स्वास्थ्य असावधानीले निम्त्याएको जटिल अवस्था

उज्यालो प्रतिनिधि ९ माघ २०८१, बुधबार

– कृष्ण चोङबाङ
कुनै पनि जिवलाइ आफ्नो जीवन प्रती असाध्यै मोह हुन्छ । बाँच्ने जिजिविसा सवै प्राणिलाइ हुन्छ नै । बाँच्नकै लागि अनेकन संघर्ष सवैले गर्ने वा गरिएकै हुन्छ । त्यसमा पनि प्राणी मध्येकै सर्वश्रेष्ठ प्राणी मानिस भएकोले स्वस्थ भएर धेरै समय बाँच्ने उत्कट अभिलाषा स्वभाविक रुपमा अन्य प्राणी भन्दा बढी मानिसमै हुन्छ भन्दा अन्यथा नहोला ।

आधुनिक युगको प्रारम्भ सँगै बिज्ञान र प्रविधिको विकासले कोल्टे फेरिएको मानव सभ्यताको हिसाबले उत्तर आधुनिक युगमा हामी अहिले दौडिरहेका छौँ । विज्ञान र प्रविधिको विकासले मानिसलाइ फरक स्तरमा उभ्याइसकेको छ । शिक्षा, स्वास्थ, रहन सहन, हिँडडुल, खान पान, सामाजिक संरचना लगायत सवै सवै क्षेत्रमा अघिल्लो २०/३० वर्ष भन्दा एता आकास जमिनको अन्तर आइसकेको छ । चेतनाको स्तर पनि धेरै नै फरक छ । खास गरेर सुचना-प्रविधिको क्षेत्रमा अझै ठूलो फड्को मारिएको अवस्था छ । यो दिन दुइ गुणा रात चौगुणा थप विकास र परिवर्तन भैरहेको अवस्था छ ।

यस्तो विकसित युगमा आफ्नो स्वास्थ अवस्थामा सानो ख्याल पुर्याउन नसक्दा अत्यन्तै सानो स्वास्थ समस्याले निम्त्याएको जटिल अवस्था भोग्नु पर्यो अझै भोगिरहेको छु । त्यसैले यो अनुभवलाइ अन्य जनसमक्ष केही जानकारी गराउन मात्र सकियो भने पनि समान प्रकृतिको समस्या भोगिरहेका वा सम्भावनाको नजिक रहेका जनसमुदायलाइ समयमै रोगको पहिचान तर्फ सहयोग पुग्ला र सहजै निदान होला भन्ने अपेक्षा राखेको छु ।

पेट दुखाइको सुरुआत:-

२०८१ साउन १ गते “नागरिक पहिलो अभियान”का नेता भुपेन्द्र नेम्बाङले उहाँको निवास खुमलटार मा पुर्व मन्त्री गोपाल किराँती र मलाइ आमन्त्रण गर्नुभएको थियो । साँझको ६ बजे तिर हामी त्यहाँ पुग्यौं । वर्तमान नेपाली राजनीति र अबको बाटो सन्दर्भमा लामो भलाकुसारी गर्यौं । खास गरेर हामिले तेश्रो जनआन्दोलन को वारेमा ( गोपाल किराँती संयोजक र म सदस्य सचिव, तेश्रो जनआन्दोलन ) आफ्नो धारणा राख्यौं र उहाँले आफ्नो नागरिक पहिलो अभियानको वारेमा सविस्तार कुरा राख्नुभयो । लामो भलाकुसारी पश्चात् मुलुकमा तेश्रो जनआन्दोलनको आवश्यकता रहेकोमा सवै सहमत भयौं र पहलकदमीको लागि जुट्ने सम्मको अनौपचारिक कुराकानी भयो । खान पिन गर्दा करिव रातको १० बजेको थियो र मेरो वसाइ सातदोबाटो नजिकै भएको कारण मलाइ रुम सम्म छोड्ने व्यवस्था मिलाउनु भो र गोपाल किराँती त्यहिँ रहने हुनुभयो । म आफ्नो रुम मा आएर आराम गरेँ ।

करिव ३ वजे तिर विहान व्युँझिदा पेट अत्याधिक रुपमा दुखिरहेको थियो । उज्यालो राम्रो हुन नपाइ साथी मन्जुल कुमार लिम्बुलाइ बोलाएर बि एन्ड बि हस्पिटल इमर्जेन्सी भर्ना भएँ । त्यहाँ इमर्जेन्सीमा डाक्टरहरुले आवश्यक उपचार गरेर दुखाइ कम गर्ने र ग्याष्ट्रीक लगायतको औषधि केही दिनलाइ खाने गरि डिस्चार्ज गरिदिए । म सोही बमोजिम रुम आएँ र औषधि खाँदै आराम गर्न थालेँ । करिव एक महिना पछि भाद्र ३ गते पुन: पेट दुखाइ अत्यधिक हुन थाल्यो । त्यही साँझ बेलुकी अघिल्लो उपचारको कागजात सहित बि एन्ड बि हस्पिटल इमर्जेन्सी भर्ना भएँ । त्यहाँ उपचार सुरु भयो । भोलि पल्ट पेटको इन्डोस्कोपी गरियो । इन्डोस्कोपी रिपोर्ट अनुसार ग्याष्ट्रीक अत्याधिक भएको भन्दै सोही अनुसारको एक महिनालाइ डाक्टरले औषधि खान सिफारिस गरे र सोही वमोजिम एक महिना औषधि खाँदै बसेँ । दशैं र तिहार यसरी नै बित्यो । पेट दुखाइ हुँदा सहनै नसकिने गरि सिमाविहिन दुखाइ हुने । मलाइ लाग्यो कि ग्याष्ट्रीक को दुखाइ यती बिघ्न हुँदोरहेछ ।

दोश्रो चरण को पुन: दुखाइ र उपचारको शृङ्खला :-

यसरी नै यो पटक -पटक को दुखाइ हुँदै तीन महिना बितिसकेको थियो । तिहार सिद्दिने बित्तिकै मंसिर २ गते हुने बिराटनगरको प्रदर्शनलाई ध्यानमा राखेर आयोजना गरिएको तयारी बैठकको लागि कार्तिक २० गते नै म्याङ्लुङबाट इटहरी तर्फ लागेँ । २१ गते नागरिक उन्मुक्ती र पहिचानवादी मोर्चाको बैठक धिमाल विकास केन्द्र उर्लाबारिमा आयोजना गरिएको थियो र त्यो बैठकमा सहभागी भइयो । त्यस पछि इटहरी आएर गोपाल किराँती र म इटहरी उपमहानगरपालिका जनजाती महासंघका अध्यक्ष चिराहाङ राइको घरमा वस्यौँ । इटहरि वसाइको क्रममा नै पेट दुख्न सुरु भयो । मैले गोपाल किराँतिलाइ पेट दुखेको कुरा जानकारी गराएँ । २३ गते इटहरिमा संयुक्त संघर्ष समितिको बैठक थियो । त्यसमा सहभागी भए पछि मेरो विरामले त्यति राम्रो संकेत नगरेको महसुस गरि कोहि नेतालाइ प्रष्ट जानकारी नगराइ २४ गते म काठमाडौ सुटुक्कै आएँ । किनकी मेरो यो पेट दुखाइले धेरै सताउँछ भन्ने अनुमान गरेको थिएँ । नभन्दै २५ गते विहानै पेट दुखाइ सुरु भयो । बिगत दुई पटक इमर्जेन्सी भर्ना भएको डकुमेन्टहरु सहित म पुन: बि एन्ड बि अस्पताल भर्ना भएँ । उसले पुरानो डकुमेन्टहरु हेर्दै पुनः पुरानै औषधिहरु खान सुझायो । त्यही अनुसार म बि एन्ड बिबाट फर्केँ ।

एउटा रोग वल्ल पहिचान भयो:-
बि एन्ड बि बाट फर्केको दुई दिन पछि पुन: पेट दुख्न थाल्यो । २७ गते राती बाट दुख्न थालेको बिस्तारै दुखाइ बढ्दै बढ्दै गयो । करिब राती- विहानको ३.०० बजे तिर मन्जुललाइ खबर गरेँ । मलाइ गार्‍हो भएको र तुरन्तै अस्पताल जानको लागि साथी मागेँ । मन्जुल आधा घन्टा विचमै आइ पुगे । ४ बजे तिर घर परिवार लगायत अन्य साथिहरुको सल्लाहअनुसार अस्पताल परिवर्तन गरेर यसपटक चाहिँ सिभिल अस्पताल बानेश्वरमा इमर्जेन्सी भर्ना भए । ४:३० बजे विहान त्यहाँ मन्जुल र म पुगेका थियौँ । पुगेको केही समय पछि डाक्टरले चेक जाँच गर्ने प्रक्रिया सुरु गरे । विभिन्न जाँचहरु भए । रगतको विभिन्न जाँच, पिसाब, एक्सरे, भिडियो एक्सरे, इसिजी आदि । त्यहाँको सम्पुर्ण रिपोर्ट आए पछि डाक्टरले वताए कि मेरो पित्त थैलिमा ११ एम एम को पथरिया छ । दुखाइ एसैको कारण भएको हो। दुखाइ कम भए पछि पित्त थैलिको अपरेसन गर्नु पर्छ भनेर दुखाइ कम गर्ने औषधि सहित दिनको तीन बजे तिर मलाइ डिस्चार्ज गरे । पुनः दुखाइ भएमा सम्पर्कमा आउन समेत सुझाए ।

यसरी तीन महिना पछि बल्ल पत्ता लाग्यो कि मेरो पित्त थैलिमा पथरिया ( stone) छ । ग्याष्ट्रीक मात्र नभएर पथरिया पनि रहेछ भन्ने थाहा लाग्यो । त्यसपछी मीत ज्युले (डिल्लीराम तिम्सिना) ” पेटसँग सम्बन्धित असाध्यै सिनियर विशेषज्ञ मेरिडियन पोलिक्लिनिकमा हुनुहुन्छ त्यहाँ पनि देखाउँ” भन्ने दिनुभएको सल्लाह बमोजिम हामी मेरिडियन पोलिक्लिनिक महाराजगन्ज गयौँ । मीत ज्यु आफै लिन आउनु भयो र मन्जुलसहित हामी तीन जना मेरिडियन पोलिक्लिनिक तिर लाग्यौँ । मेरिडियनका सन्चालक देवान राई चिनजानकै मित्र भएको कारण उहाँ आफैले धेरै कुरामा समन्वय गर्नुभयो । मेरिडियन मा डा. सिपि उपाध्याय अत्यन्तै सिनियर विशेषज्ञ हुनुहुँदो रहेछ । उहाँ ले केही चेक जाँच गरेपछी रगत जाँच तथा भिडियो एक्सरे रिपोर्टहरु हेरेर पित्त थैली सुनिएको ले ६ हप्ता पछि, सुनिएको भाग तथा घाउहरु ठिक भए पछि मात्र पित्त थैलिको अपरेसन गर्न मिल्ने कुरा वताए । अपरेसन गरुन्जेल सम्म दुखाइ कम गर्ने औषधि खाँदै आराम गर्न सुझाए । आवश्यक औषधि लेखी दिएर सर्जरिको लागि डाक्टर विकल घिमिरे सँग सल्लाह गर्न सुझाए । डा. विकल घिमिरे सँग तुरन्तै भेट गरेँ । उहाँ ले पनि ६ हप्ता भन्दा अगाडि अपरेशन गर्न नमिल्ने र विचमा दुखाइ केही भएमा मेट्रो हस्पिटल महाराजगन्ज चक्रपथमा आउन सुझाए । त्यसपछी म त्यहाँबाट फर्केँ ।

त्यसको दुई दिन पछि पुनः दुखाइ सुरु भयो । म डा. विकल घिमिरेको अघिल्लो सुझावको आधारमा मेट्रो हस्पिटल महाराजगन्ज -चक्रपथ इमर्जेन्सी भर्ना भएँ । मन्जुल र म सिभिलमा प्राथमिक उपचार गराइ त्यतातिर लाग्यौँ । हामी पुग्ने बित्तिकै केही समय पछि मीत ज्यु पनि आइपुग्नु भो । विराम निकै कठिन हुँदै गएको महसुस गरि घर ( तेह्रथुम बाट) श्रीमती ( सृजना राई ) पनि आइ पुगिन् । त्यहाँ दुई दिनको उपचार पछि पुरानै सल्लाह दिँदै दुखाइ कम गर्दै अपरेसन को मिति कुर्न सुझाव दिँदै त्यहाँ बाट डिस्चार्ज दियो अस्पताल ले । त्यसपछी पुनः औषधि खाँदै आराम गर्दै पित्त थैलिको अपरेशन कता गर्ने भन्ने बारे छलफल, सोधपुछ तथा सरसल्लाह लिन थालेँ । यति सम्म आउँदा मंसिरको ५ गते विति सकेको थियो ।

स्वास्थ झन जटिल वन्दै, टिचिङ मा भर्ना:-
भर्खर भर्खर पित्त थैलिमा पथरिया छ भन्ने सम्म थाहा भएको र त्यसको लागि सल्यक्रिया कहिले गर्ने भन्ने योजनामा लागिरहेको बेला स्वास्थमा थप जटिलता देखा पर्न थाल्यो । दुखाइ उही पुरानो शैलिको । दुखाइ हुँदा सहन, खप्न निकै कठिन हुन्छ । यो समस्या भोग्ने जो कोहिलाइ थाहा होला । अहिले भने अव पिसाब पनि ज्यादै बाक्लो पहेँलो रङमा जान थाल्यो । अब चाहिँ भने टिचिङ अस्पताल जाउँ भन्ने श्रीमतिको सल्लाह रह्यो त्यही अनुसार हामी टिचिङ अस्पतालतिर लाग्यौँ । विहानको ७ बजे टिचिङ अस्पताल पुगि सकेका थियौँ । सिधै इमर्जेन्सी वार्ड तिर लाग्यौँ ।

टिचिङ इमर्जेन्सिले सुरुमा नाम दर्ता समेत गर्न मानेन र ओपिडिमा जान सुझायो । हामी ओपिडी लाइनमा नै वस्न गयौँ तर दुखाइ अत्याधिक भइ लाइनमा वस्न नसकेपछी म पुनः इमर्जेन्सी वार्डमा गएर त्यहाँको सिस्टरहरुलाइ म कैयौँ अस्पताल गैसकेको र अहिले दुखाइले ज्यादै कठिन भएकोले कम्तिमा यो दुखाइ कम गर्ने इन्जेक्सन सम्म दिनुस नत्र म मर्ने भएँ भनेर हारगुहार गरेपछी इमर्जेन्सि उपचार वार्ड भित्र जान नाम सम्म दर्ता गराइ दिए ।

त्यसपछी टिचिङ को इमर्जेन्सी वार्डमा मेरो उपचार सुरु भयो । मैले कहिल्यै पनि एति ठुलो अस्पतालको इमर्जेन्सी उपचार कक्ष र उपचार विधि, प्रक्रिया र अवस्थाको वारेमा थाहा पएको थिएन । एउटा बेडमा ६ जना सम्म राखेर उपचार हुँदो रहेछ । त्यो पनि नपाएर मैले चाहिँ सुरुमा भुंइमा नै वस्नु परेको थियो । त्यो दिनको संयोग मात्र हो वा दैनिक त्यस्तै हो ? मलाइ थाहा भएन तर त्यो दिन टिचिङमा करिव ५०० भन्दा बढी विरामिले इमर्जेन्सी वार्डमा उपचार लिए जस्तो लागेको छ ।

संयोग वा सौभाग्य जे भने पनि त्यो इमर्जेन्सी वार्डमा डा. नवीन अधिकारी मलाइ अर्थात मेरो विरामलाइ हेर्न आइ पुगे । उनि अलि कडा मिजासका रहेछन् । उनले हाकाहाकी सोध्ने र लागेको कुरा भन्ने गर्दारहेछन् । मलाइ हेर्ने उनको जिम्मा परेपछी उनले मलाइ एति धेरै जाँच गराउन सिफारिस गरे कि रगतको जाँच, भिडियो एक्सरे, एक्सरे, इसिजी, मुटुको विभिन्न जाँच लगायतको चेक जाँचको लागि दुइजना सहयोगिलाइ रिपोर्टको लागि ल्याब धाउन समेत हम्मे हम्मे पर्थ्यो ।

विहान ७ बजे देखि बेलुकी ९ बजिसकेको थियो उपचार चलिरहेको थियो । डा. नवीन अधिकारिले करिब ९ बजे तिर एक सिनियर डाक्टरलाई देखाएर मैले उहाँ लाइ लिएको छु भनेर वताए । मैले त कुरा बुझिन । तर सारा चेक जाँच हेर्दा कि इमर्जेन्सी अपरेसन पो गर्न लागेका हुन् कि? भन्ने अनुमान गर्दै वस्यौँ । करिब ११:३० बजे राती श्रीमती सृजना लाई उनै डाक्टरले वोलाएर सविस्तार कुरा वताए ” मेरो अनुमनमा तपाइको विरामी चानचुने सामान्य विरामी होइन, उहाँ लाइ धेरै हिसाबले उपचार गर्नुपर्ने हुन सक्छ… पछि MRCP/MRI गर्नु पर्ने हुन सक्छ । हामिले अपरेसन गर्न नसक्ने पनि हुन सक्छ । त्यो बेला हामी ग्याष्ट्रो मा पठाउन सक्छौँ … त्यसैले मैले उहाँ लाइ HDU मा भर्ना गर्ने निर्णय लिएको छु । ४८ घन्टा उहाँ लाइ सघन मनिटरिङ मा राख्नु पर्ने हुन्छ पुर्ण मेशिनका साथ ” आदि आदि । एसो गर्दै करिव रातको १२:३० बजे HDU वार्ड मा भर्ना गरिदिए ।

थप जटिल समस्या पत्ता लाग्यो:-

HDU वार्ड मा उपचार सुरु भयो । त्यो वार्ड भनेको निकै जटिल विरामिहरुलाइ मात्र भर्ना गरिने वार्ड रहेछ । करिव ICU मा लगिने तहको जटिल विरामिहरुलाइ त्यहाँ भर्ना गरिदो रहेछ । त्यहाँ विशेषज्ञ डाक्टरहरुले वारम्वार भिजिट गर्दारहेछन् । नाम थाहा भएन त्यहाँ आउने ५ जना मध्ये सबै भन्दा सिनियर डाक्टरले पुन: USG र MRCP गर्न निर्देशन दिए र त्यही अनुसार दुई दिन पछि USG गर्ने विहान १० बजे र MRCP/MRI गर्ने राती को १० बजे गर्ने समय तालिका मिल्यो ।

विहानको USG गर्ने डाक्टर पनि सिनियर अनुभवी देखिन्थे । उनले परिक्षण गर्दै जाँदा पित्त थैली वाहेक पित्त नलिमा दुइवटा ढुंगा फेला पारे । उनी असाध्यै उत्तेजित भए र उनको सहयोगिलाइ सेयर गरे अनि मलाइ वधाइ भने । मैले सोधेँ ” म मर्न लाग्या छु किन वधाइ डा. साहेब?” प्रतिउत्तर को शैलिमा उनले थपे ” यो लरतरले थाहा पाउनै कठिन हुन्छ,” अझै थप्दै भने ” तपाइलाइ वधाइ छ भगवान ले वचायो, अब त तपाइको उपचार हुन्छ नि त, यो थाहा पाउनै कठिन हुन्छ” । हुन पनि टिचिङ अस्पताल भर्ना हुँदा सम्ममा ५ वटा USG गरिसकिएको थियो कतै बाट नलिमा ढुंगा छ भन्ने रिपोर्ट आएको थिएन/ छैन । नलिमा जब ढुंगा जान्छ त्यसपछी एका एक जन्डिस बढ्दो रहेछ । म जन्डिसले ग्रस्त भएर सबै शरीर नै पहेँलपुर भएको अवस्थामा थिएँ ।

त्यसपछि बेलुकी/राती १० बजे MRCP गरियो । त्यो रिपोर्टबाट पनि पित्त नलिमा ढुंगा रहेको देखा पर्यो । त्यसपछी त्यसको लागि उपचारको विधि डाक्टरले वताउँदै भने यो हामी मेशिनबाट नलिको ढुंगा निकाल्ने प्रयास गर्छौं । त्यो निकालेर ६ हप्ता पछि मात्र पित्त थैलीको शल्यक्रिया गर्न मिल्छ । यदि मेशिन बाट निकाल्न सकिएन भने अत्यन्तै मेजर र कठिन शल्यक्रिया गर्नुपर्ने हुन्छ । यो मेशिन बाट गरिने अपरेसन को विधिलाइ ERCP भनिदोरहेछ । मेरो ERCP गरिने मिति मंसिर १३ गते विहिवार तय भयो ।

तर दुर्भाग्यवस पहिलो पटक को मेरो ERCP सफल हुन सकेन । म एनेस्थेसियाबाट ब्युँझिदा अब अर्को पटक कोसिस गरौँ भनेर डाक्टरको टिम ले सल्लाह गर्दै गरेको सुनेँ । पुन: ४८ घन्टा पछि मात्र ERCP गर्न मिल्दोरहेछ । विचमा शनिवार परेको ले ७२ घन्टा पछि वा १६ गते आइतबार मात्र दोश्रो पटक ERCP गर्ने मिति तय भयो । फेरि सफल हुने वा नहुने दोमनका साथ अपरेशन कक्षमा गएँ अर्थात लगियो । त्यहाँ जानू भन्दा अगाडि मैले डाक्टर को टिमलाइ सोधेको थिएँ । डाक्टर साहेब अब पनि सफल भएन भने के गर्ने? त्यो टिम मध्येको एकजनाले भने ” हामी आज कोसिस गर्छौँ र सकेनौ भने तपाइलाइ धुलिखेल पठाउँछौ, त्यहाँ ERCP गर्ने राम्रो विशेषज्ञ हुनुहुन्छ” । म छक्क पनि परेँ यहाँ भन्दा धुलिखेलमा राम्रो विशेषज्ञ ? भन्ने जिज्ञासा ले ।

जे होस दोश्रो पटक को ERCP सफल भयो तर ज्यादै मुस्किलले किनकी म एनेस्थेसिया बाट व्युँझी सकेको थिएँ । डाक्टरहरु भगवानले के चाहेको छ… अब अन्तिमपटक कोसिस गरौँ अनि भएन भने छोडौँ भन्दै रहेछन् । त्यो मैले सुने । अलि तनाव भो । आज पनि सफल भएन भनेर । तर अन्तिम प्रयासमा सफल गरे । म ब्युँझेपछी को करिव १० मिनेट पछि । मन धेरै हल्का भयो । पित्त नलिमा पाइप स्टेन्ट राख्ने काम भयो । यो सफल भएको तीन दिन पछि टिचिङ बाट मलाइ डिस्चार्ज गरियो ।

बाँकी उपचार धुलिखेल अस्पताल तिर मोडियो:-

जब टिचिङ का एक डाक्टरले हामी भन्दा बिज्ञ डाक्टर धुलिखेल मा हुनुहुन्छ भनेर सुनाए त्यसपछी धुलिखेलमा को सँग सम्पर्क गर्ने भन्ने सवालमा छलफल हुँदा मीत ज्युले नै अघिल्लो बर्ष उहाँ को साथिले धुलिखेल मा उपचार गराएको थाहा पाउनु भएको रहेछ । रोग पनि मेरो जस्तै भएको पनि जानकारी रहेछ । त्यहाँ एकजना तेह्रथुम कै डाक्टर रहेको समेत वताउनु भए पछि हामिले खोजी सुरु गर्यौँ । विभिन्न माध्यम बाट खोजी गर्दा मेरो जानपहिचान को साथी नै धुलिखेल अस्पताल मा काम गर्नुहुँदो रहेछ डा. विमस लिम्बू । उहाँ सँग मेरो विद्यालय स्तरमा अध्ययन गर्दानै चिनजान थियो । उहाँ को सम्पर्क नम्बर लिएर सम्पर्क गरेपछी मैले टिचिङ मा हुँदा खेरी नै प्रत्येक रिपोर्ट उहाँ लाइ पठाउने गरेको थिएँ र उहाँ ले पनि आफ्नो सल्लाह दिने गर्नुहुन्थ्यो ।
संयोग पनि कस्तो पर्यो भने जब टिचिङ बाट डिस्चार्ज दिने काम भो “अब तपाइले ६ हप्ता सम्ममा पित्त थैलिको शल्यक्रिया गर्नु पर्छ तर यहाँ एक बर्ष सम्म पालो नआउन सक्छ तपाइले अन्यत्र पनि शल्यक्रिया गर्न सक्नुहुन्छ” भनेका थिए । त्यसैले अब साथी डा. विमस लिम्बुको सहयोगमा धुलिखेल अस्पतालमा पित्त थैलिको अपरेसन गर्ने निधोमा पुगियो । उहाँ ले पुस २१ गतेको अपरेसन को डेट मिलाउनु भो । त्यही अनुसार औषधि खाँदै समय कुरेर वस्ने काम भयो ।

पुस २१ गतेको अपरेसन को मिति भएकोले हामी १८ गते नै अपरेसन को लागि आवश्यक चेक जाँचको लागि धुलिखेल अस्पताल पुग्यौँ । जो बिज्ञ सर्जन हो उहाँ सँग भेट भो । उहाँ ले ६ हप्ता पूरा नपुगेको ले तपाइले अरु १५ दिन पछि गर्दा राम्रो हुन्छ भने सल्लाह दिए पछि माघ ८ गतेलाइ मिति तय गरेर हामी फर्कियौँ । अरु १५ दिन पख्नु पर्ने भो ।

त्यसैले बाँकी फुर्सदको समयमा श्रीमती जिको स्वास्थ परिक्षण को लागि पुस २१ गते आइतवार सिभिल अस्पताल गयौं । तर मध्यदिनमा मेरो दुखाइ फेरि बल्झियो । श्रीमतीको स्वास्थ परिक्षणको लागि साथी गएको म आफै सिभिल अस्पताल को इमर्जेन्सी वार्डमा भर्ना हुनु पर्यो । बडो दुखद भो । त्यहाँ उपचार, विभिन्न परिक्षण बाट आएको रिपोर्ट अनुसार पित्त थैलिमा रहेको ढुंगा फेरि नलिमा झर्यो भन्ने कुरा डाक्टरले वताए । हामिले ERCP गरेको र स्टेन्ट राखेको कुरा गर्यौं । सामान्यतया स्टेन्ट राखेपछी ढुंगा नलिमा नझर्ने मान्यता हो तर तपाइको झरेको देखिन्छ तपाईं तुरन्तै धुलिखेल जानुहोला भने पछि २२ गते पुनः डा. बिमस लिम्बू लाई सम्पर्क समन्वय गर्दै धुलिखेल अस्पताल गइयो। धुलिखेल मा पुन: USG गरेर हेर्दा खासै समस्या देखिएन । त्यसैले पुनः दुखाइ कम गर्ने औषधि खाँदै वस्ने सल्लाह अनुसार पुन: फर्कियौँ । तर यसपटक मीत ज्युको मै ( धुमवाराही ) वस्ने निर्णय गर्यौँ । त्यसैको दुई दिन पछि पुनः पेट दुखाइ सुरु भयो । अत्याधीक दुखाइ सँगै निरन्तर वान्ता हुन थाल्यो । केही गर्दा सहन नसके पछि रातको १२ बजे नजिकै मेडिकेयर हस्पिटल मा इमर्जेन्सी भर्ना हुनु पर्यो । रातभर त्यहाँ उपचार पछि विहान ९ बजे धुलिखेल अस्पताल को लागि रिफर भएर सिधै धुलिखेल अस्पताल इमर्जेन्सिमा भर्ना भइयो । डा. विमस लिम्बू सँग राती देखि नै परामर्श लिँदै गएको हुनाले त्यसपछी डा. विमसले मेरो केसलाइ ह्यान्डिल गर्नु भो । त्यही दिन अर्थात २४ गते नै MRCP गर्ने काम भयो । त्यही दिन USG पनि भयो । त्यसको दुई दिन पछि २६ गते ERCP गर्नु पर्ने भयो । यो तेश्रोपटक थियो । यहाँ डा. विमसले सिनियर विशेषज्ञ डा. गुरुङ, डा. मल्ल लगायत सामेल गराएका थिए । यो ERCP एकै पटकमा सफल भएको थियो । त्यसको दुई दिन पछि थप कुनै समस्या छ कि भनेर पेटको एक्सरे र सिटिस्क्यान समेत गराइयो । त्यसमा सामान्य नै देखिएपछी दुई दिन पछि अब पित्त थैलिको सल्यक्रिया गर्ने समय मिति २०८१ साल फागुन १५ गतेलाइ निश्चित गरेर डिस्चार्ज भएको छु । हाललाइ अब औषधि खाँदै फागुन १५ सम्मलाइ कुर्नु पर्ने छ । आशा गरौँ अब फेरि समस्या नदोहोरिएला ।

अहिलेको जमानामा पित्त थैलिको अपरेसन वा त्यहाँ भएको पत्थरको कारण गरिने उपचार जम्मा जम्मी ७ दिनमा पूरा हुन्छ । तर यो सहि समयमा पहिचान गर्न नसकेको कारण आज सात महिना विति सक्यो तर अझै मेरो उपचार बाँकी नै छ । समय मै चेक जाँच गरेर रोगको पहिचान गर्न नसक्दाको परिणाम के कस्तो हुन्छ भन्ने गतिलो उदाहरण म स्वयम् आफैले भोग्नु पर्यो । अझै मैले फागुन १५ गते पित्तथैलिको सल्यक्रिया सम्पन्न गरेर पुर्णतः निको भए पछि मात्र उपचार प्रक्रिया पूरा हुनेछ । समयमै रोगको पहिचान गर्न नसक्दा समयको बरबादी, आर्थिक व्यय, परिवारमा हुने मानसिक तनाव सबै सबै कुराहरुमा बिकराल कष्ट – समस्या भोग्नु पर्यो । त्यसैले समय समयमा स्वास्थ परिक्षण अनिवार्य गर्नु पर्ने रहेछ ।

सम्झनै पर्ने मित्रहरु:-

जब म विरामी पर्न थालेँ संयोगले मेरो वालसखाको साथी मन्जुल कुमार लिम्बू एतै काठमाडौ वस्न थालेको ले उनलाइ सुरु देखि सहयोग मागेँ । बि एन्ड बि अस्पताल तीन पटक, सिभिल अस्पताल दुई पटक मेरिडियन प्लिक्लिनिक, मेट्रो अस्पताल, टिचिङ अस्पताल र धुलिखेल अस्पताल सवैतिर मन्जुल जिले साथ सहयोग गर्नु भो । सायद उहाँ को सहयोग पाउन नसकेको भए उपचारमा हुन सक्ने कठिनाइ को यहाँ अनुमान लाउन सकिने अवस्था समेत छैन।

त्यसै गरि नेकपा एमालेका युवा नेता तथा सफल युवा उद्यमी बाबुराम थापा सानै उमेरदेखी का राजनैतिक सहकर्मी साथी हुन् । उनी र मेरो सम्बन्ध विशेष छ । हामी भेट हुँदा समेत फरक ढंगको निकटता सहित सुख दुखका कुरा गर्छौँ । टिचिङ अस्पताल जाने बेलामा (उपचारमा हिड्न थालेको लामो समय भएकोले आर्थिक समस्या उत्तिकै थियो) उनलाइ म्यासेज मात्र गरेँ । साथी पैसाको जरुरत पर्यो म निकै विरामी परेँ । उनले एक शब्द केही नभनी भोलि पल्ट नै एक लाख रुपैयाँ मोवाइल वैंकिङ मार्फत पठाइ दिए । उनले यति काम नगरेको भए उपचारमा आर्थिक कठिनाइले थप बढी तनाव व्यहोर्नु पर्ने हुन्थ्यो । उहाँ प्रती म अत्यन्तै कृतज्ञ छु ।

यहाँ मैले विर्सन र भुल्नै नहुने मित्र/पात्र चाहिँ मेरो मित/मितिनी ज्युहरु ( डिल्लिराम तिम्सिना / कौशिला बुढाथोकी तिम्सिना) हुनुहुन्छ । उहाँ हरुले मेरो उपचारको सुरुआत देखि हाल सम्म गर्नु भएको सहयोगलाइ यहाँ कुनै शब्दले व्याख्या गर्न सकिन्न । उहाँ हरुको अतुलनीय, अमुल्य सहयोगको लेखा जोखा गर्ने कुनै शब्द म सँग छैन ।
हुन त विपदमा परेका आफन्तलाइ गर्ने सहयोग को शृङ्खला उहाँ हरुको लामो छ । मेरै कुरा गर्ने हो भने पनि यो प्रकारको सहयोग अत्यन्तै धेरै पटक भएको छ । श्रीमती जि को दुई तीन पटक को उपचार होस वा बाबुहरुको पढाइ आदि इत्यादिमा । आवश्यकता पर्दा अगाडि सरेर सहयोग गर्ने विचित्रको प्रचलन छ उहाँ हरुको । आफुलाइ विर्सेर अरुको सहयोग गर्नमै उहाँ हरुको ध्यान बढी जान्छ । अहिलेको युगमा यस्तो सोचका व्यक्ती पाउनै कठिन छ यो चरम स्वार्थी दुनिय्याँमा । तर सौभाग्यवस मैले त्यस्तो व्यक्तिको सन्निकट रहने अवसर प्राप्त गरेको छु । मीत ज्यु हाल धुमवाराहीबाट थप आधुनिक आवासीय घर निर्माण गरेर वालकोट भक्तपुर सर्ने तरखरमा हुनुहुन्छ । घर निर्माण को काम धमाधम भैरहेको छ । यति धेरै व्यस्तताको वावजुद उहाँ सिभिल अस्पताल, मेरिडियन, टिचिङ, मेट्रो, मेडिकेयर, धुलिखेल अस्पताल का सम्पुर्ण उपचार प्रक्रियामा साथै रहनु भो । सवारी साधन आफै लिएर उपचारमा दौडाउनु भो । त्यति मात्र हुन नसकेको भए उपचारमा हुन सक्ने विलम्ब, अस्पताल पुग्न ढिलाइको कारण पर्न सक्ने असर सायदै कल्पना गर्न सकिन्छ ।
मेडिकेयर अस्पताल रातको १२ बजे पुर्याउनु भो । एति बिघ्न चिसो थियो कि मितिनी ज्यु भोलि चिसोले विरामी नै पर्नु भो । मीत ज्यु रातभरि गाडिमै वसेर रात विताउनु भो । यसरी एति धेरै सहयोग प्राप्त गरेकोमा उहाँ हरु प्रती आभार व्यक्त गर्ने कुनै शब्द छैनन् म सँग । उहाँ हरु मेरो निम्ति इश्वरिय रुप प्रकट भए जस्तै लाग्छ । हुन त अंग्रेजिमा एउटा भनाइ छ ” A friend in need is a friend indeed ” परेको बेला सहयोग गर्ने साथी नै वास्तविक साथी हो । तर मेरो मामलामा यो एकोहोरो मात्र भएको छ । मैले वहाहरुलाइ सहयोग गर्न परेको छैन । मैले लिन मात्र परेको छ ।

डा. विमस लिम्बू लाई जति नै सम्झे पनि कमिनै हुनेछ । उहाँ माध्यमिक विद्यालय पढ्दा खेरी चिनेको साथी । लामो समय हाम्रो भेटघाट भएको थिएन । मेडिकल साइन्स पढ्दै गरेको सम्म थाहा थियो । विचमा २०७२ साल तिर एक पटक भेट भएको थियो । उ बेला नोबेल अस्पतालमा काम गर्छु भनेर फोन नम्बर सम्म मलाइ दिनु भएको थियो । अहिले संयोगवस धुलिखेल अस्पतालमा भेटिएको मात्र होइन उहाँ मार्फत अतुलनिय सहयोग पनि मिल्यो । जब टिचिङ अस्पताल बाट धुलिखेल अस्पताल को चर्चा सुरु भो त्यसै दिन विमस जि त्यहाँ हुनुभएको पत्ता लागेको थियो । डा. विमसको दाइ विक्रम लिम्बुले सम्पर्क समन्वय गर्न मद्दत गर्नु भएको थियो । त्यो दिन देखि नै डा. विमस जि लाई मैले टिचिङ को सबै रिपोर्टहरु पठाउन थालेको थिएँ । उहाँ ले पनि आफ्नो सुझावहरु दिइरहनु भएको थियो ।

त्यसैले टिचिङ बाट निस्के पछि सिधै विमस जि को सहयोगमा पुस २१ गते धुलिखेल अस्पतालमा शल्यक्रिया को मिति तय भएको थियो । जो पछि उपचार को तरिका, विधि र तालिका नै परिवर्तन गर्नु पर्यो । विमस जि को व्यस्तता मैले अस्पताल पुगे पछि स्पष्ट थाहा पाएँ । एस्तो व्यस्तताको विच मेरो उपचार को निम्ति एति धेरै समय प्रदान गर्नु भयो कि त्यसको निम्ति आसाध्यै बढी कृतज्ञता ज्ञापन गर्दछु । उहाँ सर्जन भएको कारण अवको शल्यक्रिया उहाँ कै नेतृत्वमा हुनेछ । तथापी त्यो अस्पतालमा भएका सिनियर विशेषज्ञहरुलाइ उहाँ ले सामेल गराउनु हुँदोरहेछ । ERCP गर्दा उहाँ ले त्यसै गर्नु भयो । उहाँ भेटिनु मेरो एत्रो कठिन कष्टकर दुखाइ भोगाइमा एउटा बडो मुल्यवान् संजिवनी बुटि प्राप्ति भए जस्तै भएको छ ।

एउटा फरक अनुभूति चाहिँ के भयो भने को आफन्त को पराइ चिन्ने मौका वा सुचक चाहिँ अब फरक ढंगले विकसित भएको रहेछ । तपाइँले को को निकट को को पराइ भन्ने चिन्न र बुझ्न धेरै कष्ट गर्नु पर्दैन केवल दुई महिना विरामी पर्नु भो भने दुधको दूध पानीको पानी छुट्टिन्छ नै । म त अझ ७/८ महिना विरामी परिसके । को आफन्त को पराइ छुट्टयाउने मौका राम्रै सँग मिल्यो ।
अन्तमा हामी सवैले समय समयमा नियमित रुपमा स्वास्थ परिक्षण गरेर समयमै रोगको निदान गर्नु चाहिँ जरुरी रहेछ । अन्यथा यसरी नै सामान्य रोगले पनि कति भयंकर रुप लिएर कुन हद सम्म दुख दिँदोरहेछ भन्ने चेतना भोगेर मात्र थाहा पाउने अवस्थाले धेरै नै दुख- पीडा पाउन सकिन्छ ।
अस्तु ।
लेखक तेश्रो जनआन्दोलन तयारी समितिका सदस्य सचिव हुनुहुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *