डि. बी. संघर्ष / रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४, खोइरालाखर्कस्थित श्री जनता आधारभूत विद्यालय को ५०औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जोखबहादुर महरा ले दीप प्रज्वलन गरी गरेका हुन्। प्रमुख अतिथिका रूपमा रहेका महराले रोल्पाका विकास योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) का स्थानीय नेताहरूलाई आफ्नो नेतृत्वलाई दवाव दिन आग्रह गरेका छन्।
विशिष्ट अतिथि सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य मणिराम बुढाथोकी थिए। अन्य अतिथिहरूमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सचिव पूर्णबहादुर ओली, नेपाली कांग्रेस रोल्पा जिल्ला सह-सचिव गञ्जबहादुर महरा, नेकपा (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिका अध्यक्ष रत्नबहादुर महरा लगायत सहभागी थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोण सुनारले गरेका थिए।
पूर्वविद्यार्थी, शिक्षक तथा पदाधिकारीलाई सम्मान
सुरुदेखी हालसम्म विद्यालयमा योगदान पुर्याएका पूर्वप्रधानाध्यापक, पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, तथा विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गरेका पूर्वविद्यार्थीहरू लाई सम्मान गरिएको थियो । कार्यक्रम अन्तर्गत विभिन्न १७ खेलकुद विधाहरू सञ्चालन हुने वडासदस्य पूर्णबहादुर सुनारले उज्यालो नेटवर्कलाई जानकारी दिए। खेलकुदतर्फ पुरुष भलिबल, महिला भलिबल, पुरुष तथा महिला कबड्डी लगायतका प्रतिस्पर्धा समावेश छन्। महोत्सव माघ २० गतेसम्म सञ्चालन हुने बताइएको छ।