शिवु खनाल, देउखुरी । पहिलेपहिले गाउँ घर होस् या सहरबजार दसैंको बेला युवाहरुमा बाबियो कहिले काट्ने, पिङ कहिले हाल्ने भन्ने सल्लाह हुने गर्दथ्यो । एकहुल केटा क्लबमा होस् या चौरमा बसेर को–को बाबियो काट्न जाने कसकसले पिङ बाट्नमा सहयोग गर्ने भन्ने सल्लाह हुने गरेको पाइन्थ्यो । त्यति मात्र होइन । दसैंको सुरुवात भएसँगै घर–घर, टोलटोलमा चङ्गा उडाउने र पिङ खेल्ने प्रतियोगिता नै हुने गरेको पाइन्थ्यो । तर पछिल्लो समयमा यसको रौनक घट्दै गएको पाइन्छ । दसैंको बेला यदाकदा पिङ लगाएको देखे पनि पहिलाको जस्तो पिङ खेल्नलाई न पालो कुर्नु पर्छ न पिङ खेल्ने ठाउँमा पिङ खेल्नका लागि मान्छेको भीड नै लाग्छ । कुनै समयमा पिङ बनाउनका लागि खुला ठाउँ, चौर, चोकमा युवाहरु जम्मा हुन्थे बुढापाकाले बाबियाको डोरी बाटेर पिङका लागि तयारी गरिदिन्थे र युवाहरुले लिङ्गे पिङ लगाउन बाँसहरु भेला बनाएर बिहानदेखि लागी पर्थे तर अहिले गाउँ घरमा कामका लागि विदेश जाने बाध्यताले गर्दा युवा पाउन मुस्किल भएको छ । लमही नगरपालिका वडा नम्बर ५ गोरक्षटोल निवासी सुस्मा नेपालीले दसैंको बेला अहिले गाउँमा रौनक घट्दै गएको बताउँछन । सबै साथीहरु कोही विदेश लगायत अनेत्र गएका कारण गाउँघरमा आफूसरहका साथीभाइ नभएकोमा दुःखेसो पोख्छन् ।
पहिला दसैं कतिखेर आउँछ र घर कतिखेर जाउ जस्तो हुन्थ्यो । गाउँमा गएर साथीहरु भेला भएर लिङ्गे पिङ हालिन्थ्यो । तर अहिले गाउँमा युवाहरु छैनन् । भएका पनि इन्टरनेटमा झुम्मिने मात्र गर्न थालेका छन् । त्यसैले दसैंको रौनक पूर्वतिर मात्र नभएर पश्चिमतिर होस् वा जतातजै अलि घटेको उनले बताए । अरु समयमा भन्दा पनि दसैंका बेला लिङ्गे पिङ हाल्ने र त्यो पिङ तिहारपछिसम्म खेल्ने चलन थियो, अहिले भने कहीँ कतै मात्र देख्न पाइन्छ । पिङ खेल्ने भनेको विशेषतः दसैंको समयमा हो । अरुबेला भन्दा पनि दसैंमा टीकाको दिन भुइँ छोड्नका लागि एकपटक पिङ खेल्नै पर्छ भन्ने मान्यता रहेको छ । दसैंको अवसरमा लिङ्गे पिङ खेल्ने संस्कृति नेपालमा मात्र पाइन्छ । धेरै जसोले भन्ने गरेका छन् पिङ रमाइलोका लागि खेल्ने हो तर शास्त्रमा भने दसैंमा पिङ खेल्नैपर्छ भन्ने कुरा उल्लेख भएको पाइँदैन । अहिले पिङ खेल्ने भनेको केवल रमाइलोका लागि मात्र हो भन्ने मान्यता गर्न थालिएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायि वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीनपार्कमा लिङ्गे पिङ लगाउने गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरिक्षक इश्वरी पुन मगरको कमाण्ड खटिएको २० जनाको टोली लिङ्गे पिङ लगाइएको हो ।
पहिला–पहिला यो ठाउँमा पिङ खेल्नका लागि मान्छेहरु लाइन लागेर भेला हुने गर्थे । पछिल्लो समयमा फाट्टफुट्ट मात्र पिङ खेल्नका लागि भेला हुने गरेका छन् । टीकाको दिन केही मान्छे भुँइ छोड्नुपर्छ भन्ने मान्यताले गर्दा पिङ खेल्न आउँछन् । स्थानीय सुस्मा नेपालीले भन्नुभयो,–। ‘अरु बेला त मान्छे खासै हुँदैनन् । हिजो आज त पिङ बनाउन पनि अल्छी गर्न थालेका छन् । के गर्ने खेल्ने मान्छे भए पो सबैलाई जाँगर चल्छ ।’
पिङको इतिहास
पिङको सुरुवात कहिलेबाट भयो भन्ने यकिन तथ्यांक छैन । नेपालमा खेलिने रोटे पिङको सुरुवात नेपालबाटै भएको हो भन्ने भनाइ छ । नेपालमा पहिलाका मान्छेहरुले पिङका रुपमा काठमा खोपेर र काठका टुक्रालाई जोडेर दुई खम्बामा ठड्याउने गरेका थिए । रोटेसनमा घुम्ने भएकाले यो पिङलाई रोटे पिङ भन्ने गरिएको छ । पहिले–पहिले काठका रोटेपिङ हुन्थे भने अहिले आधुनिक र ठूलो रोटे पिङ बनाएर मेला पर्वमा शुल्क लिएर खेल्ने गरेका छन् । जुन पिङ शहरबजारमा राखिन्छ । त्यो रोटेपिङ खेल्नका लागि भने मानिसको भीड नै लाग्ने गर्छ । तर काठबाट बनाइएको रोटेपिङ भने लोप हुने अवस्थामा पुगेको देखिन्छ । पिङलाई नेपालमा भन्दा भारतमा केही फरक तरिकाले हेरिने गरिएको छ । पौराणिक काल खण्डमा कृष्ण रोएको अवस्थामा उनलाई भुलाउनका लागि पिङ जस्तो बनाएर हल्लाइएको थियो । यसरी हल्लाएपछि उनी चुपचाप लागे र यसैको विकसित रूप नै पिङ हो भन्ने बुझाइ छ । यो परिमार्जन हुँदै लिंगे पिङ, रोटे पिङको अवस्थामा आइपुगेको हो । दसैंमा पिङ मात्र होइन, पिङसँगसँगै चङ्गा उडाउने परम्परा रहेको छ । संस्कृतिकै रूपमा विकसित भइसकेको चङ्गा उडाउने चलन बिस्तारै–बिस्तारै ओझेलमा पर्दै गएको देखिन्छ । चङ्गा उडाउने चलन नेवारी संस्कृति हो कि भन्ने गरिएको छ । तर पछिल्लो समयमा सबैले चङ्गा उडाउने गरेका छन् । रमाइलोका लागि चङ्गा उडाउने गरेको भए पनि यो एउटा संस्कृति नै बनिसकेको छ । नेवारी संस्कृतिसँग किन जोडियो भने पहिला–पहिला नेवारी बस्ती बढी भएको स्थानमा चङ्गा बढी उडाइन्थ्यो । पछि रमाइलो हुने हुँदा सबैले चङ्गा उडाउन थालेको भन्ने गरिएको देखिन्छ ।