताए । राष्ट्रिय निकुञ्जले प्रत्येक वर्ष अग्निरेखा बनाएर काम गरेको उल्लेख गर्दै उनले वनमा पानीपोखरी र आहाल बनाएर आगलागी नियन्त्रणलाई सहयोग गरिने प्रतिबद्धता जनाए ।

तनहुँमा निर्माणको तयारी भएको खुला प्राणी उद्यानका लागि आगामी वर्षको बजेटमा व्यवस्थापन गर्ने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका समस्या मध्यवर्ती क्षेत्र नियमावली संशोधन गरेर समाधान हुने उनको भनाइ छ ।

वन र कृषि मन्त्रालयले संयुक्त रूपमा बाँदर र बँदेलको आतङ्क रोक्न अध्ययन भइरहेको मन्त्री शाहीले बताए । वनमा डढेलो लगाउनेलाई तीन वर्षसम्म कैद र जरिवानाको व्यवस्था भए पनि पत्ता लगाउन अप्ठ्यारो भएको उनको भनाइ थियो ।

दिगो वन व्यवस्थापनका माध्यमबाट विदेशबाट आउने काठलाई निरूत्साहित गरिने कार्यक्रम मन्त्रालयले बनाएको छ । कार्वन व्यापारका लागि सहमति भएको मन्त्री शाहीले बताउनुभयो । पछिल्लो समय वन डढेलोका घटनामा वृद्धि भएको, बस्तीमा पुगेर जनधनको क्षति भएको, वातावरणमा नकारात्मक प्रभाव परेको, वन डढेलो निभाउने क्रममा स्थानीयवासी, कर्मचारी, सुरक्षाकर्मीले जीवन गुमाउनुपरेको उनले सुनाए ।

चैत, वैशाखमा धेरै वन डढेलोका घटना हुने गरेको उल्लेख गर्दै मन्त्री शाहीले सघन वन व्यवस्थापनको काम सबै वनमा हुन नसक्दा समस्या आएको बताए । खेतीयोग्य जमिन बाँझो, नियतवश आगो लगाउने, घाँस पलाउँछ भनेर वनमा आगो लगाउने गरिएको उनले सुनाए । वन्यजन्तु धपाउन पनि आगो लगाउने गरिएको छ ।

हरेक वर्ष मङ्सिरदेखि जेठसम्म आगलागीका घटना हुने गरेको छ । बागमती प्रदेशमा बढी र सुदूरपश्चिम प्रदेशमा कम आगलागीका घटना भएको तथ्याङ्क मन्त्रालयमा रहेको छ । वन डढेलोबाट कर्णालीमा यस वर्ष एक जनाको निधन भएको छ । वन डढेलोले सरदर वार्षिक रूपमा आठ जनाको निधन हुने गरेको छ ।

रसुवा र नुवाकोटका बीचमा आगलागी भई नियन्त्रणमा आउन लागेको मन्त्री शाहीले जानकारी गराए । सिन्धुपाल्चोकको भोटेकोशीमा माघ १८ गते सुरू भएको आगलागी नियन्त्रणमा आएको छ । काभ्रेको महाभारत क्षेत्रको वनमा पनि आगलागी भई नियन्त्रणमा आएको जनाइएको छ ।

आगलागी नियन्त्रणका लागि संसदीय समितिले दिएको निर्देशनअनुसार काम भइरहेको छ । प्रदेशको वन हेर्ने मन्त्रालयलाई आवश्यक व्यवस्थापन गर्न निर्देश गरिएको मन्त्री शाहीले सुनाए । संरक्षण क्षेत्र हेर्ने कार्यालयलाई डढेलो लाग्न नदिन र लागेमा छिटो निभाउन निर्देशन दिएको पनि मन्त्रालयले जनाएको छ ।

देशभर हुने गरेका आगलागीका घटनाका बारेमा वन तथा भू–संरक्षण विभागमा रहेको अग्नि नियन्त्रण कक्षमा खबर आई तत्काल व्यववस्थापन गर्ने गरिएको छ । जिल्ला वन कार्यालयको नेतृत्वमा जिल्ला स्तरीय समिति निर्माण गरी आगलागी नियन्त्रणका लागि काम भएको छ ।

बैठकमा सांसद माधव सापकोटाले अमेरिकी राष्ट्रपतिले पेरिस सम्झौताबाट पछि हट्ने घोषणा गरेपछि जलवायु परिवर्तनका लागि पर्ने असर कसरी व्यवस्थापन हुन्छ भनी प्रश्न गर्नुभएको थियो । मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्न पनि उनले सुझाव दिए ।

सांसद रामहरि खतिवडाले बाँदर आतङ्कले पहाडी क्षेत्रमा बस्न नसकिने अवस्था रहेकाले व्यवस्थापन गर्न माग गरे । सांसद रणेन्द्र बरालीले चितवनको चार कोशे झाडीमा आगलागी भएर धुवाँ र प्रदूषणले मध्य नेपाललाई नै असर गरेको बताए । सांसद प्रेम सुवालले बसाइ सराइका कारण पनि आगलागी हुने गरेकाले जिल्लामै मात्र बसाइ सराइ गर्ने व्यवस्था गर्न माग गरे ।

सांसद रघुजी पन्तले वन डढेलो नियन्त्रण गर्न उपयुक्त सामुदायिक वन समूह भएको उल्लेख गर्दै यसका लागि सरकारको के योजना छ भनी प्रश्न गरे । सांसद जावेदा खातुनले वन डढेलोले जैविक विविधताको क्षति हुने गरेको र डढेलोले बस्ती सखाप हुने गरेको बताए ।

सांसद दीपक गिरिले दाङ जिल्लामा बाँदर र बँदेलको आतङ्क रहेको उल्लेख गर्दै मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न माग गरे । सांसद हितराज पाण्डेले पुर्खाले वनभित्र पोखरी र आहाल बनाउने गरेकामा अहिले त्यस्तो कार्यक्रम छ कि छैन भनी जिज्ञासा राखे ।

सांसद सोविता गौतमले नेपालमा बृहत् जडीबुटी खेती गर्ने के कार्यक्रम छ । पहिले शङ्खरापुरको बज्रयोगिनीमा रहेको जडीबुटी प्रशोधन केन्द्रलाई पुनस्र्थापना गर्न माग गरे । सांसद रोशन कार्कीेले वनभित्र लडेपडेका अर्बौँका काठ बिक्री गर्ने कार्यक्रम छ, छैन भनी जिज्ञासा राखेका थिए ।

सांसद मेटमणि चौधरीले आगलागी, मध्यवर्ती क्षेत्रका समस्या समाधान गरिनुपर्नेमा ध्यानाकर्षण गराएका थिए । सांसद बुद्धिमान तामाङले जनावरलाई बढी संरक्षण गरेर मानिसलाई कम संरक्षणमा पार्ने गर्दा समस्या आएको बताए ।

सांसद शेरबहादुर कुँवरले आगलागी नहोस् भनी जनचेतनाका के कस्ता कार्यक्रम गरिएको छ भनी जिज्ञासा राखे । सांसद सीता मिजारले नुवाकोटको दुप्चेश्वर क्षेत्रमा भएको आगलागीका पीडितले कहिले क्षतिपूर्ति पाउँछन् भनी प्रश्न गरेका थिए ।

सांसद निशा डाँगीले तराइ क्षेत्रमा हात्ती र मानवबीचको द्वन्द्व नियन्त्रण गर्न के कार्यक्रम छ भनी जिज्ञासा राखेका थिए । सांसद सराज अहमद फारूकीले वातावरणीय पर्यटनको के कार्यक्रम छ भनी प्रश्न राख्नुभयो । सांसद हरि ढकालले कृत्रिम वर्षा गराएर वन डढेलो रोक्न सकिने भएकाले यसतर्फ सरकारको के कार्यक्रम के छ भनी प्रश्न गरे ।

सांसद महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्रमा सहजीकरण गर्न वन मन्त्रालयको के कार्यक्रम छ भनी प्रश्न गरेका थिए । सांसद शङ्कर भण्डारीले तनहुँको व्यास र भानु नगरपालिकामा खुला प्राणी बनाउन जग्गा अधिग्रहण गरिएकामा अहिले के भइरहेको छ भनी प्रश्न गरेका थिए ।

सांसद अब्दुल खानले वन तथा वातावरण मन्त्रालयले कहिले एकीकृत कानुन बनाउँछ भनी जिज्ञासा राखे । सांसद कुसुमदेवी थापाले कृषि मन्त्रालयले रासायनिक मल ल्याउने गरेकामा वन मन्त्रालयसँग मिली जैविक मल बनाए विदेशबाट मलको भर नपर्ने अवस्थाको सृजना गर्न माग गरे ।

सांसद विना लामाले मध्यवर्ती क्षेत्रमा पटकपटक समस्या आउने गरेकाले एकीकृत रूपमा समाधानको व्यवस्था मिलाउनुपर्ने बताए । सांसद अमृतादेवी अग्रहरीले वन बढाउने के योजना छ भनी प्रश्न गरेका थिए । सांसद अनिशा नेपालीले वनमा तस्करी रोक्ने के कार्यक्रम छ भनी जिज्ञासा राखेका थिए ।

सांसद योगेशकुमार भट्टराईले हिमनदी बढी पग्लिएर हिमाली क्षेत्रमा समस्या समाधान गर्ने के कार्यक्रम छ भनी सोधेका थिए । सांसद रामप्रकाश चौधरीले नेपालमा काठ कुहिएर जाने, विदेशबाट लाखौँको काठ आउने क्रमलाई कसरी व्यवस्थापन गर्ने भनी प्रश्न राखे । सांसद एकनाथ ढकालले वन तथा वातावरण क्षेत्रमा रहेका समस्या समाधानका लागि सांसदले के सहयोग गर्न सक्छन् ? त्यो गर्न तयार रहेको बताए ।

सांसदत्रय रामकृष्ण यादव, अशोककुमार चौधरी, देव तिमल्सिनाले आगलागीको समस्या प्रत्येक वर्ष दोहोरिने गरेकाले समाधानका लागि ठोस काम गर्नुपर्ने माग गरे । सांसद किरणकुमार साहले मधेश प्रदेशमा घर भित्र्याउने बाली निलगाई र बँदेलले तहसनहस गर्छ यसलाई व्यवस्थापनको के कार्यक्रम छ भनी प्रश्न राखेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार