पर्यटकको रोजाइको गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

उज्यालो प्रतिनिधि २० मंसिर २०८१, बिहीबार समाचार
भोजपुर, पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा(छिन्तालुङ) पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले यहाँको विकासका लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रका रुपमा स्थापित भएको हो ।
सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य रहेकाले घुमघामसँगै शहरी जीवनशैलीको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरिएको छ । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो ।
अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने लक्ष्यका साथ विस्तृत परियोजना प्रतिवेदन(डीपिआर) तयार गरेर यहाँका विकास भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। यसले गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । “अरुण डाँडाको विकासका लागि आवश्यक काम भईरहेको छ”, अध्यक्ष राईले भने, “अरुण डाँडालाई बृहत्तर विकास गर्न करिव ८० रोपनी क्षेत्रमा यसको विस्तार गर्ने लक्ष्य छ, यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको श्रोतको रुपमा विकास  गर्ने हाम्रो लक्ष्य छ ।”
अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासका लागि सडक विस्तारसँगै पैदल मार्ग तथा विश्राम स्थल निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमश्रृङखलाको सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै पुजाआजा गर्नका लागि पर्यटकहरु आउने उनको भनाइ छ ।
“पर्यटकीय क्षेत्र अरुण डाँडाको धार्मिक पनि महत्व छ”, वडाध्यक्ष तामाङले भने, “यो स्थान घुम्न आउने मानिसहरुका लागि आनन्ददायक छ, मानिसहरु आफ्नो भाकल पुरा गर्नको लागि पुजा आजा तथा दर्शनको लागि पनि आउने गरेका छन् ।” अरुण डाँडाको विकासका लागि योजनाबद्ध रुपमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । यो ठाउँको थप प्रचार÷प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटनको विकासमा जोड दिइएको उहाँको भनाइ छ ।
“अरुण डाँडाको विकाससँगै यसको प्रचार÷प्रसारमा जुटेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “हामीले यहाँको आवश्यक विकासका लागि काम गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइरहेको छ, यसलाई देश विदेशमा चिनाउन विभिन्न समयमा मेला महोत्सव पनि सञ्चालन गरिरहेका छौँ ।” पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको समेत विस्तार भइरहेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।
मानिसहरु प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनका लागि पनि अरुण डाँडा क्षेत्रमा आउने गरेको स्थानीय लालबहादुर तामाङले बताए । सदरमुकामबाट नजिकको दुरीमा पर्ने भएको अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । त्यस्तै भोजपुर–लेगुवा मध्य पहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता रहेको उनको भनाइ छ ।
“गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेसँगै पर्यटकको सङ्ख्या बढेको छ”, उनले भने, “यो ठाउँमा बिदाको समयमा मानिस धेरै आउछन्, यो स्थान धेरै रोजाइको गन्तव्य बनेको छ ।” समुन्द्री सतहबाट दुई हजार ३०० मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा लिइने गरिन्छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार