संगिता पाख्रीन ।
मिति २०८१ साल असोज २२ गते साँझ तिर सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियोको दृष्य फेला पर्यो । यसो हेरेँ, पत्याउन कठिन लाग्यो । साँचो घटना हो वा अभिनय हो, सपना हो वा विपना हो मलाइ छुट्याउन कठिन भयो । घटना चाँही उदयपुर जिल्लाको भन्ने बुझियो, कतै सत्य घटना नै होला जस्तो लागेर चिनेजानेका साथीहरुलाई बुझ्ने काम भयो, घटना सत्य नै रहेछ ।
• घटना विवरण र घटनाले उब्जाएको प्रश्नहरु:-
स्थानिय साथीहरुले दिएको जानकारी अनुसार घटना उदयपुर जिल्लाको सदरमुककाम त्रीयुगा नगरपालिकाको वडा नम्बर -६ जलजले भन्ने ठाउँमा घटेको रहेछ । फेसबूकमा देखिएको भिडियो दृश्य अनुसार एक श्रीमानले श्रीमतीको टाउको गिँडेर टाउको एकहातमा बोकेर बाटोमा हिँडिरहेको देखिन्छ । स्थानियले उनलाई नियन्त्रणमा लिन र प्रहरीलाई खबर गर्न पछ्याइरहेको देखिन्छ । मेरो लागि यो दृष्य यती भयंकर हृदयविदारक थियो कि म राम्ररी निदाउन समेत सकिन । मन यती विचलित, वेचैन र तरङ्गित बन्यो कि मन भित्र हजारौँ प्रश्नहरु छछल्किरहे, तरङ्गित भइ रहे । म रातभरी घोत्लिरहेँ । मानिसहरु किन यती धेरै निर्दयी बन्न सकेका होलान ? मानविय संवेदना किन यती बिघ्न हराउँदै गएको होला ? मानिसहरु पशुभन्दा तल गिर्न कसरी सकेका होलान ? यति निकृष्ट हुन कसरी सकिन्छ? समाज कतातिर गइरहेको छ? सम्बन्धित सरोकारवालाहरु किन मौन छन्? बडो निरुत्तरित प्रश्नहरुको छालले असाध्यै बढी तरंगित बनाइरहेको छ । के हामी खास गरेर नेपाली समाजमा महिलाहरुको अवस्थामा सुधार आउन नसक्ने नै हो ? यसको जवाफ कहिले र कस्ले दिने ?
• महिला हिंसा बढ्दो क्रम र अनेक रुप:
जानकारी अनुसार ३६ वर्षिय जंगबहादुर तामाङले उनकी श्रीमती २९ वर्षिय प्रमिला तामाङको टाउको गिँडेर दाहिने हातमा बोकेर बाटोमा हिँड्दै गर्दा स्थानियहरुले देखेका थिए । त्यसपछी गरिएको भिडियोमा उनले श्रीमतीको टाउको गिँडेर दाहिने हातमा लिएर बाटोमा हिँड्दै गरेको देखिन्छ । मानौँकी सामान्य निजि घरपालुवा जनवारको टाउको काटेर बाटोमा हिँडे जसरी । कुनै विना संकोच, विना डर- त्रास, कुनै पश्चाताप र आत्मग्लानी । मानौ उनले सामन्य भन्दा सामान्य अनि जायज काम गरेका छन् । यो त एउटा प्रतिनिधि घटनामात्र हो । खास गरेर यहाँ महिलाहरु प्रती हुने विभेदको तौर तरिका, विधिहरु, रुपहरु अनेकन हिसाबले फेरिदैँ बढोत्तरी हुने क्रममा देखिन्छ ।
नेपालमा महिलाहरु प्रती हुने हिंसा दिनप्रती दिन बढ्दो छ । यो घट्नुको साटो यसको रुपहरु थप परिवर्तन हुँदै बढ्ने क्रम जारी छ । राज्य, सरकार र सम्बन्धित निकाय पुर्णरुपले निकम्मा र उदासिन देखिन्छ । यो एक्काइसौ शताब्दी उत्तर आधुनिक युगमा महिलाहरु प्रती हुने निकृष्ट विभेद र हिंसा महिलाहरु प्रती जघन्य मानविय अपराध त छँदैछ, यो एकदमै घृणित र लाजमर्दो अवस्था पनि हो । समाज र देशकै लागि सबै भन्दा ठूलो कलंक पनि हो । महिलाहरुलाइ यौन जन्य हिंसा, कुटपिट, मारकाट, दुर्व्यवहार, एसिड आक्रमण, मानसिक यातना र पीडा, सामाजिक सन्जालको दुरुपयोग मार्फत अनेक हिंसा आदि गर्ने गरिएको छ । परम्परागत हिसाबले महिलालाइ अधिकार विहिन दोश्रो दर्जाको रुपमा हेर्ने प्रचलनको अलावा नयाँ नयाँ हिंसाको रुपहरु थपिंदै महिला हिंसामा अत्यन्तै बढी बढोत्तरी हुँदै गएको अवस्था छ । महिलाहरुको पक्षमा वकालत गर्दा समेत अति महिलावादी भएको आरोप स्वयं अभियन्ताहरुले खेप्नु पर्ने अवस्था छ । यो पनि महिला हिंसाको अवस्थालाइ जनाउने एउटा सुचक हो । महिला र पुरुष हिंसाको अवस्थाको विश्लेषण गरेर तुलना गर्ने हो भने यसको अनुपात ९९/१ प्रतिशतको अनुपात होला । पुरुषहरु पनि यदाकदा हिंसामा नपर्ने होइन तर यसको अनुपात एक प्रतिशत भन्दा यस्तो भयानक भयावहको अवस्थामा हाम्रो देशका महिला वर्गहरु गुज्रीरहनु परेको अवस्था । यो भन्दा दुखद अवस्था के हुन्छ र ?
• उदासिन सरकार, सरोकारवालाहरु:-
माथी नै उल्लेख गरिसकियो कि घटना घटाउने व्यक्ति जंगवहादुर तामाङले त आफुले ठुलै र राम्रै काम गरे जस्तो गरेर विना संकोच हिँडेको देखिन्छ नै तर बडो सोचनिय र विडम्वनायुक्त कुरा के देखिन्छ भने सरकारले यस्तो भयंकर घटनालाइ सामान्य रुपमा लिएको देखिन्छ । चाहिँदो नचाहिँदो विषयमा ठुलठुला वहस चलाउने सामाजिक सन्जाल प्रयोगकर्ताहरु र सानो विषयमा ठुलै विभाजनको रेखा कोर्ने नेपाली सामाजिक सन्जालको प्रयोगकर्ताहरुको मौनतालाइ हेर्दा बडो उदेकलाग्दो अवस्था सिर्जना भएको छ । सामाजिक सञ्जालमा कहिँ कतै वहसको विषय बनाइएन । यसबाट के थाहा हुन्छ भने सरकार त निकम्मा नै भयो तर नागरिक समाज समेत यत्रो विभत्स घटनालाइ सामान्य र नियमित घटना जस्तै ग्रहण गर्ने र पचाउन सक्ने अवस्थामा पुगिसकेको रहेछ । यो भन्दा विडम्वनाको कुरा के हुन्छ ? कुनै सामाजिक संस्थाहरु, मानवअधिकारवादी संस्था र मानव अधिकारकर्मिहरु, महिला अधिकारकर्मिहरु, राजनितिक दलहरु, राजनैतिक दलका महिला संघ-संगठनहरु, स्वतन्त्र नागरिक समाजहरु सबका सब तैं चुप मै चुप को अवस्थामा देखिए । यो भन्दा बढी आसश्चार्यजनक कुरा के हुन सक्छ? के नेपाली समाज, नेपाली सरकार यती बिघ्न निकृष्ट, निर्दयी र संवेदनाहिन बन्दै गएको हो ?
• न्युनिकरणको उपायहरु:-
महिला हिंसाको यस्तो विकराल अवस्थामा गुज्रनु वर्तमान विश्व परिवेशको सबै भन्दा लाजमर्दो, घृणा र भर्त्सना योग्य अवस्था हो । यसलाइ न्युनिकरण गर्न जरुरी छ । यसको निम्ति तपशिलका केही उपायहरु अवलम्वन गरिनु पर्दछ ।
– सवै भन्दा पहिला त चेतनाको विकास गर्नै पर्दछ । सवै जनसमुदायमा महिला हिंसा मानव समुदायको सवैभन्दा घृणित र जघन्य अपराधी कुकर्म हो भन्ने चेतना फैलाउनु पर्दछ र महिला हिंसा सम्बन्धी घटनाहरुलाइ शुन्यसहनशिलता अवस्था सिर्जना गराउनु पर्दछ ।
– महिला हिंसा गर्नेलाई मौजुदा कानुनी कारवाहिले मात्र पुग्दैन । त्यसको लागि हिंसाको प्रकृति अनुसार थप कडा सँजायको कानुनी व्यवस्था गरिनु पर्दछ ।
– महिला हिंसाको सँजायको सवालमा माफियातन्त्रको अन्त्य गरिनु पर्दछ ।
यी उपायहरु अवलम्वन गर्दै महिला हिंसाको घटनाहरुको न्युनिकरण गर्दै समनता र न्याय सहितको नेपाली समाज, शान्ती, समृद्ध र समुन्नत समाजको निर्माण गरेर मात्र सुखी र खुशी नेपाली समाज निर्माण गर्न सकिन्छ ।
( लेखक नेकपा एकीकृत समाजवादिको केन्द्रीय सदस्य हुनुहुन्छ )