डि एस रोल्पा । सुनछहरी गाउँपालिकाका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले विभिन्न शीर्षकमा विनियोजन गरेको ११ करोड ५७ लाख रुपैयाँ बजेट वर्तमान सरकारले सुनिश्चित नगरेपछि फिर्ता हुने अवस्थामा पुगेको छ। नेकपा एमालेका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको अर्थ मन्त्रालयले उक्त बजेट कार्यान्वयन नगरेपछि रोल्पाली जनता निराश भएका छन्।
यो निर्णयले विकास र सुशासनलाई प्रभावित गरेको भन्दै स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवालाहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन्। उनीहरूको आरोप छ कि सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा बजेट रोकेर रोल्पाली जनताको अधिकारमाथि अन्याय गरेको छ।
स्थानीयवासीहरू भन्छन्, “विकास कुनै पार्टी विशेषको नभई समग्र रोल्पा र यहाँका जनताको साझा हक हो। बजेट रोकिनु भनेको रोल्पालीको समृद्धि र विकासलाई अवरुद्ध गर्ने षड्यन्त्र हो।”
बजेट कटौतीप्रति व्यापक आलोचना भइरहेको छ। कतिपयले यो सरकार भ्रष्टाचार, दलाल र ठेकेदारहरूको प्रभावमा चलेको संकेत भएको दाबीसमेत गरेका छन्। “विकासलाई दलगत स्वार्थमा होम्नु निन्दनीय छ। सरकार जनताको पक्षमा छ कि आफ्नै गुटगत स्वार्थमा, यसको जवाफ दिनुपर्छ,” एक स्थानीय नेताले आक्रोश पोख्दै भने।
स्थानीय विकास योजना र पूर्वाधार निर्माणका लागि महत्त्वपूर्ण मानिएको यो बजेट रोकिएपछि रोल्पाली जनताको आशा मरेको छ। अब स्थानीय तह र नागरिक समाजले आवाज उठाएर यो अन्यायविरुद्ध सशक्त दबाब दिनुपर्ने आवाज उठ्न थालेको छ।