डि.बी. संघर्ष / रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका-६ स्थित श्री जनकल्याण आधारभूत विद्यालय, पानीपोखरा को २६औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सुवेदीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी रहेका थिए । वडा नं. ६ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लोकेन्द्र बहादुर थापा विशेष अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए ।
विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरूका लागि विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गरियो, जसमा रस्साकस्सी, भालेजुधाइ, कुर्सी घुमाइ जस्ता प्रतियोगिताहरू प्रमुख आकर्षण बने । विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। अभिभावकहरूको तर्फबाट राजेश सुवेदी लाई विशेष सम्मान प्रदान गरियो भने उत्कृष्ट शिक्षिका पुरस्कार भिमा डाँगीलाई प्रदान गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मणिराम बुढाथोकीले विद्यालयको पठनपाठन र अनुशासनलाई गाउँपालिकाले उच्च मूल्यांकन गरेको बताउँदै विद्यालयको विकासका लागि चार कोठे भवन निर्माणका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले विद्यालयले नयाँ भवनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिए । विशिष्ट अतिथि लोकेन्द्र बहादुर थापा ले विद्यालयलाई आफ्नो कार्यकालमै उत्कृष्ट विद्यालय बनाउन हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक कोमलराज चन्द ले आगामी दिनमा विद्यालयलाई अझै व्यवस्थित बनाउँदै विद्यार्थीको शिक्षालाई नयाँ ढंगले अघि बढाउने योजना सुनाए।
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सुवेदीले विद्यालयको विकास र शैक्षिक गुणस्तर सुधार गर्न कुनै कमी आउन नदिने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गरे। साथै, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, महिला समूह, अभिभावक, शिक्षक, विद्यार्थी, युवा तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।